बहुविवाहको आरोपमा गृहमन्त्रीविरुद्ध उजुरी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रूपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाह गरेको भन्दै उजुरी दर्ता गराएकी हुन् ।

उम्मेद्वारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । गृहमन्त्री खाण सत्ता गठबन्धनबाट उम्मेद्वार छन् । यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रूपन्देहीमा आएर दर्ता गरेको अधिवक्ता बरालले बताइन् ।

‘खाण बहुविवाहमा संलग्न रहेको प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो, उहाँले गृह मन्त्रालय हाँक्दै गर्दा बहुविवाह गर्ने हजारौं ब्यक्ति जेलमा सडाउने काम गर्नुभएको छ,’ बरालले भनेकी छन्, ‘देशकै गृहमन्त्रीले रूपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाँण नाम दर्ता गराएकाले पनि उक्त कुराको पुष्टि हुन्छ ।’

खाणले रूपन्देही क्षेत्र नमबर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रूपन्देही ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाण श्रीमती भएको उल्लेख गरेका छन् । त्यसबाहेक अरू निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रूपमा मञ्जु खाणको नाम लेखेका बरालको दाबी छ ।

प्रतिक्रिया