‘यो पटक थप फराकिलो अन्तरले चुनाव जित्छु’

प्रतिनिधिसभामा मकवानपुरका क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार हुन् विरोध खतिवडा । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य खतिवडासँग संसदीय राजनीतिको लामो अनुभव छ । फेरि पनि उम्मेद्वारी किन ? आफ्नै चेला एमालेबाट प्रतिष्पर्धी बनेको अवस्थामा चुनावी परिणामको आँकलन उनले कस्तो गरेका छन् ? अनि मकवानपुरको विकास र नागरिकको चाहानासम्बन्धी उनीसँग के कस्ता योजनाहरू छन् ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर सौर्य दैनिकले खतिवडासँग गरेको कुराकानी :

लामो समयदेखि संसदीय राजनीतिमा हुनुहुन्छ । पाँचौँपटक चुनावी मैदानमा होमिनुभएको छ । मकवानपुरका मतदाताले अब फेरि तपाईंलाई नै किन मत दिने ?

हाम्रो संविधानले पाँच÷पाँच वर्षमा अद्यावधिक चुनाव तय गरेको छ । कतिपटकसम्म चुनावमा उठ्ने भन्ने कुरा कानुनी प्रावधान छैन । यसैले म जस्तै अन्य उम्मेद्वार पनि उठ्नुभएको यहाँहरूले देख्नुभएको होला । र किन भन्ने कुरा गर्दा स्वभावैले मैले जे जति काम गरेको छु, त्यो आधारबाट मलाई पार्टीले, यहाँका मतदाताले पनि र अहिलेको अवस्थामा भन्ने हो भने गठबन्धनले मलाई चाहेको हो ।

म यहाँ भएकाले मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा शेरबहादुरजी, प्रचण्डजीको निर्विवाद समर्थन मलाई रह्यो । गठबन्धनमा कुरा मिलाउँदा अन्य जिल्लामा केही विवाद भए पनि मेरो सवालमा त्यस्तो कुनै विवाद नभएको यहाँलाई थाहा छँदै छ । अहिले पनि जनताको आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी, झोलुंगे पुल, सडक हुन् । यी आवश्यकता केही पूरा भएका छन् भने केही अझै पूरा गर्नुपर्ने बाँकी छ । यी आवश्यकतालाई मैले पनि प्राथमिकता दिनेछु ।

कैलाशको डाँडाखर्क आसपासबाट धादिङ जाने सडक ९८ करोडको कार्य अघि बढाउने, कैलाश र राक्सिराङ गाउँपालिकाको सदरमुकामा अहिलेसम्म पक्की सडक पुगेको छैन । यो दुई गाउँपालिकामा पक्की सडक निर्माण गर्ने काम मैले पूरा गर्नुपर्नेछ । चित्लाङमा मदन भण्डारी बहुप्राविधिक विश्व विद्यालयलाई २ अर्ब १० करोड लगानी ल्याइसकेको छु । अर्को वर्षबाट पढाइ सञ्चालन हुने गरी काम पूरा गर्नु छ ।

केही अधुरा योजना सम्पन्न गर्नुपर्नेछ । जस्तो कि मैले गाँजा खेतीलाई नयाँ अभियानको मुद्दाकै रूपमा गएको दुई–अढाई वर्षदेखि उठाइरहेको छु । त्यसलाई मैले निष्कर्षकामा पुर्याउन लागिपरेको छु । यसैबीचमा संयुक्त राष्ट्रसंघले पनि गाँजालाई लागुऔषधको सूचीबाट हटायो । यसले मलाई अभियानमा थप प्लस प्वाइन्ट भएको छ । पहिला गाँजालाई अफिम, चरेसहरूसँगै राखेको थियो । नेपालको तर्फबाट गाँजा औषधीजन्य बिरुवा हो भनेर हामीले पनि मतदान गर्याैँ । अब यहाँ विधेयक बन्ने क्रममा छ ।

गृह मन्त्रालयले विधेयक बनाइसकेको छ, अर्थ मन्त्रालयले सहमति दिइसकेको छ, कानुन मन्त्रालयमा यसको भाषा, शुद्घाशुद्घी हेर्ने क्रममा छ । यो पटकको संसद्मा यसलाई ल्याउन सकिएन । केपी ओलीको सरकारकै पालामा मैले यो प्रयत्न गरेको हुँ । उहाँको विपक्षमा भएको कारण उहाँले मेरो प्रस्तावलाई प्राथमिकतामा राख्नुभएन । पछि गठबन्धनको सरकारको बेलामा पनि एमालेले नौ महिना संसद् अवरुद्घ गर्यो । अत्यावश्यक प्रकृतिका विधेयकबाहेक अरू प्रवेश गराउने, छलफल गर्ने वातावरण नै भएन ।

