चुनावी ब्यानर हटाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउन निर्देशन दिएको छ । सोमबार आयोगका सचिव गोकर्णमणी दुवाडीले गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत आयोगका सचिव दुवाडीले उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर निर्वाचन प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेका हुन् ।

ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् । आयोगले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने र खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रममा राजनीतिक आबद्धता नदेखाउन उम्मेद्वारहरूलाई सूचित गरेको छ ।

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा तत्काल रोक्न पनि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

उनले सम्बन्धित कार्यालय प्रमुखहरूलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने चेतावनीसमेत दिएका छन् । उनले प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न सुझाएका छन् ।

उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । उनले प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र सोही समितिअन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउन जोड दिएका छन् ।

यसैगरी कर्मचारीहरूलाई निर्वाचनमा स्वच्छता कायम गराउन विगतमा चुकेको आरोप लाग्ने गरेकाले यी आरोपबाट मुक्ति हुने गरी काम गर्नुपर्नेमा पनि उनले जोड दिए । निर्वाचनमा खलल पुग्ने खालको गतिविधि गरेमा कानुनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरमा ल्याउन सचिव दुवाडीले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

कात्तिक १८ गतेसम्म प्रचारप्रसार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिनअघि (कात्तिक १८) सम्ममात्र राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । उक्त अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारहरु मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् । निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता—२०७९ मा यस्तो व्यवस्था गरेको हो ।

आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) नियुक्त गरेको छ । कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने स्पष्ट व्यवस्था भएको आयोगले स्मरण गराएको छ ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकोले उम्मेदवार तथा राजनीतिक दलले गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन अध्ययन गरी आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाएको छ ।

केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको उल्लंन गरेको पाइए कडा कारबाही गरिने जनाउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न र गराउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको र उलङ्घनका घटना र उजुरीका आधारमा कारबाही प्रारम्भ भएको स्पष्ट गरे ।

प्रतिक्रिया