राजु गुरुङको रिटमा अल्पकालीन अन्तरिम आदेश, दुबै पक्षलाई छलफलका लागि झिकाइने

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । राजुसँगै अन्य दुईजना स्वतन्त्र उम्मेदवारको मनोनयनसमेत आयोगले खारेज गरेको थियो ।

खारेजीमा परेका डा. कमल भुसालको पनि रिट सोही इजलासमा सुनुवाइका लागि तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ । अब यस सम्बन्धमा निर्वाचन आयोग र निवेदक पक्षलाई झिकाएर छलफल पछि थप निर्णय हुने स्रोतले बतायो।

प्रतिक्रिया