रुकुम पूर्व अस्पतालमा शल्यक्रिया सेवा सुरु

रुकुम पूर्व । रुकुम पुर्व अस्पताल रुकुमकोटमा अप्रेशन सेवा सुरु भएको छ । अप्रेसनका लागि आवश्यक पर्ने मेसिन तथा अन्य उपकरण जडान गरि अप्रेसन (शल्यक्रिया) सेवा सुचारु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सपना सुनारले जानकारी दिइन् ।

शनिबार अस्पतालमा पहिलोपटक एक गर्भवती महिलाको सफल अप्रेशन गरिएको छ । जिल्लाको भूमे गाउँपालिका ८ की सन्तु बुढाको सफल अप्रेशन गरिएको सुनारले बताइन् । डाक्टर नारायण बरालको टिमले अस्पतालमा पहिलो अप्रेशन सफल बनाएको हो ।

सुस्केरी हुने समय नाघेको र सामान्य रुपमा सुत्केरी हुन नसकेपछि अप्रेशन गर्नु परेको डाक्टर बरालले जानकारी दिए । औषधिले पनि काम गरेन त्यसपछि अप्रेशन गरेका हौ उनले भन्ने अहिले आमा र बच्चाको अवस्था सामान्य छ ।

अप्रेसन सेवाका लागि बृहत आकस्मिक आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गत निक सिमोन्ड इन्सिच्युटले जनशक्ति उपलब्ध गराएको छ । इन्सिच्युटले तीन जना डाक्टर र एक जना नर्स अस्पतालमा उपलब्ध गराएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुनारले सुनाइन् ।

रुकुम पूर्व छुट्टै जिल्ला घोषणा भएको पाँच वर्ष पछी जिल्लामै अप्रेसन सेवा सुरु भएको हो । २०७४ पुस ७ मा स्वास्थ्य चौकी रुकुमकोटलाई जिल्ला अस्पताल घोषणा गरिएको थियो । २०७६ मङ्सिरमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री संकर पोखरेलले अस्पतालको उदघाटन गरेका थिए ।

स्वास्थ्यचौकीलाई जिल्ला अस्पतालमा रुपान्तरण गरे पनि आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा अस्पतालले गतिलो सेवा दिन सकेको छैन ।

अस्पतालबाट हुने सेवा प्रवाहलाई स्तरीय बनाउन अप्रेसन भवन निर्माण गरिएको छ । सांसद विकास कोष र सिस्ने गाउँपालिकाको सहयोगमा २०७८ असारमा अप्रेसन भवन निर्माण गरिएको छ ।

गाउँपालिकाको ३५ लाख र तत्कालिन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद विकास कोषको १४ लाखमा उक्त भवन निर्माण गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । रेग्मीका अनुसार ४९ लाखमा दुई तलाको अप्रेसन भवन निर्माण गरिएको छ ।

भौगोलिक विकटतासँगै पर्याप्त स्वास्थ्य सुविधा नहुँदा अप्ठ्यारो अवस्थामा रहेका गर्भवती महिलालाई बाहिर रिफर गर्ने गरिएको थियो । जिल्ला अस्पतालमै गर्भवती महिलाको अप्रशेन सेवा सुरु हुँदा जिल्लावासी खुसी भएका छन ।

अप्रेसन सेवालाई निरन्तर र विश्वसनीय बनाउन गाउँपालिकाले सहयोग र पहल गरिरहने गाउँपालिका अध्यक्ष रेग्मीले बताए । जिल्लामै अप्रेसन सेवा सुरु भएसंगै जिल्लाका नागरिकलाई ठुलो राहत हुने विश्वास गरिएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया