मोरङ–३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

सुन्दरहरैँचा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेद्वारसँगै यहाँ नायिका रेखा थापाको उम्मेद्वारीले चुनावी माहोल रोचक बनेको छ ।
०७४ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो । ढकालले विजयी हुँदै ४२ हजार ४ सय १३ तथा शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका थिए । ढकालसँग शर्मा १ हजार ९ सय सात मतान्तरले पराजित भएका थिए ।

गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेर यसपटक अनुमान लगाउन सकिने अवस्था छैन । नायिका थापाको उम्मेद्वारीले यसपटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एमालेलाई बलियो संगठनको भरोसा छ । शर्मा गठबन्धनको भर परेका छन् ।
नायिका थापा मोरङ–३ मा मतदाताले आफूलाई साथ दिने बताउँछिन् । जनताको सेवा गर्ने भावनाले नै चलचित्र क्षेत्रलाई केही समयका लागि थाँती राखेर चुनाव लड्न आएको उनी बताउँछिन् । मुख्य प्रतिस्पर्धा ढकाल, शर्मा र थापाबीच हुने देखिन्छ । कांग्रेसबाट जयराज संयोक बागी उम्मेद्वार रहेका छन् ।

मोरङ क्षेत्र नं ३ मा संघीय र प्रदेशमा गरी ३३ उम्मेद्वार चुनावी मैदानमा छन् । १९ स्वन्तन्त्र उम्मेद्वार हुन् । नेमकिपाबाट ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीबाट भवन राई, हाम्रो नेपाली पार्टीबाट खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माले) बाट उद्धिमबहादुर खड्का, मंगोल नेसनल अर्गनाइजेसनबाट विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेसनलिस्ट पिपुल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती चुनावी मैदानमा छन् ।

त्यसैगरी दिनेश चापागाईं, जयराज संयोक, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्र नं ३ प्रदेशसभा (१) मा कांग्रेसबाट मानबहादुर लिम्बू, एमालेबाट दिलीपकुमार राई, राप्रपाबाट तीर्थबहादुर गुरुङलगायत सात जनाको उम्मेद्वारी छ । प्रदेशसभा (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमार श्रेष्ठ, राप्रपाबाट रमेश रिजाललगायत १३ जनाको उम्मेद्वारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका २४ वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा १ लाख ३९ हजार ८ सय ३३ मतदाता छन् । प्रदेशसभा (१) मा ७५ हजार ३ सय ९३ तथा प्रदेशसभा (२) मा ७४ हजार २ सय ४० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले बताए । उक्त क्षेत्रमा ४८ मतदान केन्द्र कायम गरिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत संख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार ४ सय १० र जनता समाजावादी पार्टीको ४ सय ६३ मत आएको थियो । जसपा–एमाले गठबन्धनमा ३७ हजार ८ सय ७३ मत देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को २ हजार १ सय २१ मत छ । कांग्रेसको ३६ हजार ९ सय १६, माओवादी केन्द्रको ७ हजार ३ सय ७३ र एकीकृत समाजवादीको १ हजार ८ सय ५५ मत रहेको छ । सत्ता गठबन्धनको कुल मत ४६ हजार १ सय ४१ रहेको छ ।

प्रतिक्रिया