कैलालीका दुई क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीको अग्रता कायमै

धनगढी । कैलालीमा प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीले अग्रता कायमै राखेको छ । सुरुवातदेखि अग्रता लिएको क्षेत्र नम्बर १ र ३ मा उक्त पार्टीले अग्रता कायमै राखेको हो ।

कैलाली १ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ ९२५ मतका साथ पहिलो स्थानमा छन् ।

उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीले ५५८ मत सहित दोस्रो र नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल २०२ मतका साथ तेस्रो स्थानमा छन् । सो क्षेत्रमा हालसम्म २ हजार ७ मतगणना भएको जनाइएको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार गंगाराम चौधरीले १६०१ मतका साथ अग्र स्थानमा छन् ।

उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरी १३०० मतसहित दोस्रो स्थानमा छन् भने राप्रपाका उम्मेदवार वीरेन्द्रबहादुर बम १०५० मत सहित तेस्रो र नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी ८०० मत सहित चौथो स्थानमा छन् ।

मतगणना जारी रहेको सो क्षेत्रमा हालसम्म ५ हजार १०५ मतगणना गरिएको जनाइएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रमा ६१ हजार ६६८ मत खसेको थियो ।

प्रतिक्रिया