कैलाली–५ मा स्वतन्त्रले गरेनन् उम्मेदवारी फिर्ता

धनगढी । कैलाली–५ मा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता गरेनन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिएका हुन् ।

निर्वाचन आयोगले बुधबार उम्मेदवारी फिर्ता लिने समय दिएको भएपनि कुनै पनि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभाका लागि ५ जना स्वतन्त्र र ५ जना राजनीतिक दलका उम्मेदवार गरी १० जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आइतबार प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता भएकोमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण चौधरीको उम्मेदवारी विरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो । राष्ट्रिय चासोको रुपमा हेरिने कैलाली ५ मा यस पटक पनि तिब्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेबाट पूर्वमन्त्री नारदमुनी राना रहेका छन भने नेपाली कांग्रेसका नेता पूर्व मन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

ओझालाई गत निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई निर्वाचनमा असहयोग गरेको भन्दै पार्टीले कारवाही गरेको थियो । उनी यसपटक गठबन्धनविरुद्ध चुनावी मोर्चा होमिएका छन् । प्रतिनिधिसभाका लागि १० जना चुनावी प्रतिष्पर्धामा जाने भएका छन् ।

पन्त २०७४ को निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित भएका थिए भने रानाले प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

त्यसैगरी प्रदेशसभा (क) मा नेकपा (माओवादी) केन्द्रका नेता रमेशसिंह धामी सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका छन । ०७४ को निर्वाचनमा धामी प्रदेश सभा (ख) बाट झिनो मतान्तरले पराजित भएका थिए । जहाँ १ स्वतन्त्र गरि ५ जना चुनावी मैदानमा उत्रिने भएका छन् ।

सो क्षेत्रमा नेकपा (एमाले) बाट नेपालु चौधरी, नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरी,राप्रपाका पुष्करदत्त भट्ट र स्वतन्त्रबाट माओवादी केन्द्रका रमेशकुमार बस्नेत उम्मेदवार रहेका छन् । सोही क्षेत्रबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका बृषबहादुर दमाईले भने उम्मदवारी फिर्ता लिएका छन् ।

प्रदेशसभा (ख) मा ८ जनाको उम्मेदवारी परेकोमा कसैको पनि फिर्ता भएन । सो क्षेत्रमा १ जना स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा, नेकपा एमालेबाट दुर्गाप्रसाद जोशी, स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता क्षितिज भण्डारी, नेपाली कांग्रेस बीपीबाट दीपकराज खैर, संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चबाट कार्तिक लुहार, नागरिक उन्मुक्ति पार्टीबाट गोठु चौधरी, नेपाल मजदुर किसान पार्टीबाट रामबहादुर दर्लामीमगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज भण्डारी चुनावी प्रतिष्पर्धामा उत्रिने भएका छन् ।

प्रतिक्रिया