इलाम । माङसेबुङ गाउँपालिका–५ वडा कार्यालयले ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिकोत्सव मनाएको छ । वडा कार्यालयले स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरेको चौथो वर्ष पूरा भएको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । जनप्रतिनिधि, कर्मचारी, किरात धर्म सम्बद्ध संघसंस्था, सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा शुभकामना आदानप्रदान, सम्मान र घरघरमा दीप प्रज्वलन गरी वार्षिकोत्सव मनाएका हुन् ।
वार्षिकोत्सवको अवसरमा भाषाविद् हरिचन्द्र लावतीलाई सम्मान गरको छ । त्यसैगरी स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा वडावासीहरू आआफ्नो घरमा दीप प्रज्वलन गरेका छन् । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो । वडाअध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षता र गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, धर्मिक एवं सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
नेपालो इतिहासमा पहिलोपटक स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी लागू गरिएको स्मरणमा बर्सेनि वार्षिकोत्सव मनाउन थालिएको वडाध्यक्ष नरेन्द्र राईले बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दीपावली गरी वार्षिकोत्सव मनाउने उनले बताए । कार्यक्रममा धर्मगुरु आत्मानन्द लिङदेनले धार्मिक प्रवचनसमेत दिएका थिए । इलामको माङसेबुङ गाउँपालिका–५ मा १३ मंसिर ०७५ मा स्थानीय भाषाका रुपमा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरिएको थियो । ‘लिम्बू भाषा’ लाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको छ ।
यसवर्ष सिंगो गाउँपालिकामा नै ‘लिम्बू भाषा’ कामकाजी लागू गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै ‘लिम्बू भाषा’ लाई गाउँपालिकाको कामकाजी बनाउने समावेश गरेको छ । त्यसका लागि प्राविधिक पक्षको काम भइरहेको गाउँपालिका अध्यक्ष हेमन्तर राईले बताए ।
इलाम
प्रतिक्रिया