न्यूनतम अंक प्राप्त नगरे नियुक्ति खारेजदेखि जरिवानासम्म

सामुदायिक विद्यालयका प्रअसँग करार सम्झौता

रुकुमपूर्व । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सिस्ने गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरेको छ । गाउँपालिकाले आधारभूत तथा माध्यमिक तहका प्रअसँग आइतबार नौ पृष्ठ लामो कार्य सम्पादन करार सम्झौता गरेको हो । गाउँपालिका भित्रका ३९ सामुदायिक विद्यालय मध्ये ३२ विद्यालयका प्रअले सम्झौतामा हस्ताक्षर गरेका छन् । आठ माध्यमिक, २१ आधारभूत र तीन बालविकासमा अध्यापन गराइराखेका प्रअहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले बताए । उनका अनुुसार सम्झौताको एकप्रति गाउँपालिकाले राखेको छ, भने एकप्रति सम्बन्धित विद्यालयका प्रअलाई दिइएको छ । विद्यालयका प्रअ तथा शिक्षकले तीन चरणमा कार्य सम्पादन गर्न सक्ने गरी सम्झौता गरेका छन् । सम्झौता गर्न नआएका विद्यालयका प्रअसँग पनि सम्झौता गर्ने गाउँपालिकाले जनाएको छ ।

सम्झौताअनुसार नियुक्ति पाएको एक महिनामा १५ वटा काम गर्नुपर्नेछ । पूर्ण सरफाइका सात सूचकहरू पूरा गरी पूर्ण सरसफाइ उन्मुख विद्यालय घोषणा गर्ने, निर्मित भौतिक संरचना पूर्ण रूपमा प्रयोग गरिसकेको हुनुपर्ने, शिक्षक, विद्यार्थी, र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता पालना गर्नुपर्ने, शिक्षक एक हप्ता मात्र बिदा बस्न सक्ने र त्यो बिदा सम्बन्धित प्रअले स्वीकृत गर्ने त्यो भन्दा बढी बिदा माग भएमा विद्यालय व्यवस्थापन समितिमा आवश्यक निर्णय गरी गाउँपालिकामा पेस गर्ने गरी विद्यालयका प्रअले पालिकासँग सम्झौता गरेका छन् ।

दैनिक र वार्षिक कार्ययोजना बनाई पठनपाठन तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, गाउँपालिकाले तयार पारेको शैक्षिक क्यालेन्डर हुबहु कार्यान्वयन गर्ने र विद्यालयमा रहेका शिक्षकहरूको कार्य विभाजन गर्नुपर्ने, विद्यालयमा शिक्षक तथा विद्यार्थी अनिवार्य पोसाकमा उपस्थित हुनुपर्ने, विद्यालय समयभित्र मोबाइल चलाउन नपाइने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतामा उल्लेख भए बमोजिम हरेक दिन बिहान २० मिनेट प्रार्थना र पिटी सञ्चालन गर्नुपर्ने, प्रत्येक कक्षामा कक्षा क्याप्टेन र सहायक क्याप्टेन नियुक्ति गर्नुपर्नेछ । माध्यमिक विद्यालयमा गाउँपालिकाको समन्वयमा अनिवार्य रूपमा सुरक्षा गार्ड नियुक्त गर्नुपर्ने, विद्यार्थीहरूमा निरन्तर मूल्यांकन पद्धति कार्यान्वयन गर्नु, विद्यालयमा कुनै शिक्षकले सट्टा शिक्षक राखेको भए हटाउन सम्झौतामा भनिएको छ । यी कामहरू सम्झौता भएको एक महिनाभित्र विद्यालयका प्रअ तथा शिक्षकले गर्नुपर्नेछ । गाउँपालिकाले यी कार्यहरू सम्पन्न गरे बापत विद्यालयका प्रअलाई ४० अंकभार दिइनेछ ।

