सत्ता गठबन्धन सुविधाजनक बहुमततर्फ

सुदूरपश्चिम प्रदेश : को बन्ला मुख्यमन्त्री ?

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि सत्तारूढ गठबन्धन दलले सुविधाजनक बहुमत पाउने देखिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धन दलहरूले प्रदेशसभाको प्रत्यक्षतर्फ २१ सिट जितेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी कुल ५३ सदस्यीय रहेको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सिटको आवश्यकता पर्छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले भने प्रत्यक्षतर्फ नै २१ सिट जितिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको नतिजा आइसक्दा सत्ता गठबन्धन दलहरूले २१ सिट जितेका हुन् । सत्ता गठबन्धन दल नेपाली कांग्रेसले ११, नेकपा माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई सिट जितेका छन् ।

बाजुराका दुई क्षेत्रको नतिजा भने सार्वजनिक हुन बाँकी छ । समानुपातिकतर्फ २१ सिट रहेकोमा त्यसको नतिजा पनि आउन बाँकी छ । बाजुराका दुबै सिट गुमाए भने पनि सत्ता गठबन्धनलाई बहुमत पु¥याउन कुनै समस्या नहुने देखिन्छ ।

समानुपातिकतर्फ पनि सत्ता गठबन्धन दलहरू नै अगाडि छन् । त्यसैले पनि सरकार गठनका लागि सुविधाजनक बहुमत पुग्ने निश्चित छ । केन्द्रको समीकरणमा उत्तारचढाव नआए सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित देखिन्छ ।

सरकार गठनका लागि गठबन्धन बाहिरका दलहरूको बहुमत नपुग्ने देखिन्छ । हालसम्म सार्वजनिक नतिजाअनुसार, प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीले पाँच, नेकपा एमालेले तीन गरी कुल आठ सिट मात्रै जितेका छन् । उनीहरूलाई बहुमत पु¥याउन थप १९ सिट आवश्यक पर्ने हुन्छ । तर, समानुपातिकका २१ सिटमध्ये १९ सिट पाउने सम्भावना छैन । एक सिट भने स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।

सत्ता गठबन्धनको भागबण्डामा सुदूरपश्चिमको प्रदेश सरकार कसको भाग पर्छ र कसले नेतृत्व लिन्छ भन्नेमा यतिखेर सबैको चासो बढ्दै गएको छ । प्रदेश सरकारको नेतृत्व ठूलो दलको हिसाबले कांग्रेसले पाउनुपर्ने भए पनि केन्द्रको भागबण्डाअनुसार नै सरकार गठन हुने धारणा कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले व्यक्त गरे ।

कांग्रेसभित्र पनि मुख्यमन्त्रीका आकांक्षी धेरै छन् । कांग्रेसबाट बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह र मेघराज खड्का मुख्यमन्त्रीका आकांक्षी हुन् । मुख्यमन्त्रीमा प्रकाशबहादुर देउवाको चर्चा पनि चलिरहेको छ ।

‘नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीका आकांक्षी चार÷पाँच जना छन् । कांग्रेसले सरकारको नेतृत्व पाएमा कसले नेतृत्व गर्ने भन्ने कुरा पार्टी केन्द्रले निर्णय गर्छ । अहिले नै यो वा त्यो भनेर किटान गर्न सकिँदैन,’ वड भन्छन् । कांग्रेसका थापा, बिष्ट, शाह, खड्का र देउवा क्रमशः कञ्चनपुर–२ (ख), कञ्चनपुर–१ (ख), कैलाली–२ (क), अछाम–१ –क) र कैलाली–५ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका दावेदार रहेका प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा भने यसपटक निर्वाचनमा पराजित भएका छन् । रावल कैलाली–१ (ख) र बोहरा डडेल्धुरा (ख) बाट पराजित भएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट डडेल्धुराबाट निर्वाचित खगराज भट्ट पनि मुख्यमन्त्रीको दाबेदार रहेका छन् । माओवादीभित्र भट्टबाहेक अरू नेताहरू भने मुख्यमन्त्रीका आकांक्षी देखिएका छैनन् । मुख्यमन्त्री बनाउने भनेर नै भट्टले डडेल्धुराको प्रतिनिधिसभामा शेरबहादुर देउवालाई छाडेर प्रदेशसभा सदस्यमा चुनाव लडेको चर्चा पनि नचलेको होइन् ।

भट्ट डडेल्धरा (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । भट्टले निर्वाचनका क्रममा पनि आफु मुख्यमन्त्रीको दावेदार रहेको बताउँदै आएका थिए । तर, मुख्यमन्त्री माओवादीको भागमा परेमा पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयको निर्णय पार्टीले गर्ने माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए ।

नेकपा एकीकृत समाजवादीबाट भने प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका दीर्घबहादुर सोडारी पनि मुख्यमन्त्रीका आकांक्षा रहेका छन्् । मन्त्री सोडारीले भने सत्ता गठबन्धनको भागबण्डामा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले पाए आफू स्वभाविक मुख्यमन्त्रीको दाबेदार रहेको बताए । सोडारी कैलाली–४ (क) बाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका हुन् । सबैले आ–आफ्नै दाबी गरे पनि सरकार कसको नेतृत्वमा बन्छ र मुख्यमन्त्री को बन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया