भोट माग्दै गाउँ पसे उम्मेदवार

कालिकोट । दुर्गम जिल्ला कालिकोटमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् ।

चुनाव नजिकिँदै गर्दा एमाले र स्वतन्त्र उम्मेदवारहरु लगायतका अन्य साना दलका उम्मेदवारहरू प्रचारप्रचारमा जुटेका हुन् ।

विषेश गरी नेकपा एमालेका उम्मेदवारहरु भोट माग्दै गाउँ पसेका छन् । २ वटा प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्यको लागि पाँच दलिय गठबन्धनसँग लड्न एमालेले उम्मेदवार छनोट गरी प्रचारप्रसारका लागि आइतबारदेखि जिल्लाका विभिन्न क्षेत्रमा लागेका छन् ।

प्रतिनिधीसभा सदस्यका उम्मेदवार नगेन्द्र शाही, प्रदेशसभा (क) का उम्मेदवार कुर्मराज शाही र (ख) का उम्मेदवारसहित समानुपातिक उम्मेदवार गाउँ पसेका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्दन बनेको कालिकोटमा एमाले एक्लै चुनावमा भिड्न लागेको छ ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही निकै उत्साहका साथ चुनावमा भिड्न लागेका छन् । यस्तै गठबन्दनकै नेपाली कांग्रेसका पुराना नेता हिक्मतबहादुर विष्टसँग एमालेका बिरेन्द्र वोगटी, स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बम र गठबन्दनको विरुद्धमा लडेको नेकपा एकीकृत समाजवादीका विश्वराज बम भिड्ने भएका छन् ।

यस्तै प्रदेशसभा (क) मा गठबन्धनकै दुर्गबहादुर रावत र पूर्वमन्त्री कुर्मराज शाहीबीच भिडन्त हुने भएको छ । रावतले यसअघि प्रतिनिधीसभा सदस्य जितेका थिए । अहिले उनलाई गठबन्धनले प्रदेशसभामा लगाएको छ । यस्तै प्रदेश ‘क’ एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको एमालेको दाबी छ ।

उक्त क्षेत्रको खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको एमालेबाट उम्मेदवार बनेका कुर्मराज शाहीको दाबी छ ।

प्रचारका क्रममा जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक एमालेका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ । सो क्षेत्रमा कांग्रेस बलिया भएतापनि अहिले माओवादीको भागमा उम्मेदवार रहेको छ ।

त्यस्तै, गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही जिल्लामा पुगेका छन् । एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेर भोट माग्न गाउँ पसिरहँदा गठबन्धनका उम्मेदवार भने जिल्लामा समेत पुग्न सकेका छैनन् ।

यस्तै आफूले टिकट नपाएको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य तथा रास्कोट नगरपालिकाका निवर्तमान नगरप्रमुख कासीचन्द्र बरालले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिएर प्रचारप्रसारमा खटिएका छन् ।

कोइरला समूहका नेता असन्तुष्ट

कोइरला समूहका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाही भने जिल्लामा पुग्न सकेका छैनन् । टिकट वितरणमा आफ्नो समूहलाई गठबन्धनले पेलेको भन्दै अहिले चर्को विरोधसँगै असन्तुष्ट रहेका छन् ।

कालिकोट सत्ता पक्षको भन्दा कोइरला समूहको बाहुल्यता रहेको जिल्ला हो । युवा नेता शाहीले टिकट नपाएपछि कोरइरला समूहका नेता गठबन्धनको विरुद्ध लागेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया