निर्वाचन आयोगद्वारा खर्चमा कडाई

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा दल र उम्मेदरहरुले सामाजिक सञ्जालमार्फत गर्ने विज्ञापन पनि निर्वाचन खर्चमा समावेश गरिने भएको छ । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले उक्त प्रचारसमेत निर्वाचन खर्चमा समावेश हुने बताएको हो ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोगसमेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ‚’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति—२०७७ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन‚ अनुगमन तथा मूल्यांकनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजना बमोजिम भए÷गरेका काम कारबाहीको निरन्तर अनुगमन र मुल्यांकन गर्ने कार्य भइरहेको आयोगले जनाएको छ ।

यसैगरी आयोगले निर्वाचन आचारसंहिता—२०७९ को दफा ४ को (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले होच्याउने‚ दुष्प्रचार गर्ने‚ भ्रामक सूचना सम्प्रेषण गर्ने‚ द्वेषपूर्ण अभिव्यक्ति दिनेजस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया