डिजेबाजासहित भारतीय सवारी साधनसम्म प्रयोग

मधेशमा आचार संहिताको व्यापक उल्लंघन

लाहान । निर्बाचन आयोगले उम्मेदबारको लागि तयार पारेको आचारसंहिताको व्यापक उल्लंघन गरी तराई मधेशका जिल्लामा प्रचार प्रसार भइरहेको छ । तराई मधेशको सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा आचारसंहिता विपरित ठूला राजनीतिक दलदेखि साना राजनीतिक दलका उम्मेदबारले प्रचार प्रसार गर्दैआएका छन् ।

यस्ता जिल्लाका हरेक दलका उम्मेदबार र स्वतन्त्र उम्मेदबारले डिजे बाजागाजासहित चर्को आवाजमा प्रचार प्रसार गरेको पाइएको छ । एक उम्मेदबारले यस्तो डिजे बाजागाजासहितको ३ वटासम्म सबारी साधन प्रचारप्रसारका लागि प्रयोगमा ल्याएका छन् ।

यस्ता डिजेसहितको सबारी साधन दिनभर बजार क्षेत्रसहित ग्रामिण क्षेत्रमा उम्मेदबार र उनका कार्यकर्ताले चर्को आवाजमा डुलाउँदै आएका छन् । अधिकाँश उम्मेदबारले भोजपूरी भाषामा गीत संगितसहित आ–आफ्नो प्रचार सामग्री तयार पार्न लगाएका छन् । यस्तो प्रचार सामग्री उम्मेदबारले डिजेसहितको सबारी साधनमार्फत दिनभर बजाउन लगाउँदै आएका छन् ।

उम्मेदबार र कार्यकर्ता कतिसम्म समवेदनाहीन भएको पाइएको छ भने अस्पताल क्षेत्र र बिद्यालय क्षेत्रमा पनि यस्तै चर्को आवाजमा यस्तो भडकिलो प्रचार सामग्रीको प्रयोग गरेका छन् । अस्पतालका बिरामी र बिद्यालयका बालबालिकालाई चर्को आवाजले नराम्रो असर पु¥याए पनि स्थानीय निर्बाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले यस्तो प्रकारको प्रचार सामग्रीमा रोक लगाउन कुनै चासो देखाएको छैन् ।

‘अस्पताल नजिकै दिनभरमा दर्जनौपटक यस्तो चर्को आवाजमा प्रसार प्रसार गर्दा उक्त चर्को आवाज सुन्न नसकेर बिरामीलाई निक्कै मानसिक तनाव भएको छ,’ प्रादेशिक अस्पताल सिराहाका एक चिकित्सक भन्छन, ‘यो बिषयमा उम्मेदबार आफै पनि बिचार पु¥याउनुपर्छ । स्थानीय प्रशासन र निर्बाचन कार्यालयले पनि अनुगमन नगर्दा समस्या निम्तिएको हो ।’

उम्मेदबारको प्रचार प्रसार गर्ने शैली यतिमै सिमित छैन् । उम्मेदबारहरुले बजार, प्रमुख राजमार्ग, सहायक राजमार्ग र ग्रामिण भेगमा सञ्चालन भइरहेका सार्वजनिक टेम्पु, म्याजिक, विंगर, बस, ट्रकलगायतमा पनि पर्चा, पम्पलेट, फ्लेक्स प्रिन्टलगायत आफ्नो प्रचार सामग्री झुण्डयाएर त्यस्ता सबारी साधनलाई कुरुप मात्रै बनाएका छैनन्, बरु सर्वसाधारण यात्रुलाई समेत मानसिक रुपमा पीडा दिने काम भएको छ ।

तराई मधेशका प्रायःजसो सबै जिल्लाको बजार क्षेत्रमा रहेका पसल, चोक, पार्क, बिजुलीको पोलमा आ–आफ्नो प्रचार प्रसार सामग्री राखेर बजार नै कुरुप बनाएका छन् । प्रचारको शैली यतिमै सिमित छैन, कतिपय दलका उम्मेदबारले महिलाले लगाउने फरिया(साडी) मै आफ्नो पार्टीको नाम र मत चिन्ह छपाएर त्यस्ता साडी महिलाहरुलाई बाँडेका छन भने कतिले तराई मधेशमा सुरु भएको जाडोयामको मौका छोपेर सिरक, डस्ना र लुगाफाटोसमेत बितरण गर्न थालेका छन् ।

