नवरात्र अर्थात देवी दुर्गाको आराधना गर्ने पर्व

हट्यो सारा हिलो मैलो


हरायो पानीको वर्षा ।


भवानीको भयो पूजा


चल्यो आनन्दको वर्षा ।।

ठूला साना सबैलाई


दसैँ अत्यन्त राम्रो छ ।


चलेका चाडमा ज्यादै


यही उत्कृष्ट हाम्रो छ ।।

कवि शिरोमणि लेखनाथ पौड्यालले लेख्नुभए झैँ सबै चाडमध्ये दसैँ वास्तवमै उत्कृष्ट छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि पूर्णिमासम्म मनाइने यो चाड हिदू धर्माबलम्बीहरूले मनाइने चाडमध्ये लामो चाड पनि हो । प्रतिपदाका दिन घटस्थापना गरी नवमीसम्म देवी दुर्गा अर्थात शक्तिको आराधना गरी दशमीका दिन मान्यजनबाट प्रसाद ग्रहण गर्ने गरिन्छ । ठाउँ अनुसार प्रसाद ग्रहण पूर्णिमासम्म पनि चल्छ । देशभित्र छरिएर रहेका हुन् वा विदेशमा रहेका आफन्तजनका साथै इष्टमित्रसँग भेटघाट गराउने चाड पनि हो वडादसैँ ।

हिन्दूधर्मअनुसार एक वर्षमा चार नवरात्र हुन्छन् । चैत महिनामा पर्ने पहिलो, असार महिनामा पर्ने दोस्रो, असोज महिनामा पर्ने तेस्रो जुन प्रमुख मानिन्छ । त्यसैगरी माघ महिनामा पर्ने नवरात्री जसलाई गुप्त नवरात्रि पनि भनिन्छ । यी सबै नवरात्रमा देवीको नै आराधना गरी पूजा गर्ने गरिन्छ । देवी भागवतका अनुसार शरद ऋतुमा पर्ने अर्थात असोजको नवरात्रलाई र वसन्त ऋतुमा पर्ने अर्थात चैतको नवरात्रलाई विशेष प्राथमिकता दिएको पाइन्छ । नेपालमा पनि पहिले दसँै चैतमा मनाइने गरिन्थ्यो भन्ने कुरा सुन्दै आएका पनि थियौँ । जुन कुरा वंशावलीमा भेटिए पनि अन्य धार्मिक ग्रन्थमा भने भेटिएको छैन ।

राजभोगमाला वंशावलीमा दसैँसम्बन्धी लेखिएको छ कि ः ‘उप्रान्त दक्षिण दिशाबाट महेश्वर ठाकुर नाम षट् शास्त्रमा पार ग¥याका ब्राह्मण विक्रमादित्य सेनका पराक्रम पूण्यप्रताप सुनि नेपालभूमिमा आया । राजाबाट उनको परीक्षा गरी गुरु पनि गरी राजाबाट र मन्त्रि बुद्धिलेनले विधि पु¥याइ मन्त्र सुनी दीक्षा ग्रहण ग¥या । ताहापछि महेश्वर ठाकुरका सम्मतले चैत्रावली नवरात्र स्वल्प गरी शरद् ऋतुका नवरात्रि प्रतिपदादेषी सप्तमीपर्यन्त चण्डिका प्रमाण प्रथम नेपालका राजा प्रजा सबले सब मान्नु भन्न्या रित् चलाया । यो दशमी कर्मसम्म राज्य ग¥यापछि हस्तिनापुरमा पनि चलायिदिया । अघि सरद ऋतुको नवरात्रि कर्म दुनियालाई चल्याको थिएन । इनै राजाका पुण्यप्रतापले हिन्दूहरूमा चलाइदिया । ‘अस्य पुत्र नरेन्द्रदेव भोग वर्ष १ । इनले राज्याभिषेक पाइ चांडै परलोक हुंदा भाइ श्री गुणकाम नाम ग¥याकाकन राज्याभिषेक दिया । अस्य भोग वर्ष । ‘ इन राजाले फेरी षङ्गजात्रा अघि नभयाको मूलक्षै आगम स्थापना गर्न पाउंदा दशमीका दिन निमन्त्रण कर्म पुजा गराइ आश्विन शुक्ल परेवाका दिन, घटस्थापना जवो रोप्ने दश दिनका दशमिमा षर्गजात्रा गर्दाभया ।’

यसले विक्रमादित्य सेनको शासन कालमा चैते दसँैलाई छोट्याई शारदीय दसैँलाई धुमधामसँग मनाउने चलन चलाइयो भनेर बुझ्न सकिन्छ । सोही वंशावलीले परेवाका दिन जौ रोप्ने, नौ दिन पूजा गरी त्यो जमरालाई दुर्गाको प्रसादस्वरूप दसौँ दिन शिरमा सिउरने चलन गुणकामदेवले चलाएका हुन् भनेको छ ।

‘बडा’ शब्दको अर्थ आफूभन्दा उमेरले पाको मान्यजन, जेठो वा सबैमा ठूलो वा श्रेष्ठ भन्ने हुन्छ । चैते दसैँभन्दा पहिले मनाइने र ठूलो बनाइएको वा ठानिएको हुनाले शारदीय दसैँलाई बडादसैँ भनिएको हो ।

यो दशहरा वा रावण विजयसँग सम्बन्धित विजयादशमी होइन । पुराणहरूमा दिइएको रावण वधको तिथिमितिसँग शारदीय दसैँको तिथिमिति मेल खाँदैन । रामले लंकातर्फ प्रस्थान गर्नुअघि शक्ति आर्जन गर्न भगवान् शिव र माता दुर्गाको अत्यन्त उल्लासपूर्ण ढंगले पूजा गरेको वयान पाइन्छ । शारदीय नवरात्र त्यसको चाहिँ प्रतीक हुन सक्छ । आश्विनमा गरिने नवरात्रको पूजा र दसैँको टीका लगाउने प्रचलन रावणवध गरेको दिनदेखि सुरु भएको भन्ने विचार सही होइन । स्वयं भगवान् श्रीरामले यो नवरात्र–व्रत बसेर रावण मार्ने शक्ति देवीबाट पाएको प्रसंग उल्लेख भएको पाइन्छ । यो व्रत स्वयं शिवले त्रिपुरासुर मार्न, इन्द्रले वृत्रासुर मार्न र विष्णुले मधु दैत्यलाई मार्न बसेका थिए ।

देवी भागवतका अनुसार देवीको शरद ऋतुमा गरिने पूजा तीन किसिमको हुन्छ । सात्विक, राजसी र तामसी । जप, यज्ञ, नैवेद्य, पुराण पठन, होम आदिले गर्ने मांसरहित पूजा सात्विक पूजा हो । बलिदान गरी मांससहित समन्त्र गरिने पूजा राजसी पूजा हो । जप, यज्ञ आदि नगरी सुरा, मासु आदि चढाएर विनामन्त्र गरिने पूजा तामसी पूजा हो ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीय चंद्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

सप्तमं कालरात्रि महागौरीति चाऽष्टम् ।

नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।

पर्वतराज हिमालयकी छोरी भएकी कारण यिनलाई शैलपुत्री भनिएकी हुन् । नवरात्रको पहिलो दिन यिनैको आराधना गरिन्छ । त्यसैगरी दोस्रोदिन ब्रम्हचारिणीको आराधना गरिन्छ । ‘वेदअनुसार आचरण गर्ने वा ब्रह्मचर्य व्रत धारण गर्ने स्त्री ।’ मनुले ‘आजन्म आत्मसंयम र धैर्यता अपनाई एकपतिको एकपत्नी भई धर्माचरण गर्दै रहन सक्ने स्त्रीलाई ब्रह्मचारिणी स्त्री’ भनी लेखेका छन् ।