अन्तिममा असारमा आएर सदन खुलेपछि बजेट आयो । बजेटमा केन्द्रित भएर छलफलहरू बढी भए । साउन, भदौपछि त हामी चुनावमा आइसकेका छौँ । यसर्थ, गाँजाको विषयलाई पनि मैले निष्कर्षमा पु¥याउनुपर्नेछ । निर्वाचन क्षेत्रको जनप्रतिनिधिको नाताले यहाँको आवश्यकताहरू पूर्ति गर्दै जान र विधेयक र विधायकको हिसाबले मैले आवश्यक कानुन, नीति, निर्माण गर्ने कुराहरूमा मुख्य रूपमा केन्द्रित हुनलाई मैले पुनः उम्मेद्वारी दिएको हुँ ।

मकवानपुरका लागि चाहिँ तपाईंले के गर्नुभयो ?

मैले अघि भनिसकेँ, चित्लाङको बहुप्राविधिक विश्व विद्यालय निर्माणका लागि २ अर्ब १० करोड निकासा भइसकेको छ । ९८ करोड लागतमा गोगने–आग्रा–मोहरिया हुँदै धादिङ जाने बाटो निर्माण हुँदै छ । अर्को त्यहीको पकनी हुँदै कैलाशको दक्षिणी भेगतिर आउने सडकका लागि ४० करोड विनियोजन गरिएको छ । त्यस्तै कैयाँै ठाउँमा खानेपानीका ठूला ठूला योजनाहरू धमाधम पूरा भइरहेका छन् । थाहा नगरपालिकामा १७ करोड लागतमा खानेपानी योजनाको कार्य सुरु भइसकेको छ ।

थाहामै अक्सिजन प्लान्ट सहितको अस्पताल आगामी ६ महिनाभित्र निर्माण कार्य सक्ने गरी तयारी भइरहेको छ । ३० करोड लागतमा मकवानपुरको दुर्गमक्षेत्र भीमफेदीको इपा–कोगटे जाने सडक दुई वटा पुलसहित निर्माण सम्पन्न भएर अहिले यातायात सञ्चालनमा आइसकेको छ । यता, बासुदेव मार्गको सडक आमभन्ज्याङबाट बुढिचौर हुँदै सिस्नेरी निकाल्ने कामका लागि रातो किताबमा बजेट छुट्याउने क्रम सुरु गरेको छु । नौ करोड त्यहाँ खर्च भइसकेको छ । अझै धेरै काम गर्न बाँकी छ । रजैयाबाट दरदरा हुँदै मसिने चकरी मकरी पुग्ने सडकका लागि रातो किताबमा बजेट व्यवस्था गरेको छु ।

त्यहाँ कालोपत्रे गर्नेदेखि अनेक कामहरू बाँकी छन् । चेपाङलाई उज्यालो भन्ने अभियान मैले सुरु गरेको छु । त्यसअन्तर्गत राक्सिराङमा अहिले पनि १५–२० करोडको काम भइरहेको छ । यसलाई पनि मैले टुंगोमा पुर्याउनुपर्नेछ । इन्द्रसरोवरलाई पोखराको फेवातालकै तहमा नेपाली तथा विदेशी पर्यटकहरू आउने गरी अगाडि बढाउने योजना छ । केन्द्र सरकारको एक प्रदेश एक पर्यटकीय केन्द्र भन्ने नीतिअन्तर्गत मकवानपुरको इन्द्रसरोवर ताललाई बागमती प्रदेशकै एक मात्र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना छ ।

