प्रधानमन्त्री देउवाको साथ पाएका खगराज : चुनाव जितेर बन्लान् त मुख्यमन्त्री ?

धनगढी । खगराज भट्ट सुदूरपश्चिममा चर्चित नाम हो । नेकपा (माओवादी केन्द्र) का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्ट निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाका मुख्य प्रतिष्पर्धी हुने गरेकाले पनि चर्चित बने ।
भट्ट देउवासँग लगातार तीन पटक निर्वाचन लडे तर तीनै पटक असफलनै भए । २०६४, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भट्ट देउवाका प्रमुख प्रतिष्पर्धी नै थिए ।

भट्टले निर्वाचनको लागि कहिल्यै मदान खाली गरेनन् निरन्तर लडिरहे । तीन पटक एक अर्काका प्रतिष्पर्धी भएका खगराज र देउवा यो पटकको निर्वाचनमा भने एक अर्काका सारथी बनेका छन् ।

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भट्ट र देउवा दुवै जना सत्तारुढ गठबन्धनका उम्मेदवार बनेका छन् । एकमात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधिसभा तर्फ प्रधानमन्त्री देउवा र प्रदेशसभा (क) मा भट्ट उम्मेदवार बनेका छन् ।

यसपटक भने देउवालाई भट्ट र भट्टलाई देउवाको साथ रहने छ । पटक पटक देउवाका प्रतिष्पर्धी भएर असफल भएका भट्ट यस पटक देउवाको साथले सफल हुने आँकलन गरिएको छ ।

अगामी निर्वाचनपछि खगराजलाई प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले पनि उनी प्रदेशसभामा चुनाव लड्न राजी भएको पनि चर्चा नचलेको होइन । यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ल र भट्टले प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले) का पठानसिंह बोहरासँग प्रतिष्पर्धा गर्दैछन् ।

बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पनि हुन् । बोहराले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को सहयोगमा बाम गठबन्धनबाट सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचन जितेका थिए । बोहरालाई यसपटक नेपाली कांग्रेस बीपीको साथ रहने भएको छ ।

एमाले र नेपाली कांग्रेस बीपीले डडेल्धुरामा तालमेल गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री देउवाको साथ रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट भने प्रदेशसभा (क) मा निर्वाचन जित्नेमा माओवादी केन्द्र जिल्ला पार्टी ढुक्क छ । ‘हामीले स्थानीय तहको निर्वाचनमा पनि यस क्षेत्रका अधिकांस वडा जितेका छौँ’, नेकपा (माओवादी) केन्द्रका डडेल्धुरा सचिव लालबहादुर धामी अपिलले भने, ‘बाम लोकतान्त्रिक गठबन्धनले जितेका वडा र मत बढी छ हामी जित्नेमा ढुक्क छौँ ।’

बाम लोकतान्त्रिक गठबन्धनमा जनाधार बलियो भएकाले खनराजले चुनाव जित्ने उनको भनाइ छ । गठबन्धन दलबाट धोका नहुनेमा पनि धामी विश्वस्त छन् । ‘देशको परिस्थित अनुसार बाम लोकतान्त्रिक गठबन्धन छ, यसमा हामी चुनाव जित्नेमा ढुक्क छौँ, दुबैै पक्षबाट इमान्दारिता चल्छ’, धामीले भने ।

खगराज भट्टले निर्वाचन जिते मुख्यमन्त्री बन्ने पनि पक्कापक्की नै भएको उनले बताए । खगराजलाई मुख्यमन्त्री बनाउने कुरामा राष्ट्रिय सहमति नै भएको उनले दाबी गरे ।

खगराजका मुख्य प्रतिष्पर्धी प्रदेशसभा (क) मा कांग्रेस बीपीको साथ पाएका नेकपा (एमाले) का उम्मेदवार पठानसिंह बोहराले स्थानीय तहमा आफ्नो पार्टी तेस्रो भएपनि तीन वर्ष प्रदेश सरकारमा बसेर भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हुने कामहरु आफूले गरेको गराएकोले मुख्य जित्ने आधार त्यही भएको बताए ।

‘सबै मतदाताहरुले सकरात्मकरुपमा बुझ्नुभएको छ’, बोहराले भन,े ‘मेरो व्यक्तिगत छवि स्वच्छ भएकाले स्वच्छ छवि राखेर काम गर्ने भएकाले पनि मैले चुनाव जित्छु ।’

डडेल्धुरा (क) मा भागेश्वर गाउँपािलकाका ५ वडा, पर्शुराम नगरपालिकाका १२ वडा, आलिताल गाउँपालिकाका ८ वडा र अजयमेरु गाउँपालिकाका २ वटा वडा गरी २७ वटा वडा रहेका छन् । जसमा नेपाली कांगेसले १२ वटा,माओवादी केद्रले १०, एमालेले ४ र १ वडा स्वतन्त्रले जितेका छन् ।

प्रतिक्रिया