तेस्रो दिन चन्द्रघण्टादेवीको आराधाना गरिन्छ । चन्द्रघण्टा नाम रहनुमा विभिन्न कारणहरू दिइएका छन् । हातमा चन्द्राकार घण्ट समाएकी हुनाले, चन्द्रमा समान शीतलता प्रदान गर्ने आवाज सबैलाई दिने घण्ट समाएकी हुनाले, चन्द्रमाले भन्दा पनि बढी आनन्द दिने हुनाले, शीवकी अर्धांगिनीकीरूपमा शिवकै आधार शरीर भई शीरमा शिवलेझैं चन्द्रमा धारण गर्ने हुनाले, निधारमा घण्टको आकारको अर्धचन्द्र भएकी हुनाले आदि कुरा लेखिएका छन् ।

दुर्गा भवानीको चौथो कूष्माण्डारूपको पूजा गर्ने दिन । कुभिण्डोको बलि मन पराउने हुनाले देवीको योरूपको नाम कूष्माण्डी रहेको भनेर कतैकतै लेखिएको पाइन्छ । संसार पहिला अण्डमय थियो र त्यो अण्डबाट सृष्टि गर्ने देवी कूष्माण्डा हुन् भनेर पनि लेखिएको छ । पाँचौँ दिन स्कन्दमाता देवीको पूजा गरिन्छ । अयोनिज कुमारलाई मातृवत् काखमा लिई स्तनपान गराउँदा उनको मातृसुख देखेर सबै देवताले उनको नाम स्कन्दमाता राखेका जस्ता वृत्तान्तहरू पुराणहरूमा पाइन्छन् । शिवको वीर्य अग्नि, वृक्ष, गंगा हुँदै, सखरखण्डको झालमा पुगेर बालकको रूपमा परिणत भएको थियो । षडकृत्तिका समेतले उनलाई मातृस्नेह दिएका थिए ।

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको आराधाना गरिन्छ । कत नामका महर्षिका कात्य नामका पुत्रको गोत्रमा जन्मेका कात्यायन ऋषिले घोर तपस्या गरी दानवको संहारका लागि देवीलाई पुत्रीकारूपमा जन्माएका थिए । यिनको नाम नै कात्यायनी भनी प्रसिद्ध भयो । नवरात्रको सातौँ दिन दुर्गाको कालरात्रि स्वरूपको पूजा आराधना गरिन्छ । कालका पनि काल अर्थात् प्रलयकालमा यमराजलाई समेत संहार गर्ने हुनाले शिवलाई महाकाल भनिन्छ । तिनकी पत्नी अर्थात शक्तिलाई महाकाली भनिन्छ । उनका पाँच मुख र आठ हात हुन्छन् । देवी भागवतमा देवीको सात्विक रूपलाई महालक्ष्मी, राजसी रूपलाई सरस्वती र तामसी रूपलाई महाकाली भनिएको छ ।

षष्ठीका दिन निम्त दिएर सम्तमीका दिन पूmलपाती भित्र्याउनुपर्ने शास्त्रीय विधान रहेको छ । बृहत्पुरश्चर्यार्णवः नामक ग्रन्थमा फूलपाती भित्र्याउने बिहानको समय लाभकारी हुन्छ बेलुकीको समय अशुभ र विनाशकारी हुन्छ भन्ने कुरा उल्लेख छ । तर हाम्रो समाजमा अधिकतर बेलुकी भित्र्याउने गरेको देखिन्छ । यो नितान्त गलत हो ।

पूर्वाह्ने नव–पत्रिका शुभकरी सर्वार्थसिद्धिप्रदा

आरोग्यं धनदा करोति विजयं चण्डीप्रवेशे शुभा ।

मध्याह्ने न च पीडनं क्षयकरी नृणामघोरावहा

सायाह्ने वधबन्धमादिकलहं सर्वक्षतिं दास्यति ।।

(१) केरा (२) दाडिम (३) धान (४) हलेदो (५) माने पिँडालु (६) कालो हलेदो (७) बेल (८) अशोक र (९) जयन्तीका पातहरू जोर फलसहित वा पात मात्रलाई पवित्र भाँडामा शुद्ध जल वा अबिर अक्षता छर्केर घरभित्र हुल्ने परपरागत विधिलाई फूलपाती भित्र्याउने भनिन्छ । हनुमानढोकाको दसैँ घरमा गोरखाबाट फूलपाती लेराएर यसैदिन भित्र्याइन्छ ।