यसलाई मैले नै निष्कर्षमा पुर्याउनका लागि कामहरू गर्नुपर्नेछ । यस्तै, मकवानपुरगढी र आमभञ्ज्याङ जोड्नका लागि विभिन्न ठाउँमा तीन वटा पक्की पुल निर्माण गरिसकिएको छ । अहिले ती पुलहरूबाट गाडी हिँड्न थालिसकेका छन् । आमभन्ज्याङमा अस्पताल पनि निर्माण भइसकेको छ । यता, मनहरीमा म निर्वाचित हुने बेलासम्म राप्ती खोलामा एउटा पनि पुल थिएन । अहिले दुई वटा झोलुंगे पुल र तीन पक्की पुल निर्माण भएको छ । यस्तै, सान्नानीटारमा एउटा पक्की पुल १७ करोड लागतमा निर्माण भइरहेको छ ।

मकवानपुर जिल्लामा काठको पोल विस्थापन गर्दै फलामे पोल राख्ने अभियान सुरु गरेको छु । यो काम लगभग ८० प्रतिशत सम्पन्न भएको छ । परेवाभिर जस्ता अनेकन् संकटकालीन ठाउँहरूमा बाटो निर्माण हुने क्रममा छ । यद्यपि तत्कालीन प्रदेश सरकारले त्यहाँ मान्छे एक–दुई जना मर्यो भन्दैमा त्यहाँ बाटो लानु पर्दैन भनेर अभिव्यक्ति दिएपछि त्यो ठाउँ चर्चित भएको थियो ।

त्यसलाई हामीले सम्पन्न गरेका छौँ । अब अझ सहज ढंगले त्यहाँबाट हामीलाई कैलाशतिर जानका लागि सजिलो हुनेछ । यो ढंगबाट खानेपानी, विद्युतीकरण, शिक्षा, स्वास्थ्यलगायत आवश्यक सबै क्षेत्रमा मैले काम गरेको छु । त्यो पनि म लाख, २० लाख, ५० लाखको कुरा गरिरहेको छैन, करोडौँको कुरा गरिरहेको छु । मनहरीको रमौली–प्रतापपुर भन्ने बस्ती आरक्षसँगै राप्ती खोलापारिको यी दुइ वटै वडालाई त्यहाँबाट हटाएर खोलावारि ल्याएर राखियो । उनीहरू अहिले बसेको ठाउँ पनि राप्ती खोलावारी जोखिम रहेकाले १५–२० करोड लागतमा तटबन्ध गरेर सुरक्षित पारिएको छ । मनहरीको कर्णाली भनिने फरिवाङ्मा लिफ्टबाट खानेपानी खुवाउनेदेखि लिएर विद्युतीकरणका लागि अलग बजेट राखेर काम गरेको छु । अहिले पनि विभिन्न ठाउँमा १२÷१५ वटा झोलुंगे पुल निर्माणाधीन अवस्थामा छन् ।

थाहा नगरपालिकामा तीन वटा पक्की पुल निर्माण भइसकेका छन् । अरू बन्ने क्रममा छन् । भीमफेदीमै दुई वटा पक्की पुल बनेका छन् । राप्ती खोलामा दुई वटा झोलुंगे पुल, तीन वटा पक्की पुल निर्माण भएका छन् । मकवानपुरगढी, आमभञ्ज्याङ्को पुलको मैले अघि कुरा गरिहालेँ । मैले काम गरेका कुराहरू धेरै छन्, धेरै भन्न सकिन्छ । तर, यो छोटो कुराकानीमा ती सबै उल्लेख गर्न सम्भव पनि नहोला ।

पहिला र अहिलेको चुनावमा के कस्ता फरक छन् ? मतदाताको मनोविज्ञान कस्तो पाउनुभएको छ ?

नेपालमा एउटा अवधिपछि एक खालको इस्युहरू आउने देखिएको छ । ०२८ साल, ०३५–३६, ०४६–४७ सालदेखि नै हेर्दाखेरी एकप्रकारको टे«न्ड आउने गरेको छ । ०६८ सालतिर आएर राजाले कु गरेपछि मान्छेको सोचाइ परिवर्तन भएको हामी पाउँछौँ । सामान्यतः एक दशकको अवधि हेरेपछि मान्छेले अझ सुधार, अझ परिवर्तन गर्न सकिन्छ कि भन्ने सोचेको पाइन्छ ।