यसैगरी सम्झौता भएको ६ महिनाभित्र सात कार्यहरू प्रअले गर्नुपर्ने सम्झौतामा भनिएको छ । जसअनुसार विद्यालय सुधार योजना निर्माण गरी लागू गर्नुपर्ने, प्रत्येक चौमासिकमा अभिभावकहरूको बृहत् भेला गराई सार्वजनिक सुनुवाई गर्नुपर्ने, एजेन्डामा आधारित रही प्रत्येक महिनामा एकपटक स्टाफ मिटिङ र विव्यसको बैठक बसेको हुनुपर्ने, प्रत्येक दुई महिनामा एकपटक विद्यालयको समग्र अवस्थाको बारेमा गाउँपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने पनि सम्झौता पत्रमा लेखिएको छ । पालिकाले तोकेअनुसार सामाजिक लेखापरीक्षण र आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदन पालिकामा पेस गर्नुपर्ने, गाउँपालिकाले निर्माण गरेका शैक्षिक क्यालेन्डरअनुसार अर्धवार्षिक र वार्षिक परीक्षा सञ्चालन गरी त्यसको नतिजा सम्बन्धित अभिभावकलाई जानकारी गराउने र गाउँपालिकाबाट विभिन्न शीर्षकमा विनियोजन हुने रकमको अभिलेख राख्नुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

यसैगरी सम्झौता भएको एक वर्षभित्रमा विभिन्न ३१ कार्यहरू सम्पादन गर्नुपर्नेछ । विद्यालयको शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने, विद्यार्थी उत्तीर्ण प्रतिशत तथा सिकाइ उपलब्धी औषत कम्तिमा ६० प्रतिशत हुनुपर्ने, विद्यालयमा अतिरिक्त कक्षा ट्युसन कोचिङ सञ्चालन गर्नुपर्ने, शिक्षकको आचरण र कार्य सम्पादन पालिकामा जानकारी गराउनुपर्ने, कुनै शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी असफल भएमा वा कुनै शिक्षकले लापरबाही वा अनुशासनहीन काम गरेमा त्यस्तो शिक्षकको दुई वर्षसम्म ग्रेडवृद्धि रोक्का गर्ने निर्णय तथा सम्झौता पनि प्रअसँग भएको छ ।

विद्यार्थीलाई अपेक्षित शैक्षिक उपलब्धी हासिल हुने गरी झिकाउने, टिकाउने र सिकाउने दायित्व प्रअ र शिक्षकको हुनेछ सम्झौता पत्रमा भनिएको छ । एक वर्षको अवधिमा पालिकाले प्रअसँग गरेको सम्झौताअनुसार कुल पूर्णांकको कम्तीमा ५० प्रतिशत अंक ल्याउन नसकेमा त्यस्तो प्रअको नियुक्ति खारेज गरी १० हजारदेखि २५ हजारसम्म जरिवाना गरिनेछ प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह र सम्बन्धित विद्यालयका प्रअले हस्ताक्षर गरिएको सम्झौता पत्रमा भनिएको छ । सम्झौताले गाउँपालिका भित्रका सबै विद्यालयका प्रअ तथा शिक्षकलाई बाँधेको जनता मावि पोखराका प्रअ कलु खड्काले बताए ।

सामुदायिक विद्यालयको पठनपाठनलाई व्यवस्थित र गुणस्तरीय बनाउन करार सम्झौता गरिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख बुढाले बताए । सम्झौता अनुसारको कार्य सम्पादन प्रअबाट भए नभएको बारेमा पालिकाको टिमले अनुगमन नियमन तथा मूल्यांकन गर्ने बुढाको भनाइ छ । ‘पालिकाले सम्बन्धित प्रअसँग सम्झौता ग¥यो’, बुढाले भने, ‘प्रअले सम्बन्धित शिक्षकसँग सम्झौता गर्न सक्नेछन् तर गर्नै पर्छ भन्ने छैन । हामीसँग भएको सम्झौता बमोजिमको काम गर्न बाधा परे शिक्षकसँग पनि सम्झौता गर्नुस् भनेका छौँ ।’

सम्झौतामा भएका बुँदाहरू कार्यान्वयन गर्न गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने पालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । सिस्ने गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया