मतगणनालाई निरन्तरता दिन निर्देशन

काठमाडौं । उदयपुर क्षेत्र नम्बर–१ मा रोकिएको मतगणना कार्यलाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले सोमबार उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

आयोगका उपसचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, ‘सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’

एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिने निर्णय गरेको पनि आयोगले जनाएको छ । प्रतिनिधिसभाको मतगणनाका क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो ।

नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए । उदयपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा एमालेको तर्फबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।

मतगणना रोकिनु अगाडिसम्म खड्काले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार डा. खडकाले २५ हजार ९ सय १७ मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीले भने २४ हजार १ सय ९ मत पाएकी छन् ।

यसैगरी आयोगले सुनसरी क्षेत्र नम्बर ४ मा स्थगित मत गणना सुरु गर्न पनि निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः सुरुदेखि मत गणना गर्न आयोगसमक्ष निवेदन दिएकोमा आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मत गणनालाई निरन्तरता दिन निर्देशन दिएको हो ।

आइतबारदेखि उक्त निर्वाचन क्षेत्रको मत गणना रोकिएको छ । बराह क्षेत्र ८ को मत गणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मत गणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए । बराह क्षेत्र नगरपालिकाका–१० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७ तथा कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।
यसैबीच, आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगले सोमबार दोलखाका निष्पक्ष निर्वाचन हुन नसकेका १० वटा निर्वाचन केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० मतदान केन्द्रमा मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेकाले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय छ ।
वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको आयोगले जनाएको छ ।
उल्लिखित केन्द्रहरूको मतदानमा निर्वाचन आयोग ऐन–२०७३ को दफा १० को उपदफा (१), प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन—२०७४ को दफा ४६ को उपदफा (१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ४६ को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा पुनः निर्वाचन गराउने निर्णय भएको पनि आयोगले जनाएको छ । ती केन्द्रको यसअघिको मतदानलाई रद्द गर्दै पुनः मतदान मिति घोषणा गरिएको हो ।

यसैगरी दोलखाकै वैतेश्वर गाउँपालिका–३ कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पनि पुनः मतदान गर्ने आयोगले निर्णय गरेको छ । एक सय मतपत्रको अर्धकट्टी हराएकाले त्यहाँ पुनः मतदान गर्नुपर्ने निर्णय भएको आयोगले जनाएको छ । ती निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने निर्णय पनि आयोगले गरेको छ ।

यसैबीच, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेद्वारहरूलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका—२०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो ।

विवरण पेस गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्नेछ ।

निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेद्वारले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ । विवरण पेस गर्दा दलले हेलिकोप्टर प्रयोग गरेको भए सोसमेत उल्लेख गरी पेस गर्नुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलहरूले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका—२०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया