बेमौसमी वर्षाको वितण्डा : सडक, कृषि र विद्युतमा क्षति, जनजीवन कष्टकर

प्युठान । जिल्लामा लगातार चार दिनदेखि परेको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । जिल्लाभरका सडक अबरुद्ध भएका छन् । वर्षाले जलविद्युत् र कृषिमा ठूलो क्षति पुर्याएको छ । दशैँसमेत खल्लो बनाएको छ । टाढाबाट मान्यजनको टीका थाप्न आएका आफन्तहरु सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्न सकेका छैनन् । वर्षापछि आएको बाढीपहिरोले प्युठानका झिमरुक र गौमुखी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध भएसँगै उक्त क्षेत्रमा सयौं घरधुरीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत अबरुद्ध भएपछि उक्त क्षेत्रमा सञ्चार समेत बिच्छेद भएको छ ।

बाढी पहिरोले अधिकांश सडक अवरुद्ध

बाढी पहिरो कारण जिल्लाका अधिकांश सडक अवरुद्ध बनेका छन् । जिल्लाको महत्वपूर्ण सडक भालुवाङ-प्युठान सडक ठाउँ ठाउँमा खसेको पहिरोका कारण गए राती देखि अवरुद्ध बनेको छ । वर्षाका कारण प्युठानका प्राय सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भए पछि सडक सञ्जालवाट गाउँ पुर्णरुपमा बिच्छेद बनेका छन् ।

आज बिहानै जिल्लाबाट बिरामी बोकेर लिएका दुइवटा एम्बुलेन्स माण्डबीको चकचके जसपुरमा सडक अबरुद्ध भएपछि रोकिएका छन् । दशैँमा टीका लगाउन आउजाउ गर्न स्थानीयलाई समस्यामा परेको छ । वर्षाका कारण भालुवाङ–प्युठान सडक विभिन्न ठाउमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक माथीबाट खसेको लेदो सहितको पहिरोले खहरेखोला, सिमलचौर र चेरनेटा आसपासका ठाउँ ठाउँमा पहिरोले छेकेपछि सवारी आवागमन ठप्प छ । बाग्दुला, मच्छी, ठुलाबेसी, अर्खा, रजवारा सडकको दर्जनौं स्थानमा पहिलो र ठाडोखोलाले सडक अवरुद्ध गरेको छ ।

मच्छी सौतामारी गुल्मी अर्घाखाँची सडक बाग्दुला बहाने लिघा डाम्री स्याउलिवाङ बहाने खवाङ स्याउलिवाङ सडक मजुवा दहखोला अर्घाखाँची मजुवा ठुलासिम चुजा सडक भिङी स्वर्गद्वारी सडक लगायतका दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् । कतिपय स्थानमा सडक भासिएको छ । झिमरुक र माडी नदीको सतह बढेपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।

खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य छन् । सडक खुलाउने प्रयास जारी रहेपनि भीषण वर्षाले काम गर्न समस्या भएको सडक डिभिजन कार्यालले जानकारी दिएको छ । उता जिल्ला प्रशासन कार्यालयले स्थानीय जनतालाई सचेत रहन सूचना समेत जारी गरेको छ । बाढी पहिरोको खतरा हुने भन्दै सुरक्षा निकायलाई सतर्क अवस्थामा समेत राखिएको जिल्ला प्रशासन कार्यालय प्युठानले जानकारी दिएको छ ।

पाक्ने वेलाको धान ढल्दा काटेको धान पानीले भिजाउदा किसान चिन्तित

प्युठानमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । जिल्लाको झिमरुक भिङ्री बरौला मच्छी मरन्ठाना लगाएत आसपासका भित्री फटहरुमा किसानले उब्जाएको धान खेती हावाहुरीले ढलाएर पानीले भिजाएर क्षति पुर्याएको हो । निरन्तरको बर्षाले धान बिस्तारै कुहिने अवस्थामा पुगेको छ । धानबालीलाई आबश्यक पर्ने साउने महिनामा चर्को खडेरी र भित्र्याउने समयमा परेको झरीले खेतीमा पुरर्याएको असरले प्यूठानका कृषकहरु अत्यन्तै चिन्तित छन् ।

अब धान काटेर भाकारीमा भित्र्याउने बेलामा वर्षाले बिगारेकोले किसान झन चिन्तित भएका छन् । जिल्लाको कुल खेती योग्य क्षेत्रफलको ४२ हजार हेक्टर क्षेत्रफल मध्ये ६ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती किसानले लगाउदै आएको छ । बर्षा पश्चिम क्षेत्रमा आइतवार सम्म जारी रहने मौषम बिज्ञान बिभागको प्रक्षेपणले धानबाली ठूलो मात्रामा कुहिएर जाने र यसले प्यूठानमा खाद्यान्न संकट गहिरिने कृषि क्षेत्रका अधिकारीहरुको बुझाई छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया