मण्डलामा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । ‘सामाजिक रूपान्तरणको लागि रंगमञ्चः विविधताको उत्सव’ नाराका साथ नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा भएको उक्त महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमखु बालेन्द्र शाह (बालेन), भारतीय प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी लगायतले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको कला–संस्कृति प्रवद्र्धन र विकासका लागि नाट्य महोत्सवको विशिष्ट भूमिका हुने धारणा व्यक्त गरे । उनले भने, ‘कला र संस्कृतिको आदानप्रदानको रूपमा महोत्सवहरू हुन जरुरी छ ।’ उनले नेपाल सरकार तथा संस्कृति मन्त्रालय यस्ता कार्यलाई सघाउन र प्रोत्साहन गर्न तयार रहेको बताए ।

अभिनेत्री आजमीले नेपालको थिएटर महोत्सवमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताइन् । उनले नेपाली नाटकले फरक पहिचान बोकेको भन्दै प्रशंसासमेत गरिन् ।
उनले भनिन्, ‘नेपालमा कलाकारहरू मिलेर आफै नाटक घर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ । यो निकै सरहानीय कार्य हो । यसलाई निरन्तरता दिनुहोला ।’
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले महानगरले आगामी वार्षिक बजेटमै नाट्य तथा चलचित्र महोत्सवका लागि उल्लेख प्रयत्न गर्ने बताए । उनले महानगरको समृद्धिका लागि कलाका प्रशस्तै गतिविधि हुनुपर्नेमा जोड दिए । शाहले बजेट भए खुलेर महोत्सव गर्न सकिने र त्यसको प्रभावकारी पनि बढी हुने जिकिर गरे ।

मण्डलामा भएको महोत्सवमा काठमाडौं महानगरका प्रमुख साहले कलामाथि सक्दो लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘म पनि भर्खर बुझ्दैछु । कलाको काम महानगरमा सामाजिक शाखाले हेर्नेरहेछ । कलालाई प्राथमिकता दिनुपर्छ । यसकारण मैले कलाको छुट्टै शाखा बनाउनुपर्ने रै’छ भन्ने कुरा अनुभूत गरेको छु ।’ उनले महोत्सवका लागि महानगरले थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको सुनाए ।

महोत्सवका निर्देशक रंगकर्मी सिर्जना सुब्बाले महोत्सवलाई सबै मिलेर उल्लासमय रूपमा मनाउन आह्वान गरिन् । उनले भनिन्, ‘कोभिडले थला परेको रंगमञ्चलाई उठाउँदै महोत्सवसम्म आइपुगेर स्वागत गर्न पाउँदा हामी खुसी छौँ ।’

सो अवसरमा मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकको संग्रह ‘इन्द्रधनुषः यस छिमलका नाटकहरू’ विमोचन गरिएको थियो । उद्घाटन समारोहपछि नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ मञ्चन गरिएको थियो । यस्तै, महोत्सवको पहिलो दिन अनिल सुब्बाले निर्देशन गरेको नेपाली नाटक ‘बुद्ध र भिकारी’ पनि मञ्चन भएको छ । पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ र साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा सलिल सुवेदी र नवरा गुरुङको सांगीतिक कार्यक्रम गरिएको थियो । ९ दिनसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक मञ्चन हुने छन् ।

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तक्र्रिया–विमर्शका कार्यक्रम रहेका छन् । महोत्सवमा विश्वभरिबाट २०० भन्दा बढी नाट्य कलाकार महोत्सवमा सहभागी भएका छन् ।

प्रतिक्रिया