उम्मेदवारलाई भोट माग्न, किसानलाई धान थन्काउने चिन्ता

फिक्कल । चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ । आसन्न मंसिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ ।

किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् ।

जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ ।

इलाम सूर्योदयका जगन्नाथ सापकोटाले भने, ‘वर्षभरिको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला की भन्ने मात्र पिर छ ।’ पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उनले भन्नुने, ‘यो साल त बेलैमा धान धित्र्याउन पाए हुन्थ्यो ।’

सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ । ‘चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जस्ले जितुन, काम कसैले गर्ने होइन क्यारे’, उनले भने । उनले विसं २०४८ बाट निरन्तर मतदान गर्दै आएका छन् । ‘म जस्ता हजारौँ किसानको दुःख जस्ताको त्यस्तै छ, उनीहरु भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै ।’

माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैँ जस्तो फलेको छैन । बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियालीले भने, ‘उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन, कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ ।’

पटक–पटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केही राहत पु¥याउन नसकेको भन्दै किसान निराश देखिन्छन् । फाकफोकथुम वडा नं ३ की प्रमिला राईको १६ मुरी धान फल्ने खेत छ । तर, मल र खेताला लगाउन नसक्दा यो पटक आधा खेत बाँझै राख्नुपर्यो ।

राईले भनिन्, ‘अर्मपर्म जान सकिदैन, साना बच्चा छन्, जसोतसो ६ गरा धान लगाएको थिएँ, अब थन्क्याउने बेला मुस्किल छ’, खेताला अभावका कारण एक्लै धान काट्ने तयारी सुनाउँदै उनले भनिन्, ‘एक हप्ता लगाएर एक्लै काट्छु भोटहाल्न जानुभन्दा त एक गरा धान पो काटिन्छ ।’

बिहान उठेदेखि साँझसम्म खेतबारीमा नङ्ग्रा खियाएर गुजारा टार्दै आएका किसानलाई निर्वाचनले छोएको छैन । ‘मङ्गलबार एकैदिन दुई हुल मानिस आएर आ–आफ्नै पार्टीको भोट मागेर गए, दिनभरिको काम गफ गरेरै बित्यो’, इलाम साँघुबेसीका हर्क मगरले भने, ‘यो गर्छौँ, त्यो गर्छौँ भोट चाहियो, आफूलाई पाकेको अन्न घर भित्र्याउन चिन्ता छ, केको घोषणापत्र ? कस्तो योजना ? वास्ता पो गरिएन ।’

इलामका अधिकांश किसान धान खेतीमा निर्भर छन् । धान र चिया नै इलामका कृषकको मुख्य खेती मानिन्छ । किसानका समस्या भने धेरै छन् । न समयमा मल पाइन्छ न त राज्यले बीविजनमा अनुदान नै दिन्छ ।

आधुनिक कृषि प्रविधिको अभाव छ । उनीहरु सामान्यताः खेतबारीमा काम गर्दा प्रयोग हुने गम्बुट, डोका, नाम्ला र बीउविजन सरकारले उपलब्ध गराए हुन्थ्यो भन्छन् । सुन्दा सामान्य लागेपनि किसानका लागि यो ठूलो अभाव हो ।

प्रतिक्रिया