कैलाली– १ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ भारी मतान्तरले विजयी भएकी छन् ।

श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका छन् । सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा रेशमलाल चौधरी भारी मतान्तरले निर्वाचित भएका थिए । त्यसैगरी प्रदेशसभाका दुवै क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा (क) मा नागरिक उन्मुक्तिका कैलाश चौधरी विजयी भएका छन् । चौधरी निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज विनाडीलाई ४ हजार ७२४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नागरिक उन्मुक्तिका चौधरीले १५ हजार १०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेशसभा (ख) बाट नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार लक्ष्मणकिशोर चौधरी विजयी भएका छ्न् ।

चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डा. रणबहादुर रावललाई पराजित गर्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नागरिक उन्मुक्तीका चौधरीले ११ हजार ३१७ मत प्राप्त गर िविजयी भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डा. रावलले ८ हजार ५३ मत प्राप्त गरेका छन् । डा. रावल सुदूरपश्चिम प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् ।
यसअघि नागरिक उन्मुक्ती पार्टीले कैलाली क्षेत्र नमब्र ३ बाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका दुव्ै सिट जितिसकेको छ ।

प्रतिक्रिया