लमजुङमा चार जनाको उम्मेदवारी फिर्ता

लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा एक जनाले फिर्ता लिएका हुन् । प्रदेश सभा ‘क’ मा ६ जनाको उम्मेदवारी परेकोमा एक जनाले र प्रदेश सभा ‘ख’ मा ७ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेकपा समाजवादीका बीना गोतामे र स्वतन्त्र उम्मेदवार प्रकाश जोशीले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभा ‘क’ मा मनोनयन दर्ता गराउनुभएका नेपाली कांग्रेस (वीपी) का अस्मिता गुरुङले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश सभा ‘ख’ मा मनोनयन दर्ता गराएका हाम्रो नेपाली पार्टीका विमल घिमिरेले नेकपा (एमाले) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

अब प्रतिनिधि सभामा एक जना स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम रहेको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा ५ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार प्रदेश सभा ‘ख’ मा ७ जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिक्रिया