बाँके । जिल्लाको कोहलपुर नगरपालिका–११ स्थित डुडुवा नाला नजिकै किरिया पुत्री भवन निर्माण भइरहेको छ । हालसम्म मृत्यु संस्कारका लागि कुनै पनि सुरक्षित क्षेत्र नभएको कोहलपुरमा अत्याधुनिक भवन निर्माण भइरहेको छ । कोहलपुर नगर विकास समितिको लगानीमा ठेक्का प्रक्रियामार्फत किरियापुत्री भवन निर्माण भइरहेको छ । कुल ७७ लाख लागत रहेको उक्त भवनको जय गणेश निर्माण सेवाले ५५ लाख निर्माण जिम्मा लिएको छ ।
भवन निर्माणको काम गत भदौ महिनादेखि सुरु भएको हो । फागुन मसान्तसम्म निर्माण समयावधि रहेको उक्त भवनको अहिले निर्माण कार्य भइरहेको छ । निर्माण व्यवसायी नैनबहादुर वलीले गत भदौदेखि निर्माण कार्य सुरु गरिएको बताए ।
उनका अनुसार दसैँ, तिहारको समयमा अत्यधिक वर्षाका कारण काम छिटो हुन सकेन । अहिले भने भवनको पहिलो तलाको काम सुरु भएको उनले बताए । दुई तले भवन र एउटा शौचालय निर्माणको जिम्मा आफूले लिएको उनको भनाइ छ । ‘काम सुरु भइसकेको छ । अहिले दुर्तगतिमा काम भइरहेको छ । समय मै सम्पन्न गर्ने गरेर हामी लागि परेका छौँ’, उनले भने ।
उक्त क्षेत्रमा एउटा अर्को किरियापुत्री भवन निर्माण सम्पन्न भइसकेको छ । कोहलपुर नगरपालिकाका निवर्तमान प्रमुख लूटबहादुर रावतले शिलान्यास गरेका थिए । किरिया प्रक्रियाका लागि एउटा भवन त्यहाँ निर्माण सम्पन्न भएको छ । उक्त भवन किरियापुत्री भवन निर्माण समिति र ब्रह्माण समाज कोहलपुर नगर कमिटीले निर्माण गरेका हुन् । यस भवनको कुल लागत १० लाख रहेको समाजका सचिव बालाराम खनालले बताए । उक्त भवन पनि कोहलपुर नगर विकास समितिको संरक्षणमा रहनेछ । समाजले त्यसको व्यवस्थापन गर्ने उनले बताए ।
उक्त भवन निर्माणका लागि लूटबहादुर रावत प्रमुख रहेको बेला गत आर्थिक वर्षमा नगरपालिकाबाट ७ लाख ६५ हजार रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए । बाँकी तीन लाख रुपैयाँ समाजले चन्दा र दान प्रक्रियाबाट जुटाएर भवन निर्माण गरेको उनले बताएका हुन् । ‘एउटा भवन हामीले निर्माण गरिसकेका छौँ । फेरि पनि सुविधा सम्पन्न भवन निर्माणको लागि आग्रह गरेका थियौँ’, उनले भने ।
नगर विकास समितिले आफ्नै इन्जिनियर प्रयोग गरेर ठेक्कामार्फत नयाँ भवन निर्माण गरिरहेको छ । अब कोहलपुरवासीलाई सहज हुने अपेक्षा गरेका छौँ’, सचिव खनालले भने । कोहलपुर अहिलेसम्म आफ्नै दाहसंस्कार गर्ने स्थल छैन । यहाँ मानिस मर्दा राप्ती सोनारीको अगैया जानुपर्ने समस्या छ ।
नेपालगन्ज
प्रतिक्रिया