समय अवधिसँगै मानिसको चेतनास्तर पनि बढेको छ । हिजो ०४०–५० सालको चेतनास्तर र अहिले विज्ञान–प्रविधिले हामीलाई धेरै सूचना प्राप्त गर्ने अवस्थाको चेतनास्तर फरक छ । विश्वका अनेकौँ ठाउँको स्थिति, व्यवस्था, विकासलगायत विविध कुरा हेरेर पनि हाम्रो यहाँ किन हुँदैन भन्ने जागरुकता स्वभाविक रूपमा बढेको छ । अर्को कुरा, त्यो बेलामा पञ्चायती व्यवस्थाविरुद्घ लडेर आएकाहरू सबै दुःख पाएका थिए । जेलनेल खाएका थिए । नेताको त्याग देखेका थिए ।

पार्टीहरूप्रति अगाध विश्वास थियो । त्यसले गर्दा त्यो बेलाको निर्वाचनचाहिँ जनताकै बलमा, जनताकै खर्चमा, जनताकै तर्फबाट लड्न सकिन्थ्यो । लडिएका थिए । तर, यसपछिका निर्वाचनहरू क्रमशः अलि अलि खर्चिलो बन्दै गए । सरकार बन्ने, बिग्रने क्रममा अनेक भ्रष्टाचारका काण्डहरू, अनेकौँ स्क्यान्डलहरू बाहिर आउन थाले । त्यसका कतिपय सत्य, असत्य आफ्नो ठाउँमा भए पनि बाहिर पार्टी, नेता भनेका यस्ता हुँदा रहेछन् भनेर गलत छवि बन्न थाल्यो । त्यो कारणले पनि चुनाव आयो भनेपछि अब खर्च बढ्छ, नेताले खर्च गर्छ भन्ने मानसिकता पनि केही विकास भएको छ ।

पहिलाका चुनाव निष्ठा, त्याग, विश्वाससँग गाँसिएका थिए । अहिलेको चुनाव त्यो पक्षबाट घट्दै गएर चुनावमा खर्च बढाउने यही हो मौका भनेर पनि हेर्न थालियो । केही नेताले यसरी खर्च बढाउने प्रवृत्तिलाई प्रोत्साहन पनि गरेका छन् । एकपटक त चुनाव जित्नै पर्छ भन्ने उत्कट आकांक्षाले चाहिने भन्दा बढी खर्च गर्न एक प्रकारका मान्छे लागेकै छन् । त्यसको पनि केही प्रभाव परेको छ । यसरी समग्रमा हेर्दा चेतना बढेको छ तर निष्ठा घटेको छ ।

मकवानपुरमा एउटा सरकारी अस्पताल पनि गतिलो नभएको गुनासो छ । तपाईं स्वास्थ्यमन्त्री बनेर पनि जिल्लामा स्वास्थ्यक्षेत्र विकासका लागि तपाईंले ध्यान दिनुभएन भन्ने आरोप छ नि ?

यो बेकारको कुरा हो । प्रत्येक जिल्लामा वीर हस्पिटल, टिचिङ हस्पिटल बन्न सक्दैन । त्यो सम्भावना पनि हुँदैन । हामीसँग आर्थिक पक्ष बलियो भएपछि जिल्लैपिच्छे ५० वर्षपछि सुविधासम्पन्न सबै चिज भएका टिचिङ, वीर, पाटनजस्ता अस्पताल सरकारले खोल्नपर्छ । हामीले सातै प्रदेशमा पाँच सय बेडको प्रदेशस्तरको अस्पताल निर्माण गर्ने नीतिगत निर्णय पनि गरेका छौँ ।

कहीँ त काम सुरु पनि भइसकेको छ । जिल्लामा रहेका अस्पताल पनि पहिले पहिलेभन्दा अहिले धेरै सुधार भएका छन् । भवनहरू पनि राम्रा बनेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको बीचमा तत्कालीन एमाले सरकारबाट अनावश्यक विवाद सिर्जना गर्ने काम गरिएको थियो । सरकारको नीतिअनुसार एउटा जिल्लामा एउटा सरकारी अस्पताल अनिवार्य रूपमा हुनुपर्छ । हेटौँडा अस्पताल हाम्रो जिल्ला अस्पताल हो ।

आफ्नै भवन, कर्मचारी, संयन्त्र भएको पुरानो इतिहास यो अस्पतालसँग छ । तर, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भवन, जमिन, जनशक्ति सबै सित्तैमा लिएर त्यसलाई नीजि ढंगबाट मनोनीत गरेको मान्छेबाट चलाउने गरी तथा बिरामीलाई थप मर्का पर्ने गरी सञ्चालन गर्न खोजिएको थियो । अहिले ओपिडी ४०÷५० रुपैयाँमा हुन्छ भने त्यहाँ गाभिएको हुन्थ्यो भने सायद चार–पाँच सय रुपैयाँ ओपिडीमा पथ्र्यो ।

