निर्वाचन सुरक्षाको तयारी पूरा

काठमाडौं । पाँच वर्षपछि मुलुकले एउटा नयाँ भविष्य कोर्दैछ । झन्डै तीन करोड सर्वसाधारणले पाँच वर्षका लागि मुलुक हाँक्ने नेतृत्व पाउँदैछन् । लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धाका आधारमा मतदानमार्फत नेता चुन्ने अधिकार प्रत्येक मतदातालाई छ ।पाँच वर्षपछि हुन लागेको आमनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहन्छ । आगामी निर्वाचनलाई सफल बनाउन पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू खटिएका छन् ।


मतदान केन्द्रदेखि मतदाता र मतपेटिकासम्मको सुरक्षा जिम्मा यी सुरक्षा निकायको काँधमा छ । गृह मन्त्रालयकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी झन्डै तीन लाख सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएको जनाएको छ ।

म्यादी प्रहरीसहित गरी कुल २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी निर्वाचनमा सुरक्षार्थ परिचालन हुने जानकारी गृहसचिव विनोदप्रकाश सिंहले दिए । चुनावमा नेपाली सेनाका ७४ हजार ८ सय ४९ र नेपाल प्रहरीका ७१ हजार ६ सय ९३ जना सुरक्षाकर्मी खटिएका छन् ।

यसैगरी सशस्त्र प्रहरीका ३५ हजार १ सय १६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय २१ र म्यादी प्रहरी १ लाख १५ हजार परिचालन गरिने जानकारी सचिव सिंहले दिए । मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाइएको गृह सचिव सिंहले बताए ।

नेपाली सेनाले बम निष्क्रिय गर्नसक्ने १ सय ५० टोलीलाई तयारी अवस्थामा राखेको छ । गृह सचिव विनोदप्रकाश सिंहले हिंसात्मक गतिविधि गर्नेहरूविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरिने बताए । उनले निर्वाचनलाई भौतिक रूपमा असर गर्ने क्रियाकलापविरुद्ध अपरेसन भइरहेको जानकारी पनि दिए । गृह सचिवले शून्य सहनशीलता अपनाउने बताए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले भने बुधबारदेखि लगातार बम विष्फोट गराउँदै आएको छ ।

हिमाली तथा उच्च पहाडी जिल्लामा हेलिकोप्टरबाट मतपेटिका संकलन गर्ने तयारी गृहको छ । अहिलेसम्म यस्ता क्षेत्र ४० वटा रहे पनि यो अझै बढ्न सक्ने आँकलन गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगातार बम विष्फोट गराउने र कुकर बम राखेर त्रसित गराउन थालेपछि देशभर ‘बम डिस्पोजल’ टोली पनि परिचालन गरिएको छ ।

निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९ सय ३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको जानकारी सचिव सिंहले दिए । उनले पत्रकार सम्मेलनमा भने, ‘देशभर ९ सय ३ ठाउँमा सेनाको बम डिस्पोजल टोली खटिएका छन्, आवश्यकताअनुसार टोली थप गरिनेछ ।’

नेपाली सेनाले बम निष्क्रिय गर्नसक्ने १ सय ५० टोलीलाई तयारी अवस्थामा राखेको छ । गृह सचिव सिंहले हिंसात्मक गतिविधि गर्नेहरूविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरिने बताए । उनले भने, ‘मतदाता, कर्मचारी र उम्मेद्वारको सुरक्षामा खतरा उत्पन्न गराउन खोजेमा सह्य हुँदैन ।’

उनले निर्वाचनलाई भौतिक रूपमा असर गर्ने क्रियाकलापविरुद्ध अपरेसन भइरहेको जानकारी पनि दिए । गृह सचिव सिंहले शून्य सहनशीलता अपनाउने बताए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले भने बुधबारदेखि लगातार बम विष्फोट गराउँदै आएको छ ।

बुधबार भोजपुर र नेपालगञ्जमा विष्फोट गराएको उक्त समूहले शुक्रबार बिहान काठमाडौं र ललितपुरमा कुकर बम राखेको छ । काठमाडौंमा बुढानीलकण्ठ, भत्केको पुल र ललितपुरको जावलाखेलमा बम फेला परेको थियो । ती बमहरू ‘विप्लव’ का कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको आँकलन छ ।

सुरक्षा निकायकै सुझावमा सरकारले ३ हजार ६५ मतदानस्थललाई अति संवेदनशील र ४ हजार ४ सय ७८ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । सरकारले मधेस प्रदेशका आठ वटा मतदानस्थललाई अतिसंवेदनशील मानेको छ ।

