बाँकेमा नौ पदका लागि ९८ जना चुनावी मैदानमा

बाँके । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कुल नौ पदका लागि ९८ जनाको उम्मेदवारी परेको छ । आइतबार तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित कुल ९८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधि र प्रदेशसभामा गरी २८ जनाको उम्मेदवारी परेको छ । तीमध्ये प्रतिनिधिसभा र प्रदेश गरी ६ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभामा एक जना स्वतन्त्रसहित ११ जना छन् । प्रदेश १(क)मा चार जना स्वतन्त्रसहित १० जना र प्रदेश १(ख) मा एक जना स्वतन्त्रसहित सात जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत यमप्रसाद बाँस्कोटाले बताए ।

यस क्षेत्रमा दुई जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस बिपीका तर्फबाट कुन्ती शर्मा र प्रदेश सभा–१ (क) मा गठबन्धनबाट माओवादीका कृष्णा केसी (नमुना) उम्मेदवारी दर्ता गराएकी हुन् । यस क्षेत्रमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज दोस्रोपटक चुनाव लड्दैछन् । ०७४ मा वामगठबन्धनका उम्मेदवार बनेका उनी यसपटक भने वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले चुनौती दिनेछन् । बाँके–२ मा दुई मन्त्रीसहित ३९ जना उम्मेदवार बनेका छन् ।

सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीका अनुसार प्रतिनिधिसभामा १५, प्रदेशमा (क) मा १२ र (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नेता तथा संघ सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका मोहम्मद ईश्तियाक राई, राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणा, नेपाली कांग्रेसका नेता सुदीपनरसिंह राणा उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । मन्त्री राईले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

बाँके क्षेत्र नम्बर ३ मा पनि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । यसक्षेत्रमा प्रतिनिधिसभामा १० जना, प्रदेश ‘क’ मा ९ ‘ख’ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर र नेकपा एमाले बाँकेका अध्यक्षसमेत रहेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिक्रिया