रेसमसहित तीनको उम्मेद्वारी खारेज

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई हाल कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ साल फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको जनाइएको छ । उनले वारिसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीले चुनाव लड्न लागेका थिए ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए । थरूहट आन्दोलनका क्रममा ०७२ साल भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ जना सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । उक्त हत्याको अभियोग प्रमाणित भएपछि उनी डिल्लीबजारस्थित कारागारमा छन् ।

नेपाली कांग्रेस रुकुम पश्चिमका प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेद्वार प्रेमप्रकाश ओलीको उम्मेद्वारी खारेज भएको छ । सरकारवादी फौजदारी बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका ओलीविरुद्ध नेकपा माओवादी केन्द्रका उम्मेदवारले उजुरी गरेका थिए ।

ओलीविरुद्ध उम्मेद्वार हुन अयोग्य भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र नम्बर २ (ख)का उम्मेद्वार राजकुमार शर्माले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा आवश्यक छानबिनपछि ओलीको उम्मेदवारी खारेज गरिएको हो ।

यसैगरी उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारूको उम्मेद्वारी पनि बदर भएको छ । वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका थारूको उम्मेद्वारी बदर भएको मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारुको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाएका हुन् ।

थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय गरिएको अर्यालले बताए ।

प्रतिक्रिया