उम्मेदवारी दर्तापछि तनहुँमा चुनावी सरगर्मी

दमौली । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित उनी यसपटक निर्वाचन जित्ने बताउँछन् । गत निर्वाचनमा जनतामा असझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यसपटक तनहुँका जनताले विजयी गराउने विश्वास व्यक्त गर्छन् ।

उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली कांग्रेसबाट शंकर भण्डारी र नेकपा (एमाले) बाट किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । गण्डकी प्रदेशका समेत पूर्वअर्थमन्त्री रहेका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताउँछन् । उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावको माहोल बनेको अधिवक्ता भानुभक्त सुवेदीको भनाइ छ । ‘उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवारी दर्ता नै भइसकेपछि झन् माहोल चुनावमय बन्यो’, उनी भन्छन् ।

०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी ६ सिट गुमाएको थियो । यो पटक ६ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारी गरिने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल जानकारी दिन्छन् । निर्वाचनको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । नेकपा (एमाले) ले दुवै क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउने उपाध्यक्ष हरिराज कँडेल बताउँछन् । तनहुँ क्षेत्र नं २ मा सत्तारूढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङ जानकारी दिन्छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका १० मध्ये पाँच, नेकपा (एमाले) ले चार र नेकपा (माओवादी) केन्द्रले एक स्थानीय तहमा विजय हासिल गरेको थियो । जिल्लामा २ लाख ४८ हजार ४ सय ९५ मतदाता छन्् । स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिकपछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता संख्या कायम गरेको हो । स्थानीय तहको निर्वाचनपछि तनहुँमा ४ हजार १ सय ५५ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा २ लाख ४४ हजार ३ सय ४० मतदाता थिए । तनहुँ क्षेत्र नम्बर १ तर्फ १ लाख २३ हजार ४ सय ९० र क्षेत्र नम्बर २ तर्फ १ लाख २५ हजार पाँच मतदाता कायम भएको छ ।

०७४ सालको प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा जिल्लामा २ लाख ११ हजार ३ सय ९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा (१) मा ६७ हजार १ सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार ३ सय ४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार ९ सय ७३ मतदाता कायम भएका छन् ।

प्रतिक्रिया