परिणामको प्रतिक्षा

प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन

काठमाडौं । देशको नयाँ नेतृत्व र जिम्मेबार जनप्रतिनिधि चयन गर्ने लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आइतबार सम्पन्न भएको छ । केही स्थानमा अप्रिय घटना भए पनि समग्रमा देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको दाबी निर्वाचन आयोगको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही बढी अप्रिय घटना भए । निर्वाचनका क्रममा कतिपय स्थानमा सुरक्षाकर्मीले गोलीसम्म चलाउनुपर्ने अवस्था सिर्जना भयो । बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भयो भने केही स्थानमा मतदान कार्य अवरुद्ध पनि भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मतदातामा खासै उत्साह नदेखिएको दाबी पर्यवेक्षकहरूले गरेका छन् । आयोगले पनि विगतका निर्वाचनहरूको तुलनामा कम मतदान भएको बताएको छ । आयोगले करिब ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ६६.८६ प्रतिशत मत खसेको थियो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने ६७.६३ प्रतिशत मत खसेको थियो ।

खासगरी दलहरूको कार्यशैली, चुनाव जित्नैका लागि विभिन्न दलबीच भएको गठबन्धन, वर्षौंदेखि मतदान गर्दै आए पनि परिस्थितिमा परिवर्तन नआएपछि मतदातामा छाएको निराशाजस्ता कारणले तुलनात्मक रूपमा कम मतदान भएको अनुमान गरिएको छ ।

विहान ७ बजेदेखि नै मतदान कार्य सुरु भए पनि अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून देखिएको थियो । आयोगले मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो । तर, कतिपय स्थानमा विवाद भएका कारण मतदान कार्य प्रभावित भएको थियो । त्यसैले साँझ ५ बजेभित्र मतदान केन्द्रभित्र प्रवेश गरेका मतदातालाई अबेरसम्म पनि मतदान गर्न दिइएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको भन्दै मतदातालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले मतदानमा देखिएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकको मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् । यो आमनिर्वाचनमा तपाईंहरूले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ ।’

उनले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ‘निर्वाचनमा तपाईहरूको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा दिएको छ,’ देउवाले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ ।’ उनले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा आयोगलाई पनि धन्यवाद दिएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि देशभर ६१ प्रतिशत मतदान भएको जानकारी दिए । उनले देशका कतिपय स्थानबाट तथ्यांक संकलनको कार्य भइरहेको र सम्पूर्ण तथ्यांक संकलन भएपछि केही प्रतिशत बढ्न सक्ने बताए ।

‘हालसम्मको तथ्यांकलाई हेर्दा देशभर ६१ प्रतिशत मतदान भएको देखिन्छ । देशभरबाट तथ्यांक संकलन गर्ने कार्य भइरहेको छ । सम्पूर्ण तथ्यांक संकलन भएपछि मतदानको प्रतिशत थोरै बढ्न सक्छ,’ निर्वाचन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

थपलियाले केही स्थानमा छिटफुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी पनि गरे । आयोगले विभिन्न १५ स्थानमा निर्वाचन स्थगित भएको जनाएको छ । थपलियाले निर्वाचन स्थगित भएका स्थानमा दुई दिनभित्र पुनः मतदान गराउन निर्देशन दिइसकिएको जानकारी दिए ।

मतदानका क्रममा अप्रिय घटना घटाउने केही व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र फरार रहेका ब्यक्तिलाई पनि खोजेर कानुनी कारबाही अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

थपलियाले मतदान गराउने कार्यमा खटिएका कर्मचारीको असावधानीका कारण कतिपय स्थानमा प्रत्यक्षतर्फको मत समानुपातिकतर्फको मतपेटिकामा खस्न पुगेको गुनासो प्राप्त भएको जानकारी पनि दिए । तोकिएको मतपेटिकामा नखसी अन्य मतपेटिकामा खसेको मतलाई पनि गणना गर्दा मिलाइने उनले बताए ।

अति विकट सात वटा हिमाली जिल्लामा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर सोमबार मतपेटिका संकलन गर्ने तयारी भइरहेको थपलियाले बताए । ती जिल्लाहरूमा मौसमले साथ दिए सोमबार साँझ ४ बजेसम्ममा मतपेटिकाहरू संकलन भइसक्ने उनले बताए ।

मतदान कार्य सम्पन्न भएलगत्तै देशभरका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गर्ने कार्य सुरु भएको छ । देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा पनि मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरिएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।

काठमाडौंलगायत तराईका अधिकांश स्थानमा आइतबारदेखि नै मतगणना सुरु गरिने आयोगले जनाएको छ । हिमाली जिल्लाहरूमा भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले सोमबारदेखि मात्र मतगणना सुरु हुने बताइएको छ । काठमाडौंको १० वटा स्थानमा मतगणना हुनेछ । १० वटै क्षेत्रको मतगणना अलगअलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं–१ को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को मतगणना गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नम्बर ४ को मतगणना बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।

