‘बागी’ उम्मेद्वारविरुद्ध कारबाही सुरु

प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन

काठमाडौं । आगामी निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेद्वारी दिने अधिकांश उम्मेद्वारले आफ्नो नाम फिर्ता लिएका छन् भने केही उम्मेद्वारले पार्टी निर्णय विपरीत चुनाव लड्ने आफ्नो अडान कायमै राखेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरूलाई आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो १ बजेसम्मको समय दिएको थियो ।

सोही समयभित्र पार्टी निर्णय विपरीत मनोनयनपत्र दर्ता गराउने अधिकांश उम्मेद्वारले नाम फिर्ता लिएका हुन् । गत आइतबार देशभर विभिन्न दलका थुप्रै नेता÷कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेद्वारविरुद्घ स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।

खासगरी सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका थुप्रै नेता÷कार्यकर्ताले पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए । आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका छन् ।

कांग्रेसका अधिकांश नेता÷कार्यकताले चुनावी भागबण्डामा कांग्रेसको भागमा नपरेका निर्वाचन क्षेत्रमा बढी बागी उम्मेद्वारी दिएका छन् । त्यस्ता निर्वाचन क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएका कांग्रेसका थुप्रै नेता÷कार्यकर्ताले उम्मेद्वारी फिर्ता लिएका छैनन् ।

नेपाली कांग्रेसले बागी उम्मेद्वार तथा उम्मेद्वारको प्रस्तावक र समर्थक बसेकाहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेद्वार बनेकाहरूलाई एकमुष्ठ कारबाही गरेको हो ।

सत्ता गठबन्धन दलहरूले पार्टीको निर्णय विपरीत उम्मेद्वारी दिने नेता÷कार्यकर्तालाई कडा कारबाही गरिने चेतावनी पनि दिएको थियो । सोही अनुरूप पार्टीको निर्णय विपरीत उम्मेदवारी दिने आफ्ना नेता÷कार्यकर्तालाई कांग्रेसले बुधबार नै कारबाही गरेको छ ।

कांग्रेसले बागी उम्मेद्वार तथा उम्मेद्वारको प्रस्तावक र समर्थक बसेकाहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेद्वार बनेकाहरूलाई एकमुष्ठ कारबाही गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वारविरुद्व उम्मेद्वारी दिने, प्रस्तावक बस्ने र समर्थक बस्नेहरूलाई कारबाही गरिएको जानकारी दिएका छन् ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेद्वारी दिएर फिर्ता नलिनेहरूलाई कांग्रेसले एकमुष्ठ कारबाही गरेको हो । कांग्रेसको कारबाहीमा पर्नेहरूमा थुप्रै प्रभावशाली नेताहरू पनि रहेका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला चितवन–३ बाट स्वतन्त्र उम्मेद्वार बनेका छन् । पूर्वसांसद अमरेशकुमार सिंह पनि सर्लाही–४ बाट स्वतन्त्र उम्मेद्वार बनेका छन् । चितवन–३ मा कोइरालालाई एमालेले समर्थन गरेको छ ।

कांग्रेसका मुख्यसचिव पौडेलका अनुसार, पार्टीले पटकपटक आग्रह गर्दासमेत उम्मेद्वारी फिर्ता नलिएका बागी उम्मेद्वार, निजका प्रस्तावक र समर्थकहरूलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको छ ।

सत्तारूढ गठबन्धनको निर्णय विपरीत मनोनयनपत्र दर्ता गराएका एकीकृत समाजवादी पार्टीका १९ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । पार्टी नेतृत्वले दिएको निर्देशन मान्दै उनीहरूले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभातर्फ उम्मेद्वारी दिएका चार जना र प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी दिएका १४ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको जानकारी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिएका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीबाट गठबन्धनको निर्णय विपरीत उम्मेद्वारी दिएका १८ जनाले नाम फिर्ता लिएको जानकारी दिएका हुन् ।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका इम्दाद हुसेन खाँले उम्मेदवारी फिर्ता लिएका छन् । उक्त निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धनबाट गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण आधिकारिक उम्मेद्वार थिए ।

रूपन्देही–३ प्रदेशसभा (क)मा पनि माओवादी केन्द्रका नेताले गठबन्धनको सहमतिविपरीत उम्मेद्वारी दिएका थिए । बागी उम्मेद्वारी दिने फैज अहमद खाँले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । सत्तारूढ गठबन्धनले रूपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (१)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रूपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मोरङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका २ सय २६ जनामध्ये १० जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधिसभातर्फका तीन र प्रदेशसभातर्फका सात जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

मोरङ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दिएकी सुजता थापा, क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेद्वार गोकुलप्रसाद पोखरेल र क्षेत्र नम्बर ६ का लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार राजु मण्डल राजवंशीले उम्मेद्वारी फिर्ता लिएका छन् । राजवंशीले उम्मेद्वारी फिर्ता लिएर कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई समर्थन गरेका छन् ।

यसैगरी प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी दिएकामध्ये क्षेत्र नम्बर १(२) का स्वतन्त्र उम्मेद्वार डिल्लीराम शर्मा अधिकारी, क्षेत्र नम्बर ३(२) का स्वतन्त्र उम्मेद्वारद्वय तिलकप्रसाद राई र कञ्चनकुमार बुढाथोकी, क्षेत्र नम्बर ४(२) का नेकपा एकीकृत समाजवादीका उम्मेद्वार महेश रेग्मी, क्षेत्र नम्बर ५(२) का स्वतन्त्र उम्मेद्वार भुराज राई र क्षेत्र नम्बर ६(२) का नेकपा एकीकृत समाजवादीका वसिम आलम, स्वतन्त्र उम्मेद्वारद्वय जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएका छन् ।

धनकुटामा तीन जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । नाम फिर्ता लिनेमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका एक जना छन् । राप्रपा नेपालका अमुल राई, स्वतन्त्र गंगाराम गोङ्देन र योगेन्द्र आलेले नाम फिर्ता लिएका हुन् ।

स्वतन्त्रबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेस खोटाङका नेता सर्वधन राई र सुवासकुमार पोखरेलले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । उनीहरूले केन्द्रले जिल्लाको अपमान हुने गरी टिकट दिएको भन्दै बागी उम्मेद्वारी दिएका थिए । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका रामकुमार राई उठेपछि त्यसको विरोध गर्दै पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राईले उम्मेद्वारी दिएका थिए ।

यसैगरी सत्ता गठबन्धन दलविरुद्ध प्रतिनिधिसभा सदस्यका लागि उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईले उम्मेद्वारी कायमै राखेका छन् । उनी चुनाव चिह्न माछा लिएर निर्वाचनमा होमिएका छन् ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर २ (२) र १ (२) बाट स्वतन्त्र उम्मेद्वारी दिएका हेमराज दाहाल र बासुदेव उपाध्यय पोखरेलले भने उम्मेद्वारी फिर्ता लिएका छन् । दाहाल माओवादी र पोखरेल कांग्रेसका जिल्लास्तरीय नेता हुन् ।

पाँचथरमा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्रबाट उम्मेद्वारी दिएका खड्गसुन्दर लावतीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । उनी पाँचथर प्रदेशसभातर्फको क्षेत्र नम्बर २ बाट सत्तारूढ गठबन्धनविरुद्ध उम्मेद्वार बनेका थिए ।

यसैगरी गोरखामा सात जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । गोरखामा पार्टीगत र स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका गरी सात जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेद्वारी दिएकी माधवी भट्ट पराजुलीले पनि उम्मेद्वारी फिर्ता लिएकी छन् ।

क्षेत्र नम्बर २ ‘क’ प्रदेशसभामा स्वतन्त्र उम्मेद्वारी दिएका गण्डकी प्रदेशका ऊर्जा जलस्रोतमन्त्री हरिशरण आचार्यले पनि स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ को ‘क’ मा उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी र नेमकिपाकाका बेलबहादुर बस्नेतले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर १ ‘ख’ मा स्वतन्त्र उम्मेद्वारी दिएका तीन जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । आरुघाट गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका पूर्ण दाहालले उम्मेद्वारी फिर्ता लिएका हुन् । उनी नेपाली कांग्रेसनिकट नेता हुन् । सोही क्षेत्रमा नेकपा माओवादी केन्द्रनिकट राजकुमार ढकाल र नेकपा एकीकृत समाजवादीका टेकराज भट्टले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

लमजुङमा चार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका दुई जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ प्रकाश जोशी र विना गोतामेले गठबन्धनलाई समर्थन गर्ने भन्दै मनोनयन फिर्ता लिएका हुन् । प्रदेशतर्फ नेपाली कांग्रेस ‘बिपी’ की अस्मिता गुरुङले गठबन्धनलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएकी हुन् । प्रदेशतर्फ विमल घिमिरेले नेकपा एमालेलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिइन् ।

यसैबीच, जनता समाजवादी पार्टी (जसपा)ले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्यसहित सात जनालाई कारबाही गरेको छ । केन्द्रीय सदस्य करिमा बेगमसहित सात जनालाई पार्टीबाट निष्कासन गरिएको जानकारी जिल्ला अध्यक्ष रामनरेश यादवले दिए ।

पार्टीबाट निस्कासनमा पर्ने अन्य नेताहरूमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद् सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरिशंकर साह, युवा नेताहरू मुकेशकुमार द्विवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाल रहेका छन् । उनीहरूले एमाले–जसपा गठबन्धनको निर्णय विपरीत पर्साका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनीहरूलाई कारबाही गरिएको छ ।

प्रतिक्रिया