काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौं महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् ।
काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।
‘यस क्षेत्रको सहरी भेग काठमाडौं महानगरपालिका–६ को सरस्वतीनगर र बौद्ध क्षेत्रमा रहेको मतदान केन्द्रभन्दा गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभीर क्षेत्रका मतदातामा उत्साह देखिएको छ’, उनले भनिन्, ‘गोकर्णेश्वर नगरपालिकाकै बढी जनघनत्व भएका जोरपाटी, गोकर्णभन्दा कम जनघनत्व भएको सुन्दरीजल, कागेश्वरी क्षेत्रमा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।’
यस निर्वाचन क्षेत्रको काँठ भेगमा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत हाराहारीमा मतदान भएको मतदान अधिकृत शाहीले जानकारी दिएको निर्वाचन क्षेत्र अधिकृतको कार्यालयले जनाएको छ ।
त्यही समयभित्रमा सहरी क्षेत्रमा भने करिब ४० प्रतिशत हाराहारीमात्र मतदान भएको छ । मतदानस्थलमा भेटिएका मतदातामा उत्साह भने धेरै देखिएको छैन ।
स्थानीय तह निर्वाचनमा जति पनि उत्साह मतदातामा नदेखिएको गोकर्णेश्वर नगरपालिका १ का स्थानीयवासी रोशन पोखरेलले बताए । स्थानीय तह निर्वाचनमा स्थानीयस्तरकै धेरै उमेदवार हुने भएकाले धेरै मतदाताको सहभागिता रहने गरेको थियो । रासस
प्रतिक्रिया