बाढी प्रभावित बस्तीमा स्वास्थ्य समस्या

नेपालगञ्ज । बाँकेमा वर्षाका कारण प्रभावित भएका बस्तीहरूमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थालेका छन् । लगातार परेको वर्षाका कारण प्रभावित भएका क्षेत्रहरूमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी देखिन थालेका हुन् । बेमौषमी वर्षाका कारण बाँकेका आठ वटै पालिका प्रभावित भएका थिए । नरैनापुर, डुडुवा र राप्ती सोनारी गाउँपालिकासहित नेपालगञ्ज र कोहलपुरलगायतका पालिकाका डुवानमा परेका बस्तीहरूमा यस्तो समस्या देखिन थालेको हो ।


जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असोज महिनामा तुलनात्मक रूपमा गर्मी हुने भए पनि लगातारको वर्षाका कारण चिसो भएको र फेरि गर्मी बढेका कारण यस्तो समस्या देखिन थालेको बताएको छ । त्यस्ता समस्या भएका सम्बन्धित पालिकाका स्वास्थ्य चौकीहरूमा सबैभन्दा धेरै ज्वरोको समस्या लिएर आउने गरेको कार्यालयले जनाएको छ ।

यसैगरी नेपालगञ्ज र कोहलपुरमा रहेका अस्पतालहरूमा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको पाइएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. श्याम विकका अनुसार, यस्तो समस्या दीर्घरोग भएका महिला र पुरुष, बालबालिका तथा वृद्धवृद्धाहरूमा बढी देखिएको छ ।


उनले कोहलपुरका निजी मेडिकल हलहरूमा समेत बिरामीको चाप बढेको बताए । यति मात्रै होइन, पछिल्लो समय अस्पतालहरूमा डेंगुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेंगुबाट झन् त्रसित बन्न थालेका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तहरू समेत बिरामी पर्न थालेका छन् ।

कञ्चनपुरबाट कोहलपुरमा उपचारको लागि आएका दलबहादुर बुढा भन्छन्, ‘हामी आएको एक साता हुन लाग्यो । केहीदिन यता बिरामीहरूको चाप बढिरहेको छ । सबै हामीजस्तै पीडित रहेछन् ।’ ज्वरो आउनासाथ डेंगु परीक्षण गराउनेहरू बढेको पाइएको छ ।

भाइरल ज्वरोबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन् । चिकित्सहरूका अनुसार बिरामीमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले दैनिक दुई सयदेखि तीन सय जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको बताए ।

मौसम परिवर्तन, दूषित पानी, सरसफाइ र खानपानमा उचित ध्यान नपु¥याउँदा भाइरल ज्वरोका बिरामी बढेको दाबी चिकित्सकहरूको छ । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्ममा आफै निको हुने भए पनि डेंगुप्रति सचेत रहनुपर्ने सुझाव चिकित्सकहरूको छ ।
यसैबीच, कोहलपुर नगरपालिकाले वर्षाका कारण पुगेको क्षतिको विवरण संकलन गरेको छ । नगरपालिकाका १५ वटै वडामा क्षतिको विवरण संकलन गरेर राहत वितरण सुरु गरिएको छ । पीडितहरूको तथ्यांक संकलन गरेर विभिन्न वडामा राहत वितरण पनि सुरु गरिएको वातावरण तथा विपद् व्यस्थापन शाखाले जनाएको छ ।

शाखाका प्रमुख सुभाष पौडेलका अनुसार, कोहलपुर नगरपालिकामा ५३ जनालाई राहत वितरणको तयारी गरिएको छ । अहिलेसम्म विभिन्न १९ जनालाई राहत वितरण गरिएको उनले बताए । प्रमुख पौडेलले अहिलेसम्म वडा–२, ३, ४, ५ र ६ मा राहत वितरण गरिएको बताए । बाँकी वडामा निरन्तर राहत वितरण हुने उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाकी उप्र–प्रमुख संगीता सुवेदीका अनुसार वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गरेर राहत वितरण सुरु गरिएको हो । ‘वर्षाले धेरै क्षति भएको छ । केही दिनमा सम्पूर्ण वडामा राहत वितरण गर्छौं,’ उनले भनिन् ।

प्रतिक्रिया