धनगढीमा ग्रेडरले कुल्चिएर विद्यालय हिँडेकी बालिकाको मृत्यु

धनगढी । कैलालीको धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले ठक्कर दिँदा धनगढी–५ तारानगर बस्ने १४ वर्षीया चेतना साँउदको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका– ५ हसनपुर पिपल चौतरा नजिक सडक पानी पिच गरिरहेको कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा अध्ययनरत साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

साइकलमा विद्यालय जाँदै गरेकी साउँदलाई ग्रेडरले लेवल मिलाउँदै व्याक गर्ने क्रममा कुल्चिएको प्रहरीले जनाएको छ । ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ बस्ने २७ वर्षीय विमल कुमाल र ग्रेडर प्रहरी नियन्त्रणमा रहेका छन् भने विद्यार्थीको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

घटनाको निष्पक्ष छानविन र दोषीलाई कडा कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले घटनास्थल नजिकै सडकमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया