बाँकेमा सवारी दुर्घटना : एक वर्षमा ८२ जनाले ज्यान गुमाए

बाँके । आर्थिक वर्ष ०७८/७९ को साउन महिनामा ११ वटा सवारी दुर्घटनामा चार जना पुरुषले ज्यान गुमाए । त्यस्तै असोज, मंसिर र पुस महिनामा भएका ७८ वटा सवारी दुर्घटनामा जम्मा २१ जना पुरुषको ज्यान गयो । उक्त वर्षकै चैत, वैशाख र जेठ महिनामा भएका ३९ वटा सवारी दुर्घटनामा १८ जना पुरुषको मृत्यु भएको थियो । यस्तै भदौ, कात्तिक, माघ, फागुन र असार महिनामा १५ जनाले अकालमा ज्यान गुमाएका थिए । गतवर्ष बाँकेमा सवारी दुर्घटनाकै कारण जम्मा ८२ जनाको मृत्यु भएको थियो ।

ती मध्ये १२ महिनामा सवारी दुर्घटनामा परी मृत्यु हुने पुरुषको संख्या ५८ जना छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले कुल ८९ जना गम्भीर घाइते हुँदा पुरुषको संख्या मात्रै ६४ जना छ । सामान्य घाइते हुनेको संख्या पनि ४३ जना रहेको छ । जबकी गत आवमा दुर्घटनामा परी जम्मा ४८ जना मानिस घाइते भएका थिए । पुरुषपछि मृत्यु, गम्भीर घाइते र सामान्य घाइते हुनेमा महिलाको संख्या बढी छ ।

गत आवमा ८२ जना मानिसले ज्यान गुमाउँदा मृत्यु हुने महिलाको संख्या १५ जना रहेको छ । यस्तै सात जना महिला गम्भीर र चार जना महिला सामान्य घाइते भएको कार्यालयले जनाएको छ । यस्तै सवारी दुर्घटनाबाटै मृत्यु हुने बालकको संख्या १० र बालिकाको संख्या चार जना रहेको छ । कार्यालय प्रमुख हिमालय शाहका अनुसार सात जना बालक र तीन जना बालिका गम्भीर घाइते भएका थिए ।

एउटा बालिका सामान्य घाइते भएकी थिइन् । गत आव ०७८/७९ मा दुर्घटनाका कारण २० पशुचौपायले ज्यान गुमाएको र १५ वटा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको तथ्यांकमा उल्लेख छ । दुर्घटनाकै कारण कुल १ करोड ३० लाख १४ हजार ५ सय रुपैयाँ बराबरको क्षति पुगेको छ । गत आर्थिक वर्ष ०७८/७९ मा जम्मा २ सय ९ सवारी दुर्घटना भएका थिए । सबैभन्दा धेरै १ सय ९ मोटरसाइकल दुर्घटना भएको थियो । त्यसपछि जिप र कार २८ वटा कारण दुर्घटनामा परेका थिए । सबैभन्दा धेरै ३३ वटा सवारी दुर्घटना मंसिर र सबैभन्दा कम माघ र वैशाख महिनामा समान १०/१० महिनामा भएको थियो ।

प्रतिक्रिया