सप्तरीमा तीन ‘हेभिवेट’ बीच रोचक भिडन्त

चमत्कार भए सिके, नभए उपेन्द्र र जयप्रकाशबीच प्रतिष्पर्धा

सप्तरी । देशभरकै निर्वाचन क्षेत्रमध्ये रोचक र संवेदनशील क्षेत्रमा पर्छ, सप्तरीको क्षेत्र नम्बर २ । हुन पनि यो क्षेत्रबाट मधेसका तीन ठूला नेताले उम्मेदवारी दिएका छन् । यसमध्ये दुई जना पार्टीको अध्यक्ष नै छन् । अर्का स्थानीय पुराना नेता छन् ।
क्षेत्र नम्बर २ बाट मधेस आन्दोलनबाट चर्चित नेता बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका छन् । यस्तै यो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का स्थानीय नेता जयप्रकाश ठाकुर सत्ता गठबन्धनको उम्मेदवार छन् ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले पनि सोही क्षेत्रबाट उम्मेद्वारी दिएका छन् । राउत भने गठबन्धन बिनाका उम्मेदवार हुन् । विगतमा स्वतन्त्र मधेस गठबन्धनको केन्द्रीय संयोजक रहेर स्वतन्त्र मधेस अभियान सञ्चालन गरेका सिके राउत ०७५ फागुन २४ गते तत्कालीन केपी ओली सरकारसँग ११ बुँदे सहमति पश्चात् नेपालको मूलधारको राजनीतिमा फर्केका थिए ।

स्वतन्त्र मधेस अभियान सञ्चालन गरेर राउत चर्चाको शिखरमा पुगेका थिए । यो अभियानका कारण तत्कालीन समयमा सरकारले उनलाई राज्यविरुद्ध संगठित अपराध गरेको अभियोगमा पटकपटक पक्राउ गरी मुद्दा चलाएको थियो । केही समय उनले बन्दी जीवनसमेत बिताएका थिए ।

समग्रमा भन्दा सप्तरी २ मा अन्तिम समयमा आश्चर्यजनक चमत्कार भयो भने सिके राउत पनि अगाडि आउन सक्छन् तर त्यसो हुन नसके अहिलेसम्म उपेन्द्र यादव र जयप्रकाश ठाकुरबीच कडा प्रतिष्पर्धा हुनेछ ।


‘स्वतन्त्र मधेस गठबन्धन’ मार्फत् मधेसमा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएका सिके राउत बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले स्वतन्त्र मधेसको अभियान चलाएका थिए । नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए ।

राउत युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्डजस्ता सम्मानबाट विभूषित भइसकेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि यी तीन ‘हेभिवेट’ बीच कडा रोचक भिडन्त हुने हुँदा देशभरकै विशेष ध्यान सप्तरीको २ नम्बर क्षेत्रले आकृष्ट गरेको छ ।

सिके राउतको घर पनि यही क्षेत्रको महादेवा गाउँपालिका–२ मा पर्छ । स्थानीय जनजीविकाका विषय, भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रण, सुशासन, राजनीतिकरूपमा स्वायत्तताको एजेन्डा बोकेर सिके राउत निर्वाचनमा होमिएका छन् । सिके राउत कुनै गठबन्धनविनाका उम्मेदवार भए पनि एमाले– जसपा गठबन्धनका उम्मेद्वार यादब र सत्ता गठबन्धनका ठाकुरका अगाडि कम आँक्न नमिल्ने सप्तरीवासीको भनाइ छ । राजविराज–१ का सरोज यादव भन्छन, ‘हिन्दीमा एउटा भनाइ छ, शेर एक्लै सिकार गर्छन्, झुण्डमा त स्यालले मात्रै सिकार गर्छन् ।’ सिके राउत आफ्नै बलबुतामा एक्लो उम्मेद्वारी दिएको यादवको टिप्पणी छ ।

यादवका अनुसार सप्तरी जिल्लाको बौद्धिक जमात सिके राउतको पक्षमा छन् । बाहिर जे जस्तो हल्ला भए नि उक्त क्षेत्रमा उपेन्द्र यादव र सिके राउतबीच कडा प्रतिस्पर्धा रहेको उनको दाबी छ । जानकारहरूका अनुसार उपेन्द्र यादव र सिके राउतबीच ठूलो प्रतिस्पर्धाको कुरा उठिरहे पनि अन्तिम प्रतिस्पर्धा भने उपेन्द्र यादव र जयप्रकाश ठाकुरबीच हुने निश्चित जस्तै छ । किनभने ति दुवैजना उम्मेदवार बलियो गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन् ।