यसैगरी काठमाडौं–५ को मतगणना टोखा नगरपालिकाको श्रीसमाज भवनमा, काठमाडौं–६ को मतगणना तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, काठमाडौं–७ को मतगणना बालाजुस्थित जुडो हलमा र काठमाडौं–८ को मतगणना स्वयम्भूस्थित गीतामाता विद्यालयमा गणना हुनेछ ।

यसैगरी काठमाडौं–९ को मतगणना रविभवनस्थित नाथम कलेजमा र काठमाडौं–१० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा गर्ने तयारी छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार, काठमाडौंमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विगतका निर्वाचनमा जिल्लाभरीका सबै मतपेटिका सदरमुकाममा ल्याएर मात्र मतगणना सुरु गरिन्थ्यो ।
यसपटक भने आयोगले देशभरीका १ सय ६५ वटै निर्वाचन क्षेत्रमै मतगणना गर्दैछ । आयोगको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले यसपटक मतदान सम्पन्न भएपछि सम्बन्धित निर्वाचन क्षेत्रमै मतगणना गरिने जानकारी दिए । छिटोभन्दा छिटो मतपरिणम सार्वजनिक गर्ने उद्देश्यले आयोगले यस्तो तयारी गरेको हो । आयोगले देशैभरीका प्रत्यक्षतर्फको निर्वाचन परिणाम तीनदेखि चार दिनभित्र सार्वजनिक गरिसक्ने घोषणा यसअघि नै गरिसकेको छ ।

यसैबीच, विभिन्न पार्टीका शीर्ष नेताहरुले पनि आ—आफ्नो निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यपधुरा—१ को असिग्राम माध्यमिक विद्यालय रुवाखोला केन्द्रमा मतदान गरे । उनी डडेल्धुराबाट सातौं पटक उम्मेदबार बनेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत बिधालयको मतदान केन्द्रबाट मतदान गरे । नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उमेदवार पनि हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली चितवनमा थियो । प्रचण्डले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी यसअघि चितवन ३ बाटै निर्वाचित भएका थिए ।

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् । झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैलाई मत दिन नपाएका हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भए । उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले यो मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना पनि गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधाप मतदान केन्द्रमा मतदान गरे । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लिङ्देनले जारी निर्वाचन जनता र देशको भविष्यसँग जोडिएको बताए । उनी झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जाको पशुपति मावि ञकझ केन्द्रबाट मतदान गरे । उनले पशुपति केन्द्रबाट बिहानै मतदान गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि मतदान गरेका छन् । उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रमा मतदान गरेका हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । यसपटक भने उनी उम्मेदवार बनेनन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गरेका छन् । उनले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरे । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका उनले सत्यवति मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसपटक निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको थियो । पुरुष मतदाताको संख्या ९१ लख ४० हजार ८ सय ६, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य मतदाताको संख्या १ सय ८५ रहेको थियो । आफ्नो निर्वाचन क्षेत्रभन्दा फरक स्थानबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्ने अस्थायी मतदाताको संख्या भने ४ लाख ५० हजार रहेको थियो ।

प्रदेशगत रूपमा प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६ सय २८, बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका थिए ।

देशभर १० हजार ८ सय ९२ मतदानस्थल, २२ हजार २ सय २७ मतदान केन्द्र र १ सय ४१ वटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको थियो । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुल ३ सय ३० सिटका लागि निर्वाचन भएको हो ।

यसका अतिरिक्त प्रतिनिधिसभामा समानुपातिकतर्फ १ सय १० र प्रदेशसभामा समानुपातिकतर्फ २ सय २० जनप्रतिनिधि पनि यो निर्वाचनले चयन गर्नेछ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा २ हजार ४ सय १२ र प्रदेशसभातर्फ प्रत्यक्षमा ३ हजार २ सय २४ जना उम्मेद्वार छन् ।

निर्वाचन सम्पन्न गराउन २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र २ लाख ९८ हजार ५ सय ७९ सुरक्षाकर्मी (म्यादी प्रहरीसहित) खटाइएको थियो । ७ हजार २ सय १९ जना पर्यवेक्षकले देशभर निर्वाचनको पर्यवेक्षण गरेका थिए । निर्वाचनको पर्यवेक्षणका लागि भारत, बंगलादेश, माल्दिभ्स, भुटान, श्रीलंका, दक्षिण कोरियालगायत १२ देशका पर्यवेक्षक आएका थिए । १८ वटा कूटनीतिक नियोगका अधिकारीले पनि निर्वाचनको पर्यवेक्षण गरेका थिए ।

प्रतिक्रिया