त्यसमा पनि एमबिबिएससम्म पढाउने, शुल्क लिने गरी व्यावसायिक ढंगले अगाडि जान चाहेको संस्थाले अर्काको पुँजी सित्तैमा लिन खोज्यो । त्यसमा पनि हेटौँडा अस्पतालमा एमबिबिएस पढ्ने विद्यार्थीका लागि प्राक्टिकल गर्न अनिवार्य रूपले तीन सय बेडको अस्पताल चाहिन्छ । त्यसका लागि सरकारी तहबाट हेटौँडा अस्पताल दिने भनेर भनिएकै छ ।

प्रतिष्ठानबाट उत्पादित विद्यार्थीहरूले प्राक्टिकल हेटौँडा अस्पतालमा गर्ने भनेर सम्झौता भएको छ । तर प्रतिष्ठानले हेटौँडा अस्पताललाई गाभ्ने नै जुन खराब नियत राखेको थियो, अब भिन्नाभिन्नै रूपमा अगाडि जाँदै छ । प्रतिष्ठान प्रतिष्ठानकै रूपमा बस्छ, हेटौँडा अस्पताल सरकारी अस्पतालकै रूपमा बस्छ । मकवानपुर जिल्लामा स्वास्थ्य क्षेत्र विकासको कुरा गर्ने हो भने सबै पालिकाहरूमा १५ बेडको अस्पताल लगभग तयार भएका छन् । राक्सिराङमा सञ्चालनमै आइसक्यो ।

मकवानपुरगढीमा निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब दुई–तीन महिनामा सञ्चालनमा आउँछ । थाहा नगरमा अक्सिजन प्लान्टसहित निर्माणको अन्तिम चरणमा छ । कैलाशमा भर्खर शिलान्यास भएको छ । म स्वास्थ्यमन्त्री भएका बेलामा प्रत्येक वडामा पनि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना बनाइएअनुसार केही वडावडामा हामीले स्वास्थ्य केन्द्र खडा गरेका छौँ । बाँकी ठाउँमा अझै पनि वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन सकिन्छ ।

तपाईं अहिले पूर्वपार्टीका आफ्नै चेलासँग चुनावी प्रतिष्पर्धा गर्नुपर्दा कस्तो महसुस गर्नुभएको छ ?

पञ्चायती व्यवस्था ढाल्न, गणतन्त्र ल्याउन प्रतिष्पर्धाको राजनीति चाहिन्छ भनेर हामीले यो व्यवस्था ल्याएका हौँ । प्रत्येक पाँच वर्षमा आउने चुनावमा दल, व्यक्ति वा स्वतन्त्र उठ्न पाउँछन् । उनीहरूको अधिकार भएकाले यसलाई म स्वागत गर्छु । यसमा बा उठ्यो कि ? भाइ उठ्यो कि ? छोरा उठ्यो कि ? भतिजा उठ्यो कि ? भन्ने कुरा होइन । कुन पार्टीबाट उठ्यो भन्ने पनि होइन ।

यो अवसरलाई सबैले सदुपयोग गर्नुपर्छ । कुनै खास पार्टीबाट को उम्मेद्वार उठ्यो भन्ने कुरालाई मैले यसलाई कुनै एउटा अनौठो रूपमा लिएको छैन । मसँग अरू नौ जनाजस्ता उम्मेद्वार छन्, उनलाई पनि मैले त्यस्तै रूपमा लिएको छु । म पनि आफू त्यही १० जनाको भिडको एक जना उम्मेद्वार हुँ ।

अहिले राजनीतिका पुराना पुस्तालाई ‘नो नट अगेन’ भन्न थालिएसँगै युवाप्रति आकर्षण बढ्यो भनिन्छ । यस्ता अभियानले तपाईंप्रति मतदाताको क्रेज घट्ला कि बढ्ला ? के बुझ्नुभएको छ ?