नवरात्रको आठौँ दिन महागौरीको आराधना गरिन्छ । गोरो वर्णकी महागौरीको उपासना गर्नाले असम्भव कार्य पनि सम्भव भएर जान्छ भन्ने जनविश्वास रहेको छ । त्यसैगरी नवौ दिन सिद्धिदात्री रूपको आराधना गरिन्छ । सबै प्रकारको सिद्धिका दाता भएकी हुनाले यिनलाई सिद्धिदात्री भनिएको हो । चैतमा पर्ने दसैँमा यो दिन रामनवमी पर्वले पनि चिनिन्छ । यस दिन नवदुर्गाको प्रतीकको रुपमा नौ वटा कुमारीहरू जम्मा गरेर पूजा गर्न चलन पनि रहेको छ यसै दिन काठमाडौंमा रहेको तुलजा भवानीको मन्दिर दर्शनार्थीका लागि खुला हुन्छ ।

नवरात्रभर देवी दुर्गाको विभिन्न नौ रूपको विधिविधानले पूजा आराधना सकिएपछि दसौँ दिन दुर्गाको प्रसादको रूपमा जमरा र टीकासहित आफूभन्दा ठूला मान्यजनबाट आर्शीवाद थापिन्छ । सबैभन्दा पहिला घरका कन्याकेटीलाई स्तुति गर्दै प्रसाद दिएर नमस्कार गरेपछि मात्र घरका ज्येष्ठ सदस्यबाट क्रमैसँग जमरासहितको टीका प्र्रसाद ग्रहण गरी आशीर्वाद लिनुपर्दछ ।

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गाक्षमा शिवाधात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

अर्थात : जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा (नामले प्रसिद्ध) हे दुर्गे हजूरलाई नमस्कार छ ।

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे,

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,

विज्ञानं विदुरे भवन्तु भवतां कीतिश्च नारायणे ।

अर्थात : हजूरको आयु द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो, शोभा भगवान् राचन्द्रका पिता राजा दशरथको जस्तो, शत्रुहरू भगवान् रामचन्द्रका शत्रु नासिएझैँ नासियुन्, श्रीसम्पत्ति सहितको प्रभुत्व राजा नहुषको जस्तो, गति पवनको जस्तो, मानसम्मान राजा दुर्योधनको जस्तो, पराक्रम भीष्म पितामहको जस्तो, बल श्रीकृष्णका दाजु हलो बोक्ने बलरामको जस्तोे, सत्यता धर्मराज युधिष्ठिरको जस्तो, महात्मा विदुरको जस्तो ज्ञान र यश नारायण भगवान्को जस्तो होस् ।

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे,

वद्र्धन्तां बन्धुवर्गाः सकलरिपुगणा यान्तु पातालमूले ।

देशेदेशे च कीत्र्तिः प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा,

जीव त्वं पुत्त्रपौत्त्रैः सकलसुखवृतैर्हायनानां शतञ्च ।

अर्थात, हजुरका घरमा कमलनयनी लक्ष्मीको र कण्ठमा देवी सरस्वतीको वास होस् । नाताकुटुम्ब बढुन् । सम्पूर्ण शत्रुहरू जरैसहित पाताल भासियुन् । कुन्दपुष्पको बास्ना र चन्द्रमाको किरण फैलिए जसरी हजूरको देशविदेशमा कीर्ति फैलियोस् । सबै खालका सुख एवं छोरानातीले सहित भई हजुरको आयु पनि सय वर्षको होस् ।

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु,

गोबाजिहस्तिधनधान्य समृद्धिरस्तु ।

ऐश्वर्यमस्तु बलमस्तु रिपुक्षयस्तु,

सन्तानसुखसहिता हरिभक्तिरस्तु ।

अर्थात ः हजुरको सबै थोक राम्रो होस् । कुशलमंगल होस् । लामो आयु होस् । गाई, घोडा, हात्ती, धन र धान्यले परिपूर्ण होस् । ऐश्वर्य होस् । बल होस् । शत्रु नष्ट हुन् । सन्तान वृद्धिका साथै भगवान्मा भक्ति रहोस् ।

प्रतिक्रिया