पूर्वमन्त्री जोशीलाई विद्यार्थी नेता महरले देलान् त टक्कर ?

बझाङ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एउटा मात्रै निर्बाचन क्षेत्र रहेको बझाङमा बाम–लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी र नेकपा एमालेका नेता ऐन महरबीच प्रतिस्पर्धा हुने भएको छ । भानुभक्त जोशी बझाङ कम्युनिस्टका संस्थापक नेता हुन् । सरल स्वभावका विकासप्रेमी नेता जोशी जिल्लामा निकै लोकप्रिय कम्युनिस्ट नेता मानिन्छन् । पूर्ववनमन्त्रीसमेत भइसकेका जोशी ०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् ।


आसन्न निर्वाचनका लागि वाम–लोकतान्त्रिक गठबन्धबीच तालमेल हुँदा बझाङ नेकपा (एकीकृत समाजवादी) को भागमा परेको थियो । बाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोशी ०६४ सालमा आफ्नै स्वकीय सचिवसमेत रहेका महरभन्दा जनमतको हिसाबले सशक्त बलियो देखिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेका कारण प्रतिनिधिसभामा जोशीको उम्मेदवारी एमाले नेता महरका लागि भारी पर्ने देखिएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभाअन्र्तगत निर्वाचन क्षेत्र नम्बर ‘क’ मा नेपाली कांग्रेसका पृथ्बीबहादुर सिंह र ‘ख’ मा नेकपा माओवादी केन्द्रका भीम भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभामा एमालेका तर्फबाट प्रदेशसभा ‘क’ मा अफिलाल ओखेडा र ‘ख’ मा एलबी रावल चुनावी मैदानमा छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनको कसिलो तालमेल, साझा उम्मेदवार जोशीको व्यक्तिगत छवि तथा वर्तमान चुनावी अंक गाणितमा एमालेभन्दा भारी मतान्तरले अगाडि रहेका कारण पनि बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले टक्कर दिन मुस्किल पर्ने विश्लेषण गरिएको छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई विश्लेषण गर्ने हो भने वाम–लोकतान्त्रिक गठबन्धन एमालेभन्दा ८ हजार ३ सय ३२ मतान्तरले अगाडि छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार १ सय ६६, माओवादी केन्द्रले ९ हजार १ सय ४५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । यद्यपि स्थानीय निर्वाचनमा समेत यी दलहरूको चुनावी तालमेल भएका कारण सबै वडामा सबै पार्टीले उम्मेदवारी दिएका थिएनन् । स्थानीय तहको निर्वाचनमा सबै पालिकाका सबै वडामा उम्मेदवारी दिएको एमालेले २८ हजार ६ सय ११ मत पाएको थियो । यो चुनावी अंक गणितलाई विश्लेषण गर्ने हो भने बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनभन्दा एमाले ८ हजार ३ सय ३२ मतले पछाडि छ ।

दुई निर्वाचन क्षेत्र हुँदा बझाङ क्षेत्र नम्बर–१ मा ०४८ र ०५६ मा नेपाली कांग्रेस विजयी भएको थियो भने ०५१ र ०६४ मा नेकपा एमालेबाट भानुभक्त जोशीले जीत हात पारेका थिए । ०६४ को निर्वाचनमा देशभरिबाट नेकपा एमाले ३१ सिटमा खुम्चिदा बझाङमा भानुभक्त जोशीले एक सिट जितेर सुदूरपश्चिममा एमालेको बिउ जोगाएका थिए । यसैगरी ०७० को निर्वाचनमा पनि बझाङ क्षेत्र नम्बर–१ मा नेकपा एमाले विजयी भएको थियो ।

उता बझाङ क्षेत्र नम्बर–२ मा ०५१ मा स्वतन्त्र उम्मेदवार नरेस सिंहले जित हात पारेका थिए भने ०४८ र ०५६ मा नेपाली कांग्रेस, ०६४ मा नेकपा माओवादी र ०७० मा एमालेले जित हात पारेको थियो । ०७४ मा निर्वाचन क्षेत्र हेरफेर भएर सम्पूर्ण जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएपछि माओवादीको समर्थनमा बाम–गठबन्धनका तर्फबाट भैरवबहादुर सिंह विजयी भएका थिए ।

केही समय अघिसम्म प्रतिनिधिसभाको सिट दाबी गर्दै आएको बझाङको नेपाली कांग्रेसले गठबन्धनको भागबन्डा मिलाउन आफ्नो दाबी छोडेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई समर्थन गरेको छ । बझाङमा नेपाली कांग्रेसबाट अर्जुन जंग बहादुर सिंह, पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेका थिए । कांग्रेसका पृथ्वीबहादुर सिंह बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’ को चुनावी मैदानमा छन् ।
बझाङ कांग्रेसका प्रभावशाली नेताहरू सत्यराज भण्डारी, जनक बुढा, अर्जुन जंग बहादुर सिंह र नरेशबहादुर सिंह लगायतका नेताहरू एकढिक्का भएर वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिएका छन् ।

नेकपा एमाले बझाङका संस्थापक नेतासमेत रहेका वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले एमालेकै करिब ४० प्रतिशत मत काट्ने नाम उल्लेख नगर्ने सर्तमा नेकपा एमाले बझाङका एक पदाधिकारी स्वीकार गर्छन् । आमबझाङी जनतामाझ लोकप्रिय व्यक्तिगत छबिका कारण प्रतिपर्धी एमाले नेता ऐन महरको तुलनामा जोशीले अत्यधिक लोकप्रिय मत पाउने विश्लेषण गरिएको छ ।

बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुवावी मैदानमा उत्रिएका छन् । काठमाडौंलाई आधार मानेर विद्यार्थी राजनीतिबाट उदाएका महर बझाङका लागि प्रतिपर्धी जोशीको तुलनामा निकै कमजोर देखिन्छन् । राजनीतिक योगदानभन्दा पनि नेताको आशीर्वादले टिकट पाएको आरोप लाग्दै आएका महरको उम्मेदवारीले नेकपा एमाले बझाङभित्रै चरम असन्तुष्टि छ । गत स्थानीय निर्वाचनमा आफ्नै सहोदर भाइलाई आफ्नै वडामा वडाध्यक्षसमेत जिताउन नसकेका महरले लागि जिल्लामा पुराना र त्यागी नेताहरूलाई पन्छाएर टिकट फुत्काउन सफल भए पनि आसन्न निर्वाचन जित हात पार्नचाहिँ फलामको च्युरा चपाउनुजस्तै रहेको चर्चा बझाङका राजनीतिक विश्लेषहरूबीच हुने गरेको छ ।

प्रतिक्रिया