यसैगरी झापा, सुनसरी, मोरङ, कपिलवस्तु, कैलालीलगायत जिल्लाका मतदानस्थललाई पनि सरकारले अतिसंवेदनशील मानेको छ । निर्वाचनलाई भयरहीत ढंगले सम्पन्न गर्न प्रहरीलाई चाहिने हतियार, सञ्चार सेट र सवारीसाधन भने अपुग रहेको बताइएको छ ।

यो रिर्पोट गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुग्दा पनि यथेष्ट सामग्री सुरक्षा निकायलाई उपलब्ध हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार, हाल नेपाल प्रहरीसँग करिब सात हजार सञ्चारसेट मात्रै छन् ।

अत्यावश्यक स्रोत–साधनसमेत पर्याप्त नहुँदा निर्वाचनमा योजनाअनुसार काम गर्न नसकिने प्रहरीको चिन्ता छ । प्रहरीलाई निर्वाचनमा १५ हजार ४ सय ९४ वटा सञ्चार सेट आवश्यक पर्ने भए पनि हाल ७ हजार ९ सय ४३ वटा सेट मात्रै प्रहरीसँग रहेको बताइएको छ ।

सञ्चार सेट नहुँदा प्रहरीले मोबाइल फोनकै भरमा सञ्चारको काम गर्नुपर्ने बाध्यता छ । निर्वाचनमा मतदान पेटिका ओसारपसार र सुरक्षाकर्मी परिचालन गर्न २ हजार ९८ वटा साना र ठुला सवारी साधन आवश्यक पर्ने प्रहरी मुख्यालयले जनाएको छ ।

तर, हाल प्रहरीसँग काम दिने खालको जम्मा ५ सय ६२ वटा मात्रै सवारी साधन छन् । बाँकी प्रहरीले भाडाका सवारी साधनमार्फत नै काम चलाउने भएको छ । प्रहरी मुख्यालयका अनुसार, एकै चरणमा निर्वाचन गराउँदा प्रहरीलाई स्रोत–साधनको अभाव भएको हो ।

ढुक्क भएर मतदान गर्नुस : सूर्यप्रसाद अर्याल (सहप्रवक्ता, निर्वाचन आयोग)

मंसिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान हुँदैछ । सबै मतदाताले ढुक्क भएर आफूले चाहेको उम्मेद्वारलाई मतदान गर्न सक्नुहुन्छ । त्यहाँ कसैको करकाप हुँदैन । यदि कसैको दबाब र प्रभाव हुन्छ भने नजिकको सुरक्षाकर्मी र मतदान अधिकृतलाई तत्काल गुनासो गर्न सक्नुहुन्छ ।

सूर्यप्रसाद अर्याल (सहप्रवक्ता, निर्वाचन आयोग)


देशभर सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । चुनावी सुरक्षा तयारी पनि पूरा भएको छ । मतदातालाई निर्वाचन केन्द्र वा मतदानस्थलमा सुरक्षित रूपमा आउन कसैले रोक्दैन । मत पेटिकालाई पनि सुरक्षित राखिने छ ।

सम्भवतः मंसिर १२ वा १३ गते प्रदेशसहितको निर्वाचन परिणाम आइसक्छ । चुनावमा हुने धाँधली लगायतका विषयमा आयोग र सुरक्षाकर्मीले निगरानी राख्नेछन् । निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नु सबैको साझा दायित्व हो ।

आयोगले पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको छ । चुनाव स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न हुनेछ भन्ने कुरामा आयोग सबैलाई विश्वस्त पार्न चाहन्छ । तोकिएको परिचयपत्र नभएमा मतदान गर्न दिइने छैन । सबैले निष्पक्ष र भयरहित भएर मतदान गर्नुहोला ।

प्रमुख निर्वाचन आयुक्त र प्रधानसेनापतिबीच भेटवार्ता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले शुक्रबार भेटवार्ता गरेको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराएका थिए । प्रधानसेनापति शर्माले हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको जानकारी पनि गराएका थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच, प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीसमेत पु¥याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका थिए ।

भेटका अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुनशमशेर जबराको उपस्थिति रहेको थियो । उनीहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताएका थिए ।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्यवेक्षणका लागि माल्दिभ्स र दक्षिण कोरियाका निवार्चन आयुक्तहरू नेपाल आएका छन् । माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक, श्रीलंकन एयरबाट काठमाडौं आइपुगेका हुन् । माल्दिभ्समा प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचन आयोगको अध्यक्ष भनिन्छ ।

दक्षिण कोरियाबाट भने निर्वाचन आयुक्तहरूको तीन सदस्यीय टोली नेपाल आएको हो । काङ सेओङ बाए (स्ट्यान्ड कमिश्नर), ग्योन्गिदो निर्वाचन आयोगका चो मिन चुल, यी ये रंग (जिओलानामदो निर्वाचन आयोग) नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया