मौलिक परिकार पाक्नै छाड्यो

खजुरा । तिहारलाई विशेष परिकारको पर्व भन्ने गरिन्छ । चाडपर्वको समयमा सहर बजारमा गाउँघरको जस्तो मौलिक परिकार पाक्नै छोडिसकेका छन् । परिकार बनाउने सीप भएका महिलाले तिहार अघि नै परिकार बनाएर बेच्न थालेका छन् ।

फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा, खुर्मालगायतका तिहार विशेष परिकार सहजै बजारमा किन्न पाउने भएपछि कामकाजी महिलालाई परिकार बनाउने झन्झट हटेको छ, भने सीप र जागर भएका महिलाले आयआर्जन गर्ने मौका पाएका छन् ।

नेपालगञ्जस्थित सफल बहुउद्देशीय सहकारी संस्थाकी सरस्वती सुवेदीलाई यतिबेला तिहार विशेष सामग्री बेच्न भ्याइनभ्याइ छ । ३२ सदस्य रहेको सहकारीले बचत र सदस्यहरुमै ऋण लगानी गर्दै आएको छ ।

विगत एक वर्षदेखि सञ्चालनमा रहेको सहकारी यसैवर्ष दर्ता भयो । पहिलो पटक संस्थामार्फत तिहारका लागि भाइमसला, चामलको साटो र पिठो बिक्री भइरहेको छ ।

नरिवल, ओखरलगायतका १७ सामग्री मिसाएको भाइमसला रु एक सय ५० देखि रु एक हजार ५० सम्म बिक्री भइरहेको छ । सधैँ बजारमा गएर तिहार विशेष सामग्री किन्ने संस्थाका सदस्य यसपटक घरमै तयार गरेर बिक्री गरिरहेका छन् । सामग्री धमाधम बिक्री हुन थालेपछि यो काममा उत्साह थपिएको उनको भनाइ छ ।

उनी जस्तै नेपालगञ्जका सीप र जाँगर भएका अन्य महिलाले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर तिहार विशेष परिकार बिक्री गरिरहेका छन् ।

यस्ता महिलाको उत्पादनलाई बजारीकरण गर्न महिला उद्यमी संघ बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले सघाउँदै आएको महिला उद्यमी संघ बाँकेकी महासचिव सुनिता पाण्डेले बताइन् ।

नेपालगञ्जमा विगत पाँच वर्षदेखि कोसेली घरले महिला उद्यमीले उत्पादन गरेका विभिन्न मौलिक सामग्री बजारीकरणमा सघाउ पुर्याउँदै आएको छ । यसपटक पनि फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा खुर्मालगायतका तिहार विशेष परिकार बिक्रीमा राखिएको छ ।

चाडवाडमा अधिकांशको घरमा यी परिकार अनिवार्यरुपमा पाक्ने गर्छन् । तिहार परिकारको पर्व पनि हो । तर, कामकाजी महिलालाई कामबाट फुर्सदलिएर परिकार बनाउनुपर्ने झण्झट रहेकोमा तयारी परिकार नै किन्न पाइने भएपछि सहज भएको भेरी नर्सिङ कलेजकी सञ्चालक रेवती सिंहले बताइन् ।

उनी जस्तै नेपालगञ्जकी महिला नेत्री नितु चन्दलाई पनि घरकै स्वादमा तयारी परिकार पाउन थालेपछि सहज भएको बताउँछिन् । कामकाजी महिलालाई तयारी परिकारले एकातिर सहजता थपिएको छ, भने अर्कोतिर चाडवाडमा हातमा सीप भएका गृहिणी महिलाले रोजगारी समेत पाउन थालेका छन् ।

गतवर्ष कोशेली घरमार्फत करिब रु ४० हजार बराबरको परिकार विक्री भएको महिला उद्यमी संघ बाँकेकी उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिइन् । परिकार खेर जान नदिन कोशेली घरले माग अनुसार महिलाहरुलाई उत्पादनको काम दिने गरेको छ । गत वर्ष २ महिलालाई तिहार विशेष परिकार विक्रीका लागि जिम्मा दिएकोमा यस वर्ष माग बढेपछि १० जनाले यो काम पाएको उनको भनाई छ ।

चाडपर्वमा पाक्ने मौलिक परिकार केहि समय यता शहरमा देखिन छोडिसकेका थिए । सिप भएका महिलाहरुले व्यवसायका रुपमा गर्न थालेपछि विभिन्न समुदायका मौलिक परिकारबारे नयाँ पुस्ताले जान्ने अवसर पाएका छन् भने महिलाका आयआर्जनमा थप टेवा पुगेको छ ।

प्रतिक्रिया