‘ओलीको गलत कामको विरोध गरेकाले टिकट दिइएन’

एमाले नछाड्ने बताउँदै पार्टी अध्यक्षमाथि खनिए रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत र असंवैधानिक कामको विरोध गरेकाले नै आफूले निर्वाचनमा टिकट नपाएको आरोप लगाएका छन् । रावलले आफूले राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष ओलीले चुनावमा टिकट नदिएको दाबी पनि गरे ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी रावलले आफूले सधैँ ओलीले गरेका राष्ट्रहित विपरीतका काम र असंवैधानिक कामको विरोध गर्दै आएको बताए । ‘पार्टीभित्र र पार्टीबाहिर केपी ओलीले गरेका स्वेच्छाचारी निर्णयको मैले सधैँ विरोध गर्दै आएको छु,’ उनले भने, ‘त्यसैको प्रतिशोध साँध्न मलाई चुनावमा टिकट दिइएन । ओलीको गलत कार्यको विरोध गर्नु नै अपराध भयो ।’

पार्टी विभाजन रोक्नका लागि आफूहरूले अघि सारेको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए । उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरिएको आरोप लगाए ।

रावलले दशकौँ पार्टीमा पसिना बगाएका इमानदार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेद्वार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरे । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र प्रदेश कमिटीबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएर आए पनि रावललाई एमालेले टिकट दिएको थिएन ।

भर्खरै पार्टी प्रवेश गरेकाहरूले समेत टिकट पाउँदा पनि आफूले टिकट नपाएपछि रावल ओलीसँग रुष्ट बनेका छन् । अध्यक्ष ओलीले पनि रावललाई पाखा लगाउने प्रयास गर्दै आएका छन् । एमालेको महाधिवेशनमा पनि रावलले अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेद्वारी दिएका थिए ।

‘घनश्याम भुसालले टिकट नपाउनु अत्यन्तै मार्मिक कुरा हो । हिजो जुन व्यवस्थाका विरुद्ध हामी लड्यौँ, जुन व्यवस्थालाई हामीले निर्दलीय र निरंकुश भन्यौँ । त्यही व्यवस्थाका एउटा प्रमुख पात्रलाई उम्मेद्वार बनाउँदा एमालेका कुन कार्यकर्ता र कुन नेपाली जनताले त्यो पाइला ठीक हो भन्न सक्ला ?’

आफूले टिकट नपाएपछि नेता रावलले एमाले छाड्न सक्ने अनुमान गरिएको थियो । तर, त्यसको ठिक विपरीत पत्रकार सम्मेलनमा रावलले आफूले एमाले नछाड्ने घोषणा गरे । उनले पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताए ।

रावलले आफूले टिकट नपाए पनि ४ मंसिरमा हुने निर्वाचनमा योग्य र इमानदार उम्मेदवारलाई जिताउन लाग्ने बताए । उनले आगामी निर्वाचनमा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि भने मत माग्न नसकिने धारणा पनि व्यक्त गरे ।

उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरूलाई समेत टिकट दिएको भन्दै उनीहरूका लागि मत माग्न नसकिने बताए । ‘विगतमा पार्टीको उछित्तो काढ्ने, विदेशीका चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरूलाई पनि अहिले एमालेले समर्थन गरेको छ । त्यस्तालाई कुनै पनि हालतमा सहयोग गर्न र मत माग्न सकिँदैन,’ उनले भने ।

नेता रावलले देशभक्त, माक्र्सवादप्रति प्रतिवद्ध र एमालेका लागि रगत÷पसिना बगाउने उम्मेद्वारलाई मात्र सहयोग गर्ने बताए । ‘जसका विरुद्धमा एमालेका कार्यकर्ताले रगत बगाउनुप¥यो तिनका लागि कुनै पनि हालतमा मत माग्न सक्दिनँ,’ उनले भने ।

रावलले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी पनि गरे । उनले ओली झण्डै दुईतिहाइको प्रधानमन्त्री हुँदा आधाभण्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको बताए ।

‘संसद्मा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरूलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुईतिहाइको प्रधनममन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेद्वार हुन पाउने’ रावलले भने, ‘तर, देश र जनताको हितका विषयमा निरन्तर संसदमा आवाज उठाउनेले भने क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि उम्मेद्वार बन्न नपाउने किन ?’

रावलले आफूलाई कुनै पनि हालतमा हराउन नसक्ने भएपछि अध्यक्ष ओलीले उम्मेद्वारी रोकेको आरोप पनि लगाए । ‘अछाममै रहेको बेला मलाई उम्मेद्वारी नदिने भन्ने अछामकै व्यक्तिबाट फोनमा जानकारी दिन लगाइयो । तैपनि मैले धैर्यतापूर्वक पार्टीको औपचारिक निर्णयको प्रतिक्षा गरेँ,’ नेता रावलले भने, ‘अध्यक्ष ओली निकटका मानिसहरूबाट अछाममा मैले चुनाव जित्ने वा हार्ने स्थितिबारे सोधखोज गर्दा हराउन नसकिने निष्कर्षमा पुगेपछि मेरो उम्मेद्वारी नै रोकेको कुरा पनि सुनियो ।’

रावलले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालको एमालेबाट भएको बहिर्गमनलाई पनि अन्यायको संज्ञा दिएका छन् । अन्यायपूर्ण कुरा गरेपछि विद्रोह स्वभाविक भएको उनले बताए । भुसाल सिफारिस भएको क्षेत्र रूपन्देही ३ मा एमालेले राप्रपाका उम्मेदवार दीपक बोहोरालाई सघाएको छ ।

भुसाल स्थायी कमिटी सदस्य पनि भएको र झण्डै पाँच दशक पार्टीमा काम गरेको व्यक्ति भएको भन्दै उनलाई टिकट नदिएकोमा रावलले असन्तुष्टि व्यक्त गरे । ‘अत्यन्तै मार्मिक कुरा हो । हिजो जुन व्यवस्थाका विरुद्ध हामी लड्यौँ, जुन व्यवस्थालाई हामीले निर्दलीय र निरंकुश भन्यौँ । त्यही व्यवस्थाका एउटा प्रमुख पात्रलाई उम्मेदवार बनाउँदा एमालेका कुन कार्यकर्ता र कुन नेपाली जनताले त्यो पाइला ठीक हो भन्न सक्ला ?’ रावलले प्रश्न गरेका छन् ।

प्रतिक्रिया