ठगी नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न यात्रु सहायता कक्ष

रुकुमपूर्व । नजिकै आइरहेका दसैँ र तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी सदरमुकाम रुकुमकोटमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले सहायता कक्ष सञ्चालमा ल्याएका हुन् । सदरमुकाम रुकुमकोटस्थित कमलदहचोकमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

दसैँ तिहार र छठ पर्वमा हुने यात्रुको चापका कारण हुने दुर्घटना, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार र यात्रु ठगिने सम्भावनालाई ध्यानमा राखी यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख एवं प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खत्रीले जानकारी दिए । छठपर्वसम्म दैनिक बिहानदेखि राती अबेरसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने उनको भनाइ छ । उनले भने, ‘दसैँतिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएका छन, यस्तो समयमा यात्रुलाई कुनै समस्या नहोस् भनेर सहायता कक्ष स्थापना गरेका हौँ ।’

यात्रुहरू पुग्ने स्थानको एकिन, सवारी साधनको अवस्था, भाडादरलगायत अन्य समस्यामा परेकालाई सहयोग गरी यात्रुलाई गन्तव्यसम्म पु¥याउन सहायता कक्षले काम गर्नेछ । चाडबाडमा सवारी साधन र यात्रुको भिड हुने हुँदा दुवै पक्षको व्यवस्थापन गरी सवारी साधन गन्तव्यमा पठाउन ट्राफिक प्रहरीसक्षम रहेको उनले सुनाए ।

विगतका वर्षहरूमा यातायात व्यवसायीले चाडपर्व मनाउन घर आउने र जाने यात्रुसँग मनपरी भाडा असुली गर्ने गुनासो आउने गरेका थिए । खत्रीले भने, ‘त्यसलाई रोक्न हामी प्रतिवद्ध छौँ ।’ मनपरी भाडा उठाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने र तीव्र गतिमा सवारी साधन चलाउनेजस्ता कार्य नगर्न ट्राफिक प्रमुख खत्रीले चालकलाई अनुरोध गरेका छन् । सामान्य सावधानीले पनि दुर्घटनाबाट बचाउने भन्दै उनले पूर्ण सावधानीका साथ सवारी साधन चलाउन भनेका छन् ।

यात्रुले गाडी नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, अलपत्र पर्ने समस्या आउन नदिन सहायता कक्षमा नियमित सुरक्षाकर्मी परिचालन गरेको उनको दाबी छ । चोरी, ठगी, लुटपाट, नियन्त्रणसँगै दुर्घटना न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी र ट्राफिक प्रहरीले सवारी चेकजाँचमा पनि कडाइ गरेको जिल्ला ट्राफिक कार्यालय रुकुमपूर्वले जनाएको छ । सरकारले बनाएको नीति र ट्राफिक नियमभित्र रहेर सवारी साधन सञ्चालन गरिरहेको जिल्लास्थित यातायात व्यवसायिले बताएका छन् ।

प्रतिक्रिया