निर्वाचनमा जित हासिल गर्न बौद्धिक जमातको मात्रै भएर हुँदैन । अन्तिमतिर छेलोखेलो पैसा, जातीय समीकरण, जनाधार समर्थन र स्थानीय सुरक्षा निकायमा पहुँचको आधारमा हुन्छ, जुन पछिल्लो समयमा सिके राउतको पक्षमा त्यति बलियो देखापरेको छैन । सिके राउत आफैँ बौद्धिक जमातको मानिन्छन् । तर, तराई मधेसमा शिक्षित वर्गको प्रतिशत झण्डै ५० प्रतिशतको हाराहारीमा मात्रै छन् । अशिक्षाकै कारण निर्वाचनको अन्तिम समयमा पैसाको चलखेलको बलमा अप्रत्यासित परिणाम आउने विगतहरूका निर्वाचनहरूले देखाएका छन् ।

समाजिक सञ्जालमार्फत सिके राउतको पक्षमा ठूलो समर्थन देखिए पनि फिल्डमा भने त्यो अनुसारको लोकप्रियता देखिएको छैन् । स्थानीय तह निर्वाचनभन्दा केही महिना अघिसम्म सर्वसाधारणको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने रासायनिक मल, भ्रष्टाचार नियन्त्रण लगायतको सबालमा तराई मधेसका जिल्लामा आन्दोलन गरेर अन्य मधेसवादी दललाई प्रभावित गर्न सिके राउतको पार्टी सफल भएको थियो ।

त्यो बेलाको ‘सेन्टिमेन्ट’ ले अहिलेको निर्बाचनमा कतिको प्रभाव पार्न सक्छ, त्यो हेर्न बाँकी छ । सिके राउतको पार्टीमा साढे पाँच लाख संगठित सदस्य रहेको दावी गरिए पनि यो पार्टीले स्थानीय तहको निर्वाचनमा देशभर ८५ हजार मत प्राप्त गरेको थियो । मूल राजनीतिक धारमा आएका सिके राउत पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका हुन् । उनी हालसम्म ‘अनटेस्ट खेलाडी’ को रूपमा देखिएका छन् भने उपेन्द्र यादव पटकपटक ‘टेस्ट’ भइसकेका नेता हुन् । जयप्रकाश ठाकुर भने अहिलेसम्म जित हासिल गरेका छैनन् ।

अहिले विभिन्न तप्का, भेग र क्षेत्रबाट टेस्ट भइसकेका नेतालाई मत नदिने अभियान चलिरहँदा यसले उपेन्द्र यादवलगायत अन्य पुराना नेतालाई केही हानि गर्न सक्ने स्थानीयवासीहरू बताउँछन् । अर्कोतर्फ सिके राउतको तुलनामा उपेन्द्र यादव सधैँ केन्द्रीय सत्ता र प्रदेश सत्तामा बसेकाले उनको प्रभाव निक्कै देखिएको छ । अर्कोतर्फ उनी यादव समुदायबाट प्रतिनिधित्व गर्छन् । यो समुदायबाट उक्त क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचनमा उनी एक मात्र उम्मेद्वार भएकाले त्यसको प्रत्यक्ष फाइदा पनि यादवलाई पुग्ने राजविराजका सुरेश उपाध्यायले बताए ।

यसबाहेक उक्त क्षेत्रबाट प्रदेशसभामा उम्मेद्वारी दिएका नेकपा माओवादीका उमेश यादवले पनि जातिय समिकरणको हिसावले माओवादी खेमाको मतसमेत उपेन्द्र यादवलाई दिलाउन भित्री तयारी गरेकाले उपेन्द्र यादवको पक्ष निक्कै बलियो बन्दै गएको स्थानीय विश्लेषकहरूको दाबी छ ।
क्षेत्र नम्बर २ मा यादव समुदायको करिब १८ हजार मत छ । एमाले–जसपा गठबन्धनबाट उम्मेद्वार बनेका उपेन्द्रलाई व्यक्तिगत सम्पर्कका कारण एमालेसहित अन्य दलको पनि राम्रै मत झर्न सक्ने आँकलन गरिएको छ ।