यसलाई कसले कुन आँखाले कसरी हेर्छ भन्ने कुरा हो । फूलको आँखामा फूलै संसार भनेजस्तो विरोधले हारोस् भन्ने चाहाना राख्नेले अहिले युवाप्रति आकर्षण भएकाले उसलाई कम भोट आउँछ भन्ने धारणा बनाउन सक्छन् । कोही कोहीले चाँहि पुरानो, अनुभवी, जनताको विकास निर्माणमा चासो लिएको छ, हामीले भनेको मान्छ, कुनै पनि पदमा हुँदा पनि सजिलै घुलमिलका साथ ठूलो नबनी काम गर्छ भनेर समर्थन गर्ने पनि उत्तिकै छन् । मलाई व्यक्तिगत रूपमा भन्ने हो भने अघिल्लो पटकका भन्दा यो पटकको चुनाव मलाई सहज छ ।

गठबन्धनका कारण पनि यो पटक म मत बढी ल्याउँछु र झन् बढी फराकिलो अन्तरले जित्छु भन्ने विश्वास छ । भोट नदिने अथवा ‘नो नट अगेन’ भन्ने कुरा मान्छेको रुचीको कुरा हो । युवा हामीलाई कहाँ चाहिने, बुढा उम्मेद्वार नहुने भनेर कसले भन्या ? एमालेले भन्या हो भने केपी ओलीलाई किन दोहोर्याएको ? ईश्वर पोखरेल किन फेरि उठ्या ? एमालेका लागि केपी ओली युवा हुने अनि विरोध खतिवडा चाहिँ बुढा हुने भन्ने पनि हुन्छ ? अनि यही राप्ती खोलापारि युवा चाहिने अनि राप्तीवारि भएपछि काका भए पनि हुने ? त्यही सूर्य चिन्ह लिएर कमल थापा उठ्ने ? म भन्दा कमलजी ५–६ वर्ष जेठो हुनुहुन्छ ।

म भन्दा दुई चोटी बढी चुनाव उहाँ नै उठ्नुभएको छ । खास एउटा क्षेत्रमा चाहिँ अब देशैभरी युवा ल्याउनुपर्छ भनेजस्तो ढंगले चुनावी फन्डा क्रियट गर्न खोजिएको छ । यसमा कुनै अर्थ छैन । नो नट, नो भोट भन्ने कुरा स्वतन्त्रताको कुरा हो । अनि स्वतन्त्र उम्मेद्वारका कुुरा प्रत्येक चुनावमा थिए । ०४८, ०५१, ०५६, ०६४, ०७४ सालमा पनि स्वतन्त्र उठेर जितेका थिए ।

स्वतन्त्रले स्थानीय पालिका अनि संसद्मा जितेको इतिहास छ । तर, योपटकचाहिँ चाहिनेभन्दा बढी हल्ला किन भयो भने नेपालको राजधानीको काठमाडौं जस्तो ठाउँमा मेयरमा स्वतन्त्रले जितेपछि अलि बढी चर्चा भएको हो । स्वतन्त्र भन्नेहरू पनि समन्वय गरेर होइन, आफ्नै आफ्नै तालबाट उम्मेद्वार उठेका छन् । स्वतन्त्र भन्ने जुन एउटा लहर ल्याउने प्रयत्न गरिएको थियो, उनीहरू आफैँ विभाजित भएकाले उनीहरूले जित्ने सम्भावना म कम देख्छु । दुई–चार जना त पहिला पनि संसद्मा आएका थिए, अहिले पनि आउलान् ।

तपाईंले चुनाव जित्ने कारणचाहिँ गठबन्धन मात्रै कि अरू केही पनि छन् ?

हिजोका दिनमा सिंगल पार्टीबाट लडेर पनि जितेकै थिएँ । गठबन्धन भएपछि त जित्ने आधार झन् बलियो हुने नै भयो । मेरै विश्वासमा कैयौँ साथीहरू एमालेमा लागेका थिए । मेरो आन्दोलन, मेरो जेल बसाईं, मेरो व्यवहार सबै हेरेर यहाँ विरोध दाइ छ भनेर एमालेमा लाग्नेहरू थिए । अहिले एकीकृत समाजवादी मात्रै होइन एमालेका आधा मतदाता पनि मसँग छन् । गठबन्धनभित्रको कांग्रेस–माओवादीको मत पनि मलाई सहयोग भएपछि त पहिला भन्दा मैले सजिलो ढंगले अगाडि बढ्ने बाटो खुल्यो । पहिलाभन्दा थप फराकिलो तवरले चुनाव जित्छु ।

प्रतिक्रिया