रुकुम पूर्वमा ९ मतदान स्थल थप, मदतादा पनि थपिए

रुकुम पूर्व । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा ९ मतदान स्थल थप भएका छन । मतदान स्थल सिफारिस समितिले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले ९ मतदान स्थल थप गरेर पठाएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए । आयोगले भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा चार चार र सिस्नेमा एक वटा मतदान स्थल थप गरेको छ । 

भूगोल र मतदाताको संङख्यालाई आधार मानि मतदान स्थल थप गरिएको निर्वाचन अधिकारी ओलीले बताए । उनका अनुसार पुथाउत्तरगंगा गाउँपालिकामा २ नम्बर वडाको आधारभूत विद्यालय हार्दिबाङ, ५ नम्बर वडाको जनता आधारभूत विद्यालय काजरजङ, ७ नम्बर वडाको जनज्योति माध्यमिक विद्यालय जाङ र ११ नम्बर वडाको जनजागृति आधारभूत विद्यालय दमचनलाई नयाँ मतदान स्थल कामयम गरिएको छ । 

यसैगरि भूमे गाउँपालिकामा ६ नम्बर वडाको बालविकास आधारभूत विद्यालय नाखे, ७ नम्बर वडाको आधारभूत विद्यालय गुनाम, ८ नम्बर वडाको माध्यमिक विद्यालय कुचिबाङ र ९ नम्बर वडाको आधारभूत विद्यालय सिमचौरमा मतदान स्थल थप गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । आयोगका अनुसार सिस्ने गाउँपालिकाको ७ नम्बर वडा स्थित आधारभूत विद्यालय नाथिगाडलाई पनि मतदान स्थल कायम गरिएको छ । 

थपिएका मतदान स्थल सहित अब जिल्लामा ४४ मतदान स्थल रहने भएका छन । यसअधि ३५ वटा मात्र मतदान स्थल थिए । मतदान स्थल थपिएसंगै मतदान केन्द्र पनि बढेका छन । यसअघि ४९ मतदान केन्द्र रहेकोमा बढेर ५६ पुगेका छन ।

मदतादाको संख्यामा पनि वृद्धि 

जिल्लामा मतदाताको संख्या पनि वृद्धि भएको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मतदाताको संख्या ३३ हजार पाचँ सय १८ रहेको थियो । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पाँच सय ९४ नयाँ मतदाता थपिएका छन् । 

मङ्सिर ३ गते सम्म १८ वर्ष पूरा भई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मंसिर ४ गते मताधिकार प्राप्त गर्न पाउने मतदाताको सङख्या ३४ हजार १ सय १२ पुगेको निर्वाचन अधिकारी ओलीले बताए । हाल रुकुम पूर्वको जनसङख्या ५३ हजार १८ रहेको छ ।

प्रतिक्रिया