जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउँछु : रेखा थापा

काठमाडौं । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एक पटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरु पूरा गर्ने बताइन् ।

यसअघि जितेका जनप्रतिनिधिहरुले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् । उनले आफू कुरा भन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाइन् ।

थापाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी,सुकुम्वासी समस्या लगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताइन् । उनले आफुलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।

‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौँ, तर उल्लेखनीय रूपमा सुधार हुन सकेन, यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ’, उनले भनिन् । रेखाको चुनावी घरदैलोमा जनताको उत्साहजनक सहभागिता देखिएको छ ।

प्रतिक्रिया