आचार संहिता विपरित प्रचार प्रसार भइरहेको बिषयलाई सिराहा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदबारी दिएका रामरिझन यादबले पत्रकार सम्मेलन नै गरि उठान गरेका छन् । यादबले व्यापक रुपमा आचार संहिता उल्लंघन भइरहँदा स्थानीय सम्बन्धित निकाय मौन बसेको आरोप लगाएका छन् ।

उनले सदरमुकाम, जिल्लाका मुख्य बजार तथा ग्रामिण क्षेत्रमा उम्मेदबार र दलहरुले आचारसंहिताको धज्जी उडाएको आरोप लगाए ।

‘अहिलेको निर्वाचनमा जुनखालको प्रवृति देखिएको छ, त्यसलाई समयमै रोक्न नसक्ने हो भने यसले गुण्डा राज निम्त्याउँछ,’ उनले भने,‘प्रचार गर्ने शैलि, अत्यधिक र भारतीय नम्बर प्लेटको गाडीको प्रयोग, अनियन्त्रिक पैसाखर्च जस्ता आचारसंहिताको उल्लंघन गर्नुले प्रजातन्त्रका संरक्षक दलहरु तथा केही स्वतन्त्र उम्मेदवारले आफ्नो खुट्टामा आफैले बञ्चरो हानी रहेका छन् ।’ यादबले यो बिषयमा स्थानीय जिल्ला प्रशासन कार्यालय र निर्बाचन कार्यालयमा लिखित रुपमा निवेदन दिएपनि कुनै सुनुवाई नभएको बताएका छन् ।

यस्ता जिल्लामा कतिसम्म पाइएको छ भने हालै सम्पन्न भएको नगरपालिका र गाउँपालिकाको निर्बाचनमा बिजयी भएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरुले आफु सरोकार राख्ने दलको उम्मेदबारको ¥याली, आमसभा र घरदैलो कार्यक्रममा खुलेर सहभागी हुँदै आएका छन् ।

जिल्ला निर्बाचन कार्यालय सप्तरीले भने सचेत गराउँदा गराउँदै पनि उम्मेदबारहरुले आचार संहिता विपरित प्रचार प्रसार गर्न नछाडेको जानकारी गराएको छ । कार्यालयका मुख्य निर्बाचन अधिकृत हेमन्त रावले ३ पटकसम्म सर्वदलिय बैठक राखेर उम्मेदबार र दलहरुको ध्यानाकर्षण गराउँदा पनि आचार संहिताको उल्लंघन हुन नछाडेको जानकारी दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निर्बाचनको आचार संहिता उल्लंघन गर्नेलाई ध्यानाकर्षण गराउने, स्पष्टिकरण सोध्ने र केही सीप नलागे उम्मेदबारी नै रद्ध गर्न सक्ने व्यवस्था गरेको बताए ।
यी जिल्लाहरुमा उम्मेदबारहरुले आयोजना गर्ने घरदैलो, आमसभालगायतका कार्यक्रममा प्रचारप्रसारको लागि बालबालिकाको समेत व्यापार रुपमा प्रयोग गरिएको छ । एक पक्षले अर्को पक्षलाई सार्वजनिक स्थल र समाजिक सञ्जालमार्फत अमर्यादित टिका टिप्पणीसमेत गरिएको पाइएको छ ।

यस बाहेक तराई मधेशका जिल्लामा च्याउजस्तै सञ्चालनमा आएको एफएम रेडियोबाट पनि व्यक्ति बिशेष उम्मेदबारको प्रचार प्रसार पनि मज्जाले घन्काएको छ । यस्ता एमएमहरुमा पनि कुनै न कुनै राजनीतिक दलसम्बद्ध व्यक्ति बिशेषको लगानी भएकाले सोही दलको उम्मेदबारको प्रचार प्रचारका सामग्रीलाई प्राथमिकता दिइएको पाइएको छ ।

