पाँचथर । जिल्लामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय अगाडि हिंसा विरुद्धको हस्ताक्षर कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रत्येक वर्ष गर्दै आइरहेको अभियानमा यस वर्ष ‘सभ्य समाजको पहिचान लैंगिक हिंसाविरुद्ध अभियान’ नारा रहेको छ । उक्त अभियानलाई सफल बनाउन जिल्ला प्रशासन, प्रहरी, फिदिम नगरपालिकाले संयुक्त हस्ताक्षर कार्यक्रम सञ्चालन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अगाडि टाँसिएको ब्यानरमा फिदिम नगरपालिका न्यायिक समितिका उजुरी प्रशासक सरस्वती सिवाकोटी लगायत सर्वसाधारणले हस्ताक्षर गरेका छन् ।
ब्यानरमा संयुक्त रुपमा उक्त निकायले अभियानको सन्दर्भमा ‘म हिंसा गर्दिन, म हिंसा सहँदिन र हिंसा गरेको देखे प्रतिकार गर्नेछु भन्ने प्रतिबद्धता गर्दछु’ उल्लेख गरिएको छ ।
उक्त ब्यानरमा ‘मौनता तोडौँ, महिलामाथि हुने हिंसाविरुद्ध उजुरी गरौँ, लैंगिक हिंसा जघन्य अपराध हो, हिंसा गर्न पाइँदैन, हिंसा आत्माघाती, समाजघाती र राष्ट्रघाती हो, हिंसाको प्रतिकार गर्नुपर्छ, हिंसा सहन्न, हिंसा गर्दिन प्रतिबद्धता गर्दछु’ भनिएको छ ।
हिंसा न्यूनीकरणका लागि पालिकास्थित प्रहरीले स्कुलहरुमा सचेतना अभियान सञ्चालन गरिरहेको छ । अभियान निरन्तर चल्दै जाने डिएसपी हरि खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया