दाङ । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । गए राति ११ बजेतिर भएको दुर्घटनामा परी सन्धिखर्क नगरपालिका–१ का २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार उनीहरू दुवैजना २–०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए ।
यस्तै, बा२५प ८८७६ नम्बरको मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । घाइते हुनेमा सन्धिखर्क–२ का ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली छन् । दुवै घाइतेको बुटवलस्थित मर्सिटी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
सन्धिखर्क–१०, शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको धावनमार्गबाट दुई मोटरसाइकल झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका मोटरसाइकल रातिमा बाटो बिराएर खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया