म्यादी प्रहरीका लागि रुकुमपूर्वमा ५ सय २८ जनाको आवेदन

रुकुमपूर्व । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रुकुमपूर्वमा ५ सय २८ जनाले आवेदन दिएका छन् । आठ दिनको अवधिमा ३ सय ८४ पुरुष र १ सय ४४ महिला गरी जम्मा ५ सय २८ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार त्यस मध्ये ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काम गरिसकेका १ सय ८७ पूर्वम्यादी प्रहरी र तीन जना पूर्व सुरुक्षाकर्मीले पनि आवेदन दिएका छन् । स्थानीय तहको निर्वाचनमा नौ सय बढीले आवेदन दिएकोमा ३ सय ९ जना छनोटमा परेका थिए ।

म्यादी प्रहरीको लागि आवेदन दिने समय सकिएको छ । जिप्रका रुकुमपूर्वले म्यादी प्रहरीको लागि ३० भदौदेखि ६ असोजसम्म आवेदन दिने समय तोकिएको थियो । म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा आइतबारबाट जिल्ला प्रहरी कार्यालय रुकुमकोटमा सुरु भएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक अभ्यास, लिखित परीक्षा र अन्तर्वार्तामा पास भई निर्धारित मापदण्ड पूरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनोट गरिने खत्रीले बताए । रुकुमपूर्वका लागि प्रहरी प्रधान कार्यालयबाट अझै म्यादी प्रहरीको कोटा खुलाएर आएको छैन खत्रीले भने एकिन कोटा प्राप्त नहँुदा कति आवेदक छनोटमा पर्ने हुन् भन्ने अन्यौल छ ।

पूर्वसुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनमा काम गरेका म्यादी प्रहरी र अन्य आवेदक सबैले मापदण्ड पूरा गर्नुपर्ने छ । निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ । आवेदन दिएकालाई छनोट गर्ने काम ९ देखि ११ असोजसम्म हुनेछ । छनौटको अन्तिम नतिजा असोज २५ गते प्रकाशित गर्ने कार्यतालिका छ । म्यादीका लागि छनौटमा भएकालाई ३० असोजदेखि ८ कात्तिकसम्म तालिम दिइनेछ । छनोट भएका म्यादी प्रहरीलाई संघ र प्रदेशको निर्वाचनमा ४० दिनसम्म खटाइनेछ ।

म्यादी प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७ सय ६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय, पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार, तयारी खर्च बापत १ हजार र प्रतिदिन तीन सय रुपैयाँका दरले चार दिनको १ हजार २ सय रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया