लुम्बिनी प्रदेश : सरकार बनाउन नयाँ दल र स्वतन्त्र निर्णायक

कसैको आएन बहुमत

लुम्बिनी । निर्वाचनको परिणाम आएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको कसरत सुरु भएको छ । लुम्बिनी प्रदेशसमा यसपटक कुनै पनि दलल बहुमत पाउन सकेनन् । कुनै दलले बहुमत ल्याउन नसकेपछि मिलीजुली सरकार बनाउन राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीबाट ५२ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ३५ जना निर्वाचित हुने प्रावधान छ । लुम्बिनी प्रदेशमा सरकार बनाउनका लागि ४४ जना सांसद आवश्यक पर्छ ।

तर, यसपटकको निर्वाचनमा दुबै गठबन्धनले बहुमत पु¥याउन सक्ने अवस्था दखिँदैन । यो प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । समानुपातिकमा पनि एमालेले सबैभन्दा बढी मत पाएको छ ।

यसैगरी प्रत्यक्षतर्फ सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले १७ सिटमा जित हासिल गरेको छ । सत्ता गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले पाँच सिट जितेको छ भने लोकतान्तित्र समाजवादी पार्टी (लोसपा) ले दुई सिटमा जित हासिल गरेको छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरूको सिट संख्या जोड्दा २४ मात्र पुग्छ । यो प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि दुई÷दुई सिट जितेका छन् । प्रत्यक्षतर्फ एमाले, जसपा र राप्रपाको सिट संख्या २२ पुग्छ ।
यसैगरी निर्वाचनअघि मात्र स्थापना भएको दल नागरिक उन्मुक्ति पार्टीले दुई र डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक स्थानमा जित हासिल गरेका छन् । सिट सिटमा भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

रोल्पा १ (ख) बाट स्वतन्त्र उम्मेद्वार दीपेन्द्र पुन, रुकुमपूर्व १ (क) बाट स्वतन्त्र उम्मेद्वार सरुल पुन र नवलपरासी २ (ख) बाट स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका हुन् । तीनै जना स्वतन्त्र माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेर विजयी भएका हुन् ।

रुपन्देही ५ (ख) बाट जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । समानुपातिकतर्फको अन्तिम नतिजा भने अझै आइसकेको छैन । तर, समानुपातिकको नतिजापछि पनि दुबै गठबन्धनको वहुमत पुग्न सक्ने अवस्था भने देखिएको छैन ।

समानुपातितर्फ हालसम्म एमालेले ५ लाख ७० हजार ९ सय २१ मत पाएको छ । कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६ मत ल्याएको छ । माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४ सय ५२ मत पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत ल्याएको छ ।

यसैगरी जनमत पार्टीले ८१ हजार ६ सय ५ र जनता समाजवादी पार्टीले ६० हजार ८ सय ८६ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीले ४२ हजार ६ सय २१ र लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६ सय ३१ मत ल्याएका छन् ।

त्यसैले पनि लुम्बिनी प्रदेशमा यसपटक सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वार निर्णायक बन्ने देखिन्छ । यद्यपि, दुबै गठबन्धनमा आबद्ध दलहरू सरकार गठनका लागि आन्तरिक तयारीमा जुटिसकेका छन् ।

खासगरी सबैभन्दा ठुलो दल एमाले र दोस्रो ठुलो दल कांग्रेसका नेताहरूले सरकार गठनका लागि सक्रियता बढाएका छन् । यसअघि ०७४ सालको निर्वाचनमा प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको थियो । यसपटक भने प्रदेशसभामा आठ दलले प्रवेश पाएका छन् ।

यसपटक प्रदेशसभामा प्रत्यक्षबाट राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार विजयी भएका छैनन् । यसअघि प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको पनि उपस्थिति रहेको थियो । ०७४ सालको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ २७ सिट जितेको थियो । त्यसको तुलनामा यसपटक एमालेलाई घाटा लागेको छ ।

कांग्रेसले भने ०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ सात सिट मात्र जितेको थियो । यसपटक भने गठबन्धनको सहयोगमा कांग्रेसलाई निकै ठूलो फाइदा पुगेको छ । ०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ १४ सिट जितेको माओवादीले भने यसपटक घाटा बेहोरेको छ ।

निर्वाचनपछि लुम्बिनीमा एमाले र माओवादीले सरकार बनाएका थिए । तत्कालीन नेकपा विभाजनपछि भने माओवादी केन्द्रको नेतृत्वमा एक स्वतन्त्र सांसदसमेतको समर्थनमा पाँच दलीय सरकार बनेको थियो ।

प्रतिक्रिया