उक्त क्षेत्रमा बलियो उम्मेद्वारको रूपमा हेरिएका उपेन्द्र यादवप्रति स्थानीयवासीको गुनासो पनि त्यतिकै छ । जितेपछि खासै काम गर्न नसकेको उनीमाथि एकातिर गुनासो पनि त्यतिकै छ । केन्द्रीय सरकारमा पटकपटक मन्त्रीसहित प्रदेश सरकारको नेतृत्व गरेको जसपाको राष्ट्रिय अध्यक्ष भएर पनि यादवले समग्र मधेस प्रदेशको प्रमुख बिकासे मुद्दाको सवालमा खासै काम गर्न नसकेको ठूलो आरोप छ । यो विषयमा पूर्वमन्त्री तथा मधेस जानकार जयप्रकाश गुप्ता आनन्दले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । अन्य प्रदेशको तुलनामा विकासका सम्पूर्ण सूचकांकको आधारमा सबैभन्दा कमजोर मधेस प्रदेश रहेको उनको भनाइ छ ।

‘मधेस प्रदेशको स्थिति मात्र खराब छ भन्ने होइन । तर, मधेस प्रदेश तुलनात्मक रूपमा बढी खराब देखिन्छ, संघीयता लागू भएपछि के सुधार भयो त ?,’ सामाजिक सञ्जालमा प्रश्न गर्दै उनले भनेका छन, ‘बहुआयामिक गरिबी, जर्जर बनेको शैक्षिक र स्वास्थ्य, कुपोषण, बेरोजगारी, औद्योगिक क्षेत्र र भौतिक पूर्वाधारको तथ्यांकमा पुरानो अवस्थाको योगदान कति छ र उपेन्द्र यादवहरूले कति सुधार गरे ? सुधारमा उनको योगदान कति छ ? किन नसोध्ने उपेन्द्रहरूसँग ?’

गुप्ताले जसपा अध्यक्ष यादव लामो समयसम्म मन्त्री पदमा आसिन रहेको र बलियो बजेटसहित प्रदेश सरकार सञ्चालन गरे पनि अन्य प्रदेशको तुलनमा मधेस प्रदेश किन निक्कै पछि परेको भन्दै प्रश्न गरेका छन् । यादवले नेतृत्व गरेको जसपा पार्टी मधेसमा सम्पूर्ण अवधी राज गरेको बताउँदै गुप्ताले उक्त पार्टीले मधेसको विकासमा के कति योगदान दिन सक्यो भनेर प्रश्न सोध्न युवापुस्तालाई आग्रहसमेत गरेका छन् । ‘अहिले समृद्धि तथा विकासको नारा दिइएको छ । हिजो कति गर्न सक्यौँ र आज कति बिश्वास गर्ने ? यो प्रश्न खडा भएको छ’, उनले भनेका छन् ।

उनकाअनुसार मधेस प्रदेशमा २७ दशमलव ७ प्रतिशत मानिस गरिबीको चपेटामा छन् । स्वतन्त्र विज्ञहरूले यो दर ३५ प्रतिशतभन्दा माथि रहेको औल्याएको छन् । यो प्रदेशमा बहुआयामिक गरिबीको मापदण्डमा मुलुकभरमै उच्च छ । ७७ जिल्लामध्ये यो प्रदेशका आठ जिल्लाका बहुआयामिक गरिबहरूको संख्या ३५ प्रतिशत छ । यो प्रदेशमा स्कुल जाने उमेरमध्ये ५० प्रतिशत बालबालिका मात्रै स्कुलमा भर्नासम्म हुन्छन् । कुपोषणको सिकार जनसंख्याको आधारमा कर्णाली प्रदेशपछि दोस्रोमा मधेस प्रदेश छ ।

यो प्रदेशमा १५–४९ उमेर समूहका महिलामध्ये ५८ प्रतिशत महिला एनिमीयाबाट पीडित र ३६ दशमलव ८ प्रतिशत नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन । यो प्रदेशबाट २४ दशमलव २० प्रतिशत युवा श्रम बेच्न बाहिरिने बताउँदै गुप्ताले मधेस प्रदेशको आर्थिक बिकास दर पनि २ दशमलव ३ प्रतिशत मात्रै रहेको जानकारी दिए ।

युवा साक्षरताको तुलना गर्दा मधेस प्रदेशमा मुलुकमै सबैभन्दा कम ६३ प्रतिशत मात्रै छ । गण्डकी प्रदेशमा भने युवा साक्षरताको प्रतिशत ९५ प्रतिशत छ । ५४ लाख जनसंख्यामा १३ वटा सरकारी अस्पताल रहेको भन्दै गुप्ताले अबको निर्वाचनमा गुण र दोषको आधारमा सही उम्मेदवार छानेर मात्रै मतदान गर्न आग्रह गरेका छन् ।

उपेन्द्र यादव विगतको निर्बाचनमा सोही क्षेत्रबाट जित हात पारेका थिए । ०७४ सालको निर्वाचनमा उपेन्द्र यादवले राजपासँग गठबन्धन गरी संघीय समाजवादी पार्टीबाट उम्मेद्वार भएर जितेका थिए । उनले २१ हजार ६ सय २० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) गठबन्धनका माओवादीका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । यस्तै राजपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेका थिए ।

स्थानीय तहको मत परिणामअनुसार सत्ता गठबन्धनका उम्मेद्वार ठाकुरसँग ३६ हजार ९ सय ९२ मत छन् भने जसपा–एमाले गठबन्धनका उम्मेद्वार उपेन्द्र यादवसँग १९ हजार २ सय ७१ मत मात्रै छ । दुईबीच १७ हजार बढी मतको अन्तर छ । सप्तरी–२ मा ९५ हजार ३ सय ९४ मतदाता छन् । १५ हजार मत यादव समुदायको छ भने २३ हजार मत मुस्लिम समुदायको छ । यी दुवै समुदायमाथि उपेन्द्र यादवको पकड रहेको बताइएको छ । मधेसको चुनावमा जातीय फ्याक्टर महत्वपूर्ण मानिन्छ । अन्तिम समयमा जातीय समीकरणको मुद्दा बोकेर उपेन्द्र यादव सहज रूपमा जित हासिल गर्न सक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

तर, उपेन्द्र यादवलाई जित हात पार्न त्यति सहज भने छैन । एकातिर सिके राउतको चर्चा परिचर्चा छ भने अर्कोतर्फ सत्ता गठबन्धनको उम्मेद्वार जयप्रकाश ठाकुर पनि त्यतिकै बलियो उम्मेद्वारको रूपमा अगाडि आएका छन् । यसले गर्दा उपेन्द्र यादवलाई कठिनाइ हुन सक्छ । लामो समयसम्म केन्द्रीय सरकारमा प्रतिनिधित्व र प्रदेश सरकारको नेतृत्व गरेको जसपा पछिल्लो समयमा विभिन्न भ्रष्टाचारमा समेत मुछिएकोले यादवलाई प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन ।

अर्कोतर्फ विगतमा एमालेलाई प्रतिगमनको संज्ञा दिएर उक्त पार्टीविरुद्ध आन्दोलन गर्नु र अहिले सोही पार्टीसँग गठबन्धन गर्नुले पनि तल्लो स्तरमा पार्टीको धेरै हदसम्म शाख पनि गिराएको स्थानीयबासिन्दाको भनाइ छ । समग्रमा भन्दा सप्तरी २ मा अन्तिम समयमा आश्चर्यजनक चमत्कार भयो भने सिके राउत पनि अगाडि आउन सक्छन् तर त्यसो हुन नसके अहिलेसम्म उपेन्द्र यादव र जयप्रकाश ठाकुरबीच कडा प्रतिस्पर्धा हुनेछ ।

सप्तरीको क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनबाट कांग्रेसका रामदेव साह तेलीले उम्मेदवारी दिएका छन् । उनको विपक्षमा एमाले–जसपा गठबन्धनबाट जसपाका नवलकिशोर साह सुडी उम्मेद्वार छन् । स्वतन्त्रतर्फ डा.रोहितकुमार पोखरेललगायतले उम्मेद्वारी दिएका छन् । यो क्षेत्रमा जसपाको पकड राम्रो रहेको बताइएको छ ।

यस्तै सप्तरीको क्षेत्र नम्बर ३ मा एमाले–जसपा गठबन्धनबाट एमालेका ताराकान्त चौधरीले उम्मेद्वारी दिएका छन् । उनको विपक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका पुराना नेता दिनेश यादवले उम्मेद्वार छन् । यो क्षेत्रमा सत्ता गठबन्धनको दिनेश यादव बलियो उम्मेद्वार देखिएको स्थानीय बासिन्दाको आँकलन छ । त्यस्तै क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट कांग्रेसका तेजुलाल चौधरी, एमाले–जसपा गठबन्धनबाट जसपाका बालकिशोर यादवसहित स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका छन् । स्थानीयबासिन्दाका अनुसार यो क्षेत्रमा जसपाका बालकिशोर यादव बलियो मानिन्छन् ।

प्रतिक्रिया