निर्बाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले डिजेसहित सबारी साधनको प्रयोग गरि प्रचार प्रसार गर्न नपाइने जानकारी दिए । आचार संहिताविपरित यो वेला लुगाफाटो बितरण, सबारी साधन र बजारभर प्रचारप्रसार सामग्री झुण्डयाउन पाइदैंन् ।
‘निर्बाचन आचारसंहिता विपरित यस्ता कुनै पनि प्रकारको गतिविधी गर्न पाइन्न्,’ प्रवक्ता पौडेललले सौर्य दैनिकसँग भने,‘त्यस्तो भएको पाइएको छ भने स्थानीय निर्बाचन कार्यालयमा निवेदन हाल्नुस् । कार्यालयले त्यस्ता गतिविधीलाई नियन्त्रण गर्नेछ ।’

खुलेआम भारतीय गाडीको प्रयोग

निर्बाचन आयोगले निर्बाचन अवधीभर भारतीय नम्बरको सबारी साधन प्रयोग गर्न बन्धेज लगाएको छ । तर मधेश प्रदेशका सबै जिल्लाका उम्मेदबारले प्रचार प्रसारका लागि भारतीय नम्बर प्लेटकै सबारी साधन प्रयोगमा ल्याएका छन् । त्यो पनि एक दुई होइन्, एक उम्मेदबारले ५ वटासम्म र उम्मेदबारका आफन्तले पनि ४–५ वटासम्म भारतीय नम्बर प्लेटको स्कोरपियो जीप ल्याएर प्रचार प्रसारमा प्रयोग गरेका छन् ।

निर्बाचन आयोगका प्रवक्ता पौडेलले भने निर्बाचन प्रचार प्रसारको प्रयोजनमा भारतीय नम्बर प्लेटको सबारी साधनको प्रयोगमा पूर्ण रुपमा वन्धेज लगाइएको जानकारी दिए ।


स्थानीय जिल्ला प्रहरी कार्यालय, जिल्ला निर्बाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई जानकारी हुँदा पनि यस्तो सबारी साधनको प्रयोगमा बन्धेज लगाउने कुनै चासो नदिएको जनकपुरका रामसरोश मिश्रले जानकारी दिए ।
निर्बाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनलाई सवारी साधन प्रयोगको हकमा मापदण्ड निर्धारण गरेको छ । आचारसंहिता अनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन प्रचार–प्रसारका लागि प्रयोग हुने गाडीको संख्यासमेत निर्धारण गरेको छ ।

यसरी प्रचार प्रसारका लागि प्रयोग हुने गाडीबारे निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने व्यवस्था आचार संहिताले गरेको छ । निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।
भारतीय नम्बरको सबारी साधनलाई भने पूर्ण रुपमा निषेध गरेको छ । तर यो व्यवस्था आचारसंहितामा मात्रै लेखिएको छ । व्यवहारमा कार्यान्वयन गरिएको भने कतै पाइएको छैन् ।

नेपाली नम्बर प्लेटको जीप पर्याप्त संख्यामा नपाइने र पाइएपनि निक्कै खर्चिलो र महँगो भएर धान्न नसक्ने भएकाले उम्मेदबार र तिनका आफन्त भारतीय सबारी साधन ल्याएर प्रयोगमा ल्याएका हुन् । तुलनात्मक रुपमा भारतीय सबारी साधनको भाडा निक्कै सस्तो हुने र इन्धन पनि सकेसम्म भारतीय क्षेत्रबाटै ल्याउने भएकाले सस्तो भएर बढी प्रयोगमा आएको जनकपुरका एक स्वतन्त्र उम्मेदबारले बताए ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता नायब प्रहरी उपरिक्षक सुझाव बुढाथोकीले निर्बाचन प्रचार प्रसारका लागि प्रयोगमा ल्याएको १५ वटा भारतीय नम्बर प्लेटको सबारी साधनबाट प्रचार सामग्री हटाएर त्यस्ता उम्मेदबारलाई सचेत गराइएको जानकारी दिए ।

यस्तै धनुषामा पनि दुई दर्जनभन्दा बढी भारतीय नम्बर प्लेटको सबारी साधन नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका नायव प्रहरी उपरिक्षक दीपक क्ष्ोत्रीले जानकारी दिए ।

प्रतिक्रिया