बझाङ (ख) का बागी उम्मेदवार भण्डारीले लिए उम्मेदवारी फिर्ता

बझाङ । आगामी मंसीर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका एक जना उम्मेदवारले आफ्नो उम्मेदवाारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

बझाङ प्रदेशसभा क्षेत्र नम्बर २ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांगेसका गणेश बहादुर भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उनले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी नरहेको जानकारी गराएका हुन् ।

‘प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट प्रदेशसभा सदस्यका लागि बागी उम्मेदवारी दर्ता गराई बिरामी भएको कारण उम्मेदवारी फिर्ता लिने दिनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भइ उम्मेदवारी फिर्ता लिन असमर्थ रहेकाले आजको मितिदेखि आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धनका साझा उम्मेदवार भीम भण्डारीलाई समर्थन गरेको व्यहोरा यसै विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराइएको छ’, भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

‘पार्टीको गठबन्धनले गर्ने निर्णय निर्देशनअनुसार यस निर्वाचनमा वफादारीपूर्र्वक गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता तथा प्रण गर्दछु’, भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भण्डारीले गठबन्धनका उम्मेदवारहरूलाई समर्थन गरेपछि बझाङ प्रदेशसभा (ख) का उम्मेदारलाई जित्न सहज भएको स्थानीयहरुले आँकलन गरेका छन् ।

प्रतिक्रिया