अन्तर्राष्ट्रिय महोत्सवमा २३ नाटक

काठमाडौं । मण्डला थिएटर नेपालको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ गतेदेखि हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवमा नेपाललगायत २३ देशका नाटक मञ्चन हुने छन् । यससँगै विभिन्न विषयमा अन्तत्र्रिmया, मास्टर क्लास, कार्यशाला, कला प्रदर्शनीसमेत हुने जनाइएको छ ।
आयोजकका अनुसार महोत्सवमा आवेदन परेका मध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटक छानिएका छन् ।

९ दिनसम्म चल्ने महोत्सवको सोमबार घोषणा गर्दै नेपाली नाटकले आधुनिक रंगमञ्चमा मौलिक विशिष्ट प्रभाव पारेको जनाइएको छ ।
मण्डला नाटकघर थापागाउँमा हुने महोत्सवमा नेपालसँगै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् । यसैगरी, भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने महोत्सवका निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिइन् । उनका अनुसार महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।

त्यस्तै, महोत्सवका संयोजक विजया कार्कीका अनुसार ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना २०२२ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने छ । उनले महोत्सवमा नेपाली नाटकले आधुनिक रंगमञ्चमा मौलिक कथावाचन शैलीका आयाम देखाउनेछ भने विदेशी नाटकले त्यहाँका समसामयिक सामाजिक–राजनीतिक विषय लिएर आउने भनाइ व्यक्त गरिन् ।

कार्यक्रममा मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रंगमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताए । उनले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झँदै देशमा कला, साहित्य, संगीत लगायतका महोत्सवको आवश्यकता रहेको जनाए ।

रंगकर्मी अनुप बरालले महोत्सवलाई शुभकामना दिँदै युवापुस्ताले नेपाली रंगमञ्चमा देखाएको सक्रियता र यस्ता महोत्सवले नेपाली रंगमञ्चको भविष्य निर्माण गर्दै जाने बताए । त्यस्तै, कार्यक्रम सञ्चालकको रुपमा रंगकर्मी केदार श्रेष्ठले रंगमञ्च कलालाई जीवनतर्फ फर्काउने र जीवनलाई कलातर्फ फर्काउने ठाउँ रहेको कथन सम्झँदै नेपाल अन्तर्राष्टिय नाट्य महोत्सव सम्बन्ध र भावनाको पनि महोत्सवसमेत रहेको बताए ।

महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रंगमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानका लागि इच्छुकले अवधारणापत्र पठाउनु पर्ने जनाइएको छ । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने छ ।

प्रतिक्रिया