काठमाडौं । भारतसंग सीमा जोडिएका नेपाली भूभागमा आसन्न निर्वाचनमा साना हतियारको डर पैदा भएको छ । खुला सीमा रहेको र भारतीय क्षेत्रमा साना हतियार सहजै पाउन सकिने भएकाले यस्तो डर पैदा भएको हो । यसको केही झलक देखिन थालिसकिएको छ ।
कात्तिक ६ गते आइतबार बेलुका नेपालगञ्जमा गोली चल्यो । नेपालगञ्ज उपमानगरपालिका–८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेपछि स्थानीय त्रसित बने। प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको थियो ।
बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहे पनि गम्भीर अनुसन्धान नै भएन । त्यो घटना त्यहि सेलायो । त्यसबाहेक नेपालगञ्ज र भारतसँग सीमाना जोडिएका क्षेत्रमा हतियारको खुल्लमखुल्ला कारोबार समेत हुने गरेको विभिन्न घटनाहरु पुष्टि गर्दै आएको छ । तर यसको नियमन र नियन्त्रणमा प्रहरी सधैं कमजोर देखिएको छ ।
सीमावर्ती शहर नेपालगञ्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च रहेको प्रहरी नै बताउने गरेको छ । तिहारको बेला भएका घटना सेलाए पनि अबको आसन्न निर्वाचनको सम्मुखमा यस्ता हतियारको कारोबार र प्रयोग बढ्ने गरेको विगतकै अनुभवहरु छन् । प्रहरीका लागि पछिल्लो पटक भएको गोली काण्डले निर्वाचन सुरक्षा जोखिम र खतरातर्फ संकेत गरेको छ ।
साना हातहतियार चोरी डकैती, हत्या तथा अन्य अपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट सहजै समूह र व्यक्तिले साना हातहतियारहरु सहजै नेपाल प्रवेश गराउँछन् । जसले सुरक्षा चुनौतीलाई चुनौती दिएको छ । बाँके प्रहरीले गत वर्ष अटोमेटिक पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको थियो ।
गत वर्षको पुसमा पनि नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकापुरबाट २६ वर्षीय पंकज कुर्मी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका थिए । त्यसको केही समय पहिले बाँकेको खजुरा स्थित एक घरमा चोरी गर्दासमेत पेस्तोल प्रयोग गरी चोरी भएको थियो । केही साताको अनुसन्धानपछि चोरीमा संग्लन दुई भारतीय नागरिक जानकी गाउँपालिकाबाट पेस्तोलसहित पक्राउ परेका थिए । यसरी साना हतियारहरु चोरी डकैती, हत्या तथा अन्य अपराधिक क्रियाकलापमा प्रयोग भैरहेको पुष्टि गर्दछ ।
खुला सिमानाका कारण र कमजोर सुरक्षा व्यवस्थापनका कारण बाँकेमा साना हातहतियारहरु सुरक्षा चुनौती बन्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘चोरी डकैती लगायतका क्रियाकलापमा साना हातहतियारको प्रयोग गरेको देखिन्छ ।’ अधिकारीको भनाई छ, ‘खुला सिमानाको फाइदा उठाउँदै साना हातहतियारको प्रयोग र ओसारपसार हुने गरेको देखिन्छ, यसले जिल्लामा सुरक्षा चुनौती सधै नै छ तर हातहतियार प्रयोग र ओसारपसार रोक्न हामी लागिरहेका छौं ।’
प्रहरी उपरिक्षक अधिकारीले निर्वाचनलाई भयरहित बनाउन त्यस्ता हतियार चलायमान हुने अवस्थालाई निगरानी गर्दै आएको बताए । बाँके जिल्लामा इजाजत लिएर हतियार राख्ने र नवीकरण गर्नेको संख्या धेरै भए पनि निर्वाचनको बेला त्यस्ता हतियारहरु प्रहरीले संकलन गर्न सकेको छैन । प्रहरीले बारम्बार सार्वजनिक सूचना निकालेर हतियार बुझाउन आग्रह गरे पनि प्रहरी एकाइमा हतियार जम्मा भएको छैन ।
आसन्न निर्वाचन शान्तिसुरक्षा व्यवस्थापनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी जिल्ला प्रशासन कार्यालयले सुरचना निकालेर घर तथा व्यक्तिसंग रहेका इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ । तर कोही कसैले पनि हतियार बुझाएका छैनन् ।
गत वैशाखमा पनि स्थानिय तह निर्वाचनका बेला १० वटा मात्र हतियार प्रहरी एकाइमा जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क अनुसार ५५५ जनाले हतियार राख्न अनुमति लिएका छन । गत आर्थिक वर्ष २०७८÷७९ मा एउटा हतियारको नामसारी भएको छ। उक्त अवधीमा १६९ वटा हतियार नवीकरण गरेको प्रशासनले तथ्यांक राखेको छ । प्रशासनले हातहतियार नवीनकरणबाट मात्रै गत आर्थिक वर्षमा पाँच लाख रुपैया राजश्व असुल गरेको छ ।
प्रतिक्रिया