प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेपछि पनि दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको बताइएको छ । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरूलाई अनुमतिपत्र दिनेलगायतका निर्णय गरेको समाचार प्रकाशित भएसँगै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यसैगरी काठमाडौ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पुकार बमलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्नेक्रममा आफु र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टिशर्ट लगाएको सामाजिक सञ्जालमार्फत आयोगमा उजुरी आएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

‘तपाइँले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिशर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याईँ गर्ने आधार र कारण के छ ?,’ बमलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।

निर्वाचन आचारसंहिता—२०७९ को दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भोला गर्दा पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (घ) मा ‘जुलुश वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिशर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने प्रावधान छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ ‘तपाइँबाट जानाजान रुपमा उक्त कार्य भएको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन—२०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयम् उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला ।’ अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा पनि पत्रमा उल्लेख गरिएको छ ।

यसअघि आयोगले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दैस्पष्टीकरण सोधेको थियो ।

केही दिनअघि युट्युबमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘किसान श्रेष्ठके चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियोमार्फत बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा र फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको भन्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

थापाले भने सूर्यविनायक नगरपालिका वडा नम्बर २, ३, ४ र ६ का विभिन्न चोकमा झण्डा, तुल ब्यानरसहितका प्रचार सामग्री टाँगेको भन्दै आयोगले आफै वा प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

प्रतिक्रिया