ठाउँ र समुदायअनुसार दसैँको फरक संस्कृति

नेपालमा धेरैजसो समुदायले दसैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोलअनुसार फरक–फरक छ । कतै देवीको पूजा आराधनासहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा मात्रै लगाएर पनि दसैँ मनाउने प्रचलन छ । कतिपय जनजाति समुदायले आफन्त भेटघाट र मिठो परिकार खाएर मात्रै पनि दसैँ मनाउने गरेका छन् । संस्कृतिविद् र जानकारहरूका अनुसार नेपालमा जाति, भूगोल र परम्पराअनुसार दसैँमा रातो, सेतो, पहेँलो र कालो रङको टीका लगाउने चलन छ ।

दसैँलाई प्रमुख चाडको रूपमा मनाउने हिन्दू ब्राह्मण र क्षेत्री समुदायका धेरैजसोले यो चाडमा रातो टीका लगाउँछन् भने राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारू समुदायका अधिकांशले दसैँमा सेतो टीका लगाउने गरेका छन् । धेरैजसो बौद्ध मार्गीले दसैँ नमनाए पनि तामाङ समुदायका केहीले सेतो टीका लगाएर दसैँ मनाउने गरेका छन् । पछिल्लो समय कतिपय जनजातिहरूले पनि दसैँमा रातै टीका लगाउने गरेका छन् । दसैँ मान्ने धेरैजसो नेवार समुदायमा दसैँमा रातो टीकाकै चलन भए पनि केही नेवारहरूले यो चाडमा कालो टीका पनि लगाउने प्रचलन छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका संस्कृतिविद् जगमान गुरुङका अनुसार पहिले पहिले सबै समुदाय र क्षेत्रमा सेतै टीकाको प्रचलन भए पनि रङको उपलब्धतासँगै कतिपयले रातो टीका लगाउन सुरु गरेका हुन् । उनी भन्छन्, ‘सुरुमा सबैको सेतो नै हो । घरमै हुने अक्षता र दहीको टीका लगाउँथे । पछि बजारको सुविधा भएपछि भारतबाट अबिर ल्याएर लगाउन थाले । पहिले रातो टीका नेवारहरूले लगाउन थाले, उनीहरू व्यापार गर्ने, उनीहरूले पहिले रङ पाए । त्यसपछि बाहुनहरूले त्यसको सिको गरे ।’
तर, सबै नेवारहरूले रातो टीका लगाउँदैनन् । कतिपय नेवारहरू कालो टीका पनि लगाउँछन् । दसैँलाई मोहिनी भन्ने यो समुदायले दियो बाल्दा जम्मा हुने ध्वाँसोसँग चामल मुछेर कालो टीका लगाउने गरेका छन् ।

काठमाडौं उपत्यकाको काँठ भनिने क्षेत्रका कतिपय क्षेत्री समुदायमा पनि कालो टीकाको प्रचलन गरेको गुरुङ बताउँछन् ।
कालो टीका तान्त्रिक विद्यासँग पनि जोडिएको बताइन्छ । कालो टीकाले दानव लट्ठिएर देवीले विजय हासिल गरेको विश्वासमा कालो टीकाको चलन रहेको बताइन्छ ।

पूर्वी नेपालका राई लिम्बुहरूले चाहिँ दसैँलाई सांस्कृतिक महत्व दिने गरेका छैनन् । राई र लिम्बु संस्कृतिबारे जानकारहरूका अनुसार दसैँ मान्ने र नमान्ने विषयलाई लिएर यो दुवै समुदायमा मतभेद छ । ‘नेपाल एकीकरण पछि सुवांगी प्रथा सुरु भयो त्यसपछि मात्रै पूर्वमा सुब्बाहरूले दसैँ मान्न सुरु गरेका हुन्’, लिम्बु संस्कृतिका अध्येतासमेत रहेका तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ् भन्छन्, ‘लिम्बुहरूले अहिले आएर बिस्तारै दसैँ मनाउन छोडेका छन् ।’

उनका अनुसार दसैँ मनाउने लिम्बु समुदायले दसैँमा दैवी शक्तिको आराधना गर्ने, हतियारको पूजा गर्ने, बली दिने र टीका जमरा लगाउने चलन छ । राजा र राणाहरूलाई घरमा बलि दिएको प्रमाण देखाउन राई र लिम्बूहरूले हत्केलामा रगत पोतेर घरको मूल ढोकाको दुवैतर्फ छाप लगाउने गरेको माबोहाङ् बताउँछन् ।
नेपाल एकीकरण पछि मात्रै लिम्बुहरूले दसैँ मनाउने गरेको कुरामा संस्कृतिविद् गुरुङ सहमत छैनन् । राई लिम्बूहरूले विगतबाटै देवीका शक्ति पीठहरूको पूजा गर्ने र टीका लगाउने चलन रहेको उनको दाबी छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्म बसोबास गर्ने थारूहरूले दसैँमा नवरात्री पूजा नगरे पनि टीका लगाउने गरेका छन् ।
थारू संस्कृतिबारे अध्ययन गरिरहेका कृष्ण सर्वाहारीका अनुसार थारूहरूले सेतो टीका लगाउने चलन रहे पनि कतिपयले अहिले रातो टीका पनि लगाउन सुरु गरेका छन् ।

थारू समुदायमा नौरथा पूजा नभए पनि सप्तमीदेखि सरसफाइ सुरु हुने र नवमीमा कुखुराको बलि दिने गरिएको छ । थारू समुदायमा दसैँ मनाउन बाबरी र दौना फूलको पूजामा प्रयोग हुने गरेको छ ।
‘थारु समुदायमा पारिवारिक टीकाबाहेक गाउँका संरक्षक मानिने गुरुबा र गाउँका अगुवाकोमा पनि टीका थाप्ने चलन छ । गुरुबालाई दक्षिणा पनि दिने चलन छ । दशमीकै दिन गुरुबाहरू भेला भएर आगोमा नाचिने अखडिया नाच गरेर नयाँ गुरुबा बन्ने चलन पनि छ’, उनले भने ।

तर, देशको पूर्व र पश्चिममा बसोबास गर्ने थारूहरूबीच पनि दसैँ मनाउने चलन फरक रहेको उनी बताउँछन् । थारू समुदायमा दसैँ अघिबाटै सुरु हुने सखिया नाच दसैँसँगै समापन गर्ने परम्परा छ ।
थारूबाहेक मगर, तामाङ र अन्य केही जनजातिहरूले पनि दसैँमा सेतो टीका लगाउने गरेका छन् ।

नेपालको मधेसमा बसोबास गर्ने अन्य जातिहरूमा पनि दसैँ मनाउने प्रचलन फरक छ । मधेसका कतिपय ठाउँहरूमा चाहिँ दसैँमा रक्षा बन्धन पनि बाँध्ने चलन छ ।

‘हाम्रोमा एक दिन मात्रै टीका लगाउने चलन छ । सबैले सबैलाई टीका लगाउने चलन छैन । घरको अभिभावकले दुर्गा पूजा गर्ने र उनैले सबैलाई टीका लगाइदिने चलन छ । यहाँ टीका लगाएर दक्षिणा दिने चलन पनि छैन’, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले भनिन् ।

उनका अनुसार मधेसमा सूर्य उदाउनुअघि नै जमरा काटेर जमराको फेद नदीमा बगाउने चलन छ । मधेसमा टोल तथा चोक क्षेत्रमा दुर्गा पूजा गर्ने र अष्टमी वा नवमीमा बलि नचढाएसम्म माछा मासु नखाने र उपवास बस्ने चलन रहेको मिश्र बताउँछिन् ।

दैलेखको दुल्लुमा चाहिँ बेसार मिसाएर पहेँलो टीका लगाउने चलन रहे पनि त्यो चलन हट्दै गएको छ । कतिपयले दुल्लु क्षेत्रलाई नेपालका बाहुन जातिको उद्गमस्थल मान्ने गरेका छन् । अहिले धेरैले रातो टीका नै लगाउन सुरु गरेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

उनले भने, ‘अहिले विधवा र दशनामी समुदायका केहीले मात्रै पहेँलो टीका लगाउँछन्, अरूले रातो टीका नै लगाउने चलन आइसक्यो ।’ – बिबिसी

प्रतिक्रिया