फेरि पनि महिलामाथि दलको बेवास्ता

प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेद्वारी

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभर ५७ वटा राजनीतिक दलले आफ्नो उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगका अनुसार, विभिन्न राजनीतिक दलको तर्फबाट १ हजार ५ सय ८३ जना उम्मेद्वार चुनावी दौडमा छन् । राजनीतिक दलले उठाएको उम्मेद्वारमा महिलाको संख्या भने अत्यन्तै न्यून रहेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट देशभर १ सय ५० जना महिलाले उम्मेद्वारी दिएका छन् । प्रत्येक निर्वाचनअघि प्रत्यक्ष चुनावमा समेत महिलालाई प्राथमिकता दिनुपर्ने चर्को बहस हुने गरेको छ ।

संविधानले पनि प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि गत आइतबार मनोनयन दर्ता गराएका उम्मेद्वारमध्ये १० प्रतिशत पनि महिला छैनन् ।

प्रत्यक्षतर्फ देशभरबाट दलहरूले १ सय ५० जना महिलालाई मात्र उम्मेद्वार बनाएका छन् भने त्यसको तुलनामा पुरुष उम्मेद्वारको संख्या निकै बढी छ । दलहरूको तर्फबाट देशभर १ हजार ४ सय ३३ जना उम्मेद्वारले मनोनयनपत्र दर्ता गराएका छन् ।

यसैगरी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ९ सय ४३ जनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएका छन् । ठूलो संख्यामा विभिन्न राजनीतिक दलका असन्तुष्ट नेता÷कार्यकर्ताले पनि स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेद्वारमा पनि महिलाको संख्या निकै कम देखिन्छ । देशभर कुल ८ सय ५८ जना पुरुषले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका छन् । स्वतन्त्र रूपमा उम्मेद्वारी दिने महिलाको संख्या भने देशभर ८५ मात्र रहेको छ ।

राजनीतिक दल र स्वतन्त्र गरी कुल २ हजार ५ सय २६ जना उम्मेद्वार पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये पुरुषको संख्या २ हजार २ सय ९१ र महिला उम्मेद्वारको संख्या २ सय ३५ रहेको छ । आयोगले प्रदेशगत रूपमा पनि उम्मेद्वारको तथ्यांक सार्वजनिक गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रदेश–१ मा ५ सय ४८ जनाले उम्मेद्वारी दिएका छन् । त्यसमध्ये ४ सय ९३ जना पुरुष र ५५ जना महिला रहेको आयोगले जनाएको छ । प्रदेश–१ मा ३० वटा राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारले मनोनयनपत्र दर्ता गराएका छन् ।
यसैगरी मधेस प्रदेशमा प्रत्यक्षतर्फ १ हजार ५५ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये ९ सय ७८ जना पुरुष, ७६ जना महिला र अन्यमा एक जनाले उम्मेद्वारी दिएका छन् । मधेस प्रदेशमा ३७ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका छन् ।

यसैगरी बागमती प्रदेशमा ३२ वटा राजनीतिक दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ ७ सय १ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये पुरुष ६ सय १९ जना र महिला ८२ जना रहेका छन् । गण्डकी प्रदेशमा २३ राजनीतिक दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ २ सय ७१ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये पुरुष २ सय ३७ जना र महिला ३४ जना छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ वटा राजनीतिक दल र स्वतन्त्र गरी ५ सय ३२ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिनेमा पाँच सय जना पुरुष र ३२ जना महिला रहेका छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ वटा राजनीतिक दल र स्वतन्त्र गरी १ सय ४३ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये १ सय ३९ जना पुरुष र चार जना महिलाको उम्मेद्वारी रहेको आयोगले जनाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २० वटा राजनीतिक दल र स्वतन्त्र गरी २ सय २६ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये २ सय १२ जना पुरुष र १४ जना महिलाको उम्मेद्वारी परेको आयोगले जनाएको छ ।

यसैगरी पार्टीगत रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैभन्दा बढी उम्मेद्वार उठाएको छ । राप्रपाले १ सय ६५ मध्ये १ सय ४५ स्थानमा आफ्ना उम्मेद्वार उठाएको छ । राप्रपापछि धेरै स्थानमा उम्मेद्वारी दिने राजनीतिक दलमा नेकपा एमाले रहेको छ ।

एमालेले १ सय ४४ स्थानमा आफ्ना उम्मेद्वार उठाएको छ । धेरै स्थानमा उम्मेद्वार उठाउनेको सूचीको तेस्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर १ सय ३३ स्थानमा उम्मेद्वारी दिएको छ । नेपाल मजदुर किसान पार्टीले १ सय ७, नेपाली कांग्रेसले ९२, मंगोल नेसनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टीले ८१, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६५, हाम्रो नेपाल पार्टीले ६४, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५२ स्थानमा आफ्ना उम्मेद्वार उठाएका छन् ।

आयोगका अनुसार, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले ४७, नेपाली कांग्रेस बिपीले ४०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३९, नागरिक उन्मुक्ति पार्टीले ३४, जन समाजवादी पार्टी नेपालले ३४, नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले २६, नेकपा माक्र्सवादी लेनिनवादीले २५ तथा नेकपा एकीकृत समाजवादीले २५ स्थानमा उम्मेदवारी दिएका छन् ।

मौलिक जरोकिलो पार्टीले २३, नेश्नलिस्ट पिपल्स पार्टीले २०, नेपालका लागि नेपाली पार्टीले २०, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १६, जनता प्रगतिशील पार्टी, नेपालले १५, एकीकृत शक्ति नेपालले १३, नेपाल लोकतान्त्रिक पार्टीले १२, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले ११, नेपाल जनता पार्टीले १०, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी पुष्पलालले नौ, नेपाल संघीय समाजवादी पार्टीले नौ, नेपाल सद्भावना पार्टीले आठ, बहुजन शक्ति पार्टीले सात र विवेकशील साझा पार्टीले सात स्थानमा उम्मेद्वार उठाएका छन् ।

प्